चितवन : ‘स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ भरतपुर–७, कृष्णपुरस्थित खेलकुद मैदानमा आजदेखि (शुक्रबार)देखि गोर्खाली रग्बी क्लबको आयोजना र नेपाल रग्बी संघको प्राविधिक सहयोगमा दुईदिने रग्बी प्रतियोगिता हुने भएको छ । आतिथ्यता साझेदार स्थानीय अङ्कुरम् एकेडेमीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । आयोजकका अनुसार २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आए पनि यसपटक भने आफै प्रतियोगिता सञ्चालन गर्न लागेको क्लवका अध्यक्ष हरेराम कार्कीले जानकारी दिए ।
चितवनमा दोस्रोपटक आयोजना गरिएको यस प्रतियोगितामा प्रथम हुने समूहलाई दुई लाख, दोस्रो हुने समूहलाई एक लाख रूपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ट्रफी र इटालियन सुट प्रदान गरिने रग्बी संघ चितवनका अध्यक्ष सुमन पौडेलले जानकारी दिए । प्रतियोगितामा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश तथा आयोजक क्लबको एक÷एक समूह र नेपाल आर्मी र सशस्त्र प्रहरीको एक÷एक गरी जम्मा सातवटा समूहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्दाटन भरतपुर महानगरका नगरप्रमुख रेनु दाहालले गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएका छन् ।सहभागी हरेक टोलीले पाँच जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान राखिए पनि यस प्रतियोगितामा कर्णाली प्रदेशको समूहमा तीन जना र आयोजक समूहमा दुई जना विदेशी खेलाडीहरु पनि सहभागी रहने जानकारी दिइएको छ ।
क्लबले ‘खेलसँगै पर्यटन’को अवधारणाअनुसार आगामी वर्ष विदेशी टिमसहितको प्रतियोगिता गर्ने तयारी गरेको र यसवर्षको प्रतियोगिता पनि विश्व रग्बीको नियमअनुसार नै प्रतियोगिता सञ्चालन गरिने र प्रत्येक खेलको समयावधि १४ मिनेटको रहने तथा ७ मिनेटमा हाफ भएपछि दुई मिनेटको ब्रेक हुने राष्ट्रिय कोच तथा गोर्खाली रग्बी क्लबका उपाध्यक्ष कृष्ण थापाले जानकारी दिए ।प्रतियोगिताको हस्पिटालिटी पार्टनर अङ्कुरम् एकेडेमी, मेडिकल पार्टनर चितवन मेडिकल कलेज, ट्राभल पार्टनर होलीडे ट्रिप नेपाल, क्लोथिङ पार्टनर थ्रेड गार्मेन्ट इमाडोल र इन्टरनेट पार्टनरमा ट्रेड माइन्ड नेटवर्क चितवन रहेको छ ।त्यसैगरी सहयोगी संस्थाहरुमा एलआइसी कर्पोरेसन (नेपाल), राइट पाथ करियर काउन्सलिङ्ग काठमाडौँ, एसिटी एजुकेशन एण्ड भिसाा सर्भिसे चितवन, एभिन्यु एजुकेशन कन्सल्टेन्सिी काठमाडौँ तथा माइती रिसोर्ट कीर्तिपुर रहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij