Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

यसरी ठडिँदै छ भरतपुर महानगरको ‘सिंहदरबार’

यसरी ठडिँदै छ भरतपुर महानगरको ‘सिंहदरबार’

भरतपुर : देश संघीयतामा गएपछि ‘गाउँ–गाउँमा सिंहदरबार’ पुगेको चर्चा हुने गर्छ । केन्द्रीकृत शासनव्यवस्था विकेन्द्रित भएर सिंहदरबारमा हुने काम जनताको घरआँगनमा पुगेको छ । जनतालाई सहजरुपमा सेवासुविधा उपलब्ध गराउन संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकार बनेका छन् । स्थानीय सरकारमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरुले आफ्ना प्रशासनिक भवनहरु पनि ‘सिंहदरबार’जस्तै बनाएका छन् ।

चितवनका पालिकाहरुले पनि आफ्ना भवनहरु ‘सिंहदरबार’जस्ता बनाएका छन् । भरतपुर महानगरपालिकाको नयाँ प्रशासकीय भवन ‘सिंहदरबार’ निर्माण कार्यले यतिबेला गति लिएको छ । हाल सञ्चालनमा रहेको पुरानो भवनको म्याद आगामी २०८५ सालमा सकिँदै छ । पुरानो भवन २०३५ सालमा निर्माण गरिएको हो । सेवा प्रवाहलाई सहज, प्रभावकारी र सुरक्षित बनाउन महानगरले नयाँ भवन निर्माण गरेको हो ।

सम्झौताअनुसारको म्याद गत माघ १८ गते सकिएपछि २०८२ माघ १८ गतेसम्मका लागि म्याद थप गरिएको महानगरका वरिष्ठ इन्जिनियर घनश्याम मिश्रले बताए । एक वर्षको म्याद थपिएको हो । निर्वाचन आचारसंहिता र गत वर्ष कार्यप्रगतिको आधारमा भुक्तानी दिन नसक्दा भवन निर्माणमा ढिलाइ भएको उनले बताए । ‘२०७९ मा सम्झौतालगत्तै निर्वाचन आचारसंहिताका कारण साउनदेखि मङ्सिरसम्म काम रोकियो । मङ्सिरसम्म काम सुरू हुनै पाएन । गत वर्ष तीन करोड रूपैयाँ भुक्तानी दिन नसक्दा पनि काममा ढिलाइ भएको हो’, उनले भने ।

संघ, प्रदेश र महानगरको लागत साझेदारीमा भवन निर्माण भइरहेको छ । ५३ करोड ३२ लाख रूपैयाँमा निर्माण सक्ने गरी २०७९ साउनमा निर्माण कम्पनी शर्मा–सगरमाथा–सगुन जेभी र महानगरबीच सम्झौता भएको हो । सम्झौता रकमको ५० प्रतिशत रकम प्रदेश सरकारले व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम संघीय सरकार र महानगरले व्यहोर्ने उनले जानकारी दिए । उनका अनुसार भवनको हालसम्मको भौतिक प्रगति ७८ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ५५ प्रतिशत छ ।

निर्माण कम्पनीलाई दिनुपर्ने दायित्व करिब २४ करोड रूपैयाँ पुगिसकेको छ । असार मसान्तसम्म सबै भुक्तानी पाउने आश्वासनमा निर्माण कम्पनीले काम गरिरहेको छ । भवन निर्माणमा दैनिक ६० भन्दा बढी जनशक्ति परिचालन भएको छ । करिब सात कठ्ठामा बनिरहेको प्रशासकीय भवन बेसमेन्टसहित छ तलाको हुनेछ । बेसमेन्टमा २५० वटा चारपाङ्ग्रे साना गाडी र २५० वटा दुईपाङ्ग्रे (मोटरसाइकल र स्कुटर) पार्किङ गर्न सकिने उनले बताए ।

भवनमा दुईवटा लिफ्ट हुनेछन् । भुइँतलामा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष रहनेछ भने पहिलो तलामा नगर उपप्रमुखको कार्यकक्ष रहनेछ । प्रत्येक तलामा ज्येष्ठ नागरिक विश्राम कक्ष रहनेछ । त्यस्तै भवनमा एउटा पुस्तकालय, १५० जना क्षमताको अडिटोरियम हल, ४०० जना क्षमताको कल्चरल एक्जिबिसन रूम, प्रत्येक तलामा दुई–दुईवटा मिटिङ हल रहने छन् भने भवनमा विभिन्न शाखा÷महाशाखाका लागि १५८ वटा कार्यकक्ष हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट