Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

शारदानगर खानेपानीमा निर्वाचन प्रक्रिया रोचक : पाँच जनाको उमेदवारी

शारदानगर खानेपानीमा निर्वाचन प्रक्रिया रोचक : पाँच जनाको उमेदवारी

शारदानगर : भरतपुर–१९ स्थित शारदानगर जागृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ । खानेपानीको अध्यक्ष पदका लागि पाँच जनाले उमेदवारी दिएका छन् ।

अध्यक्ष पदमा उमदवारी दिएका जसबहादुर गुरूङलाई भूपू सैनिक कल्याणकारी संस्थाको सहयोग रहेको छ । उनी र बालमाया घले गुरूङ दुवै नेपाली कांग्रेसनिकट मानिन्छन् भने दावा छिरिङ तामाङ माओवादी केन्द्र, रामबहादुर गुरूङ (बुलेट) स्वतन्त्र र मेखबहादुर तामाङ एमालेनिकट रहेका छन् ।

सबै उमेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धतालाई सार्वजनिक गरिसकेका छन् । हाल उमेदवारहरुले घरदैलो अभियानमा भोट अपिल गर्दै हिँडिरहेका छन् । विद्युतीय माध्यम सामाजिक सञ्जालसँगै प्रत्यक्षरुपमा समेत उपभोक्ताहरुसँग भेटेरै भोट माग्दैछन् ।

अध्यक्षका उमेदवार जसबहादुर गुरूङले उपभोक्तालाई स्वच्छ र सर्वसुलभ खानेपानी पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनी नेतृत्वको उपाध्यक्षमा ओमबहादुर गुरूङ, सचिवमा मसिना गुरूङ, कोषाध्यक्षमा रामाकान्त ढकाल र सदस्यमा मीनाकुमारी घिमिरे, लक्ष्मीभक्त पौडेल, रमेश गुरूङ, खगराज सापकोटा र विजयलक्ष्मी घले रहेका छन् ।

अध्यक्षका अर्का उमेदवार दावा छिरिङ तामाङले न्यून मूल्य निर्धारण, सर्वसुलभ धारा जडान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको समूहको उपाध्यक्षमा कृष्णबहादुर तामाङ, सचिवमा रामचन्द्र बस्ताकोटी, कोषाध्यक्षमा स्मृति विक र सदस्यहरुमा रिमबहादुर थापा, भानुभक्त कँडेल, हिरामणि महतो, सीता तामाङ र शुकबहादुर गुरूङ छन् ।

बढ्दो सहरीकरणसँगै अत्यधिक पानीको मागलाई ध्यान दिँदै उपभोक्ताको स्वास्थ्यलाई ख्याल राखेर स्वस्थकार पानी वितरणका निम्ति नयाँ प्रविधिबाट पानीको शुद्धता कायम गरी शुद्ध पानी मात्र वितरण गरिने अध्यक्षकी उमेदवार बालमाया घलेले प्रतिबद्धता जनाएकी छन् । उनको समूहको उपाध्यक्षमा डम्बरबहादुर तामाङ, सचिवमा शान्तिमाया तामाङ घले, कोषाध्यक्षमा सावित्रीकुमारी महतोलगायत छन् ।

अध्यक्षका अर्का प्रत्याशी मेखबहादुर तामाङले खानेपानीमा हुने भ्रष्टाचारको अन्त्य गर्ने बताएका छन् । उनले आफ्नो प्रतिबद्धतामा भ्रष्ट हुन्नौँ, भ्रष्टाचार सहन्नौँ भन्ने नीति पूर्णरुपमा लागू गरिने बताएका छन् । स्वच्छ र सुरक्षित खानेपानी, दिगो सरसफाइ व्यवस्था, पारदर्शी व्यवस्थापन र समुदायमुखी सेवा प्रवाहमा उनको जोड छ । उनको नेतृत्वको उपाध्यक्षमा ऋषिराम भण्डारी, सचिवमा डम्बरबहादुर गुरूङ, कोषाध्यक्षमा रामप्रसाद सुवेदी र सदस्यहरुमा कमला गुरूङ, बबिता गुरूङ, सीता लामा र खेमराज गुरूङ छन् ।

खानेपानी संस्थामा हालसम्म भएका विविध समस्याहरुको निराकरण र भावी सम्भावनालाई नागरिक समाज र समुदायमा सरल, सहज र सर्वसुलभ हिसाबमा केन्द्रित गर्ने गरी खानेपानी संस्थाको नेतृत्व गर्ने योजना रहेको अध्यक्षका प्रत्याशी रामबहादुर गुरूङ (बुलेट)को छ । उनी नेतृत्वको उपाध्यक्षमा राजु गुरूङ, सचिवमा महेन्द्रप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा हेमराज चौधरी र सदस्यहरुमा प्रकाश कँडेल, गणेशबहादुर खत्री, लक्ष्मण सापकोटा, प्रेमप्रसाद कँडेल र यादवप्रसाद कँडेल (यदु) छन् ।

शनिबार गरिने मतदान ३ वटा मतदान केन्द्रमा हुनेछ । शनिबार बेलुकादेखि नै मतगणनासमेत सुरू गरिने जनाइएको छ ।भरतपुर महानगरपालिका वडा नम्बर–१९ मा दुई ठाउँमा खानेपानी परियोजना सञ्चालन भैरहेका छन् । हालसम्म ३ हजार ७० घरधुरीमा पानी वितरण भैसकेको छ । ५७ करोडबराबरको लागतमा खानेपानीको परियोजना भरतपुर–१९ स्थित शारदानगरमा र मिलडाँडामा सञ्चालन भइरहेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर–१५, १६, १७, १९, २० र २१ का ३६ सय ५२ घरधुरीलाई खानेपानी वितरण गर्ने लक्ष्यसहित २६४ किमी क्षेत्रफलमा १२५ मिटर गहिरो ६ वटा डिप बोरिङको माध्यमबाट चौबिसै घन्टा खानेपानी सेवा उपलब्ध गराउने संस्थाकी अध्यक्ष शान्तमाया गुरूङ बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट