भरतपुर : चितवनका सम्पूर्ण, विषय, वर्ग र स्तरका उद्योगहरुको छाता संस्था चितवन उद्योग संघ र पूर्वी चितवनको प्रतिष्ठित शैक्षिक संस्थाको रुपमा परिचित भुवानीशंकर बहुमुखी कलेजबीच शिक्षा, सीप विकास, औद्योगिक आविष्कार र सामाजिक आर्थिक वृद्धि प्रवद्र्धनका क्षेत्रमा हातेमालो गर्नका लागि दुबै संस्थाबीच सम्झौता गरिएको छ । चितवन क्षेत्र भित्रको उद्यमशीलता, सीप अभिवृद्धि र नवप्रवर्तनलाई सहयोग गर्ने, शैक्षिक क्षेत्र र औद्योगिक क्षेत्र बीचको सहकार्यलाई बलियो बनाई विकास गर्नको लागि सम्झौता संघ र कलेजबीच सम्झौता गरिएको चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरेले बताउनुभयो ।

शिक्षा र औद्योगिक विषयलाई सँगसँगै अगाडि बढाई सामाजिक–आर्थिक विकासमा योगदान गर्ने, विद्यार्थी र संकाय सदस्यहरूलाई व्यावहारिक एक्सपोजर प्राप्त गर्न र संलग्न हुन अवसरहरू सिर्जना गर्नको लागि सहकार्य गरिएको भुवानीशंकर बहुमुखी कलेजका कलेज प्रमुख दिपक प्रसाद गौतमले बताउनुभयो ।संघ र कलेजबीच गरिएको सम्झौतामा तालिम र सीप विकास, इन्टर्नशिप र रोजगारीका अवसरहरू, औद्योगिक वकालत र अनुसन्धान, स्थानीय उद्योगको प्रवद्र्धन, उद्यमशीलता समर्थन, नेटवर्किङ र ज्ञान साझेदारी लगायतका विषयहरुसँग सम्बन्धित रहेको भुवानीशंकर बहुमुखी कलेजका प्राध्यापक सुवल सडौलाले जानकारी गराउनु भयो । सम्झौता कार्यक्रममा चितवन उद्योग संघका कार्य बाहक अध्यक्ष मदन घिमिरे, भुवानीशंकर बहुमुखी कलेजका कलेज प्रमुख दिपक प्रसाद गौतम, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल प्रसाद गैरे, कार्यकारी निर्देशक गणेश प्रसाद सिलवाल, भुवानीशंकर बहुमुखी कलेजका प्राध्यापक सुवल सडौला, संघका सञ्चार अधिकृत राजु भट्ट लगायतको उपस्थिति रहेको थियो ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij