Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

एक वर्षदेखि अस्पतालको शय्यामा कालिदास : छोराको चेत खुल्ने आशमा वृद्धा आमा

एक वर्षदेखि अस्पतालको शय्यामा कालिदास : छोराको चेत खुल्ने आशमा वृद्धा आमा

भरतपुर : ७५ वर्ष नाघेकी लक्ष्मी ढुङ्गानाको पछिल्लो समय अस्पतालमा बित्ने गरेको छ । ३३ वर्षीय छोरा कालिदासको हेरचाहका लागि उनी हरेक दिन बिहान रामनगरबाट भरतपुरमा रहेको चितवन थेरापीमा आउँछिन् । साँझ परेपछि मात्रै फर्किन्छिन् । साँझ परेपछि अस्पताल बसाइमा कान्छा छोरा दीनानाथले साथ दिन्छन् । तर, कालिदासलाई न दिनभर आमाको साथबारे थाह छ, न त रातभर भाइको साथबारे जानकार नै छन् ।

कालिदास विगत १४ महिनादेखि अचेत छन् । २०८० साल पुस १० गते बिहान सवारी दुर्घटनामा परेपछि कालिदासको होस अझै खुलेको छैन । छोराको होस खुल्ने आशमा आमा लक्ष्मी दिनहुँ भगवान् पुकारिरहेकी छन् । नाकबाट पाइपको सहारामा छोरालाई खाना खुवाउने, आवश्यक सरसफाइ गर्ने काम गरिरहेकी छन् । ‘जेठो छोरो दुर्घटनामा परेपछि भोक न तिर्खा भएको छ, न शरीरमा ऊर्जा नै छ’, उनी भन्छिन्, ‘मुसार्दामुसार्दै कतिखेर आमा भनिहाल्छ कि भन्ने आश लाग्छ, तर खै कहिले पो हो त्यसरी बोलाउने ?’

छोरोकै पिरले उनी आफैँ पनि अहिले औषधि सेवन गर्नुपर्ने अवस्थामा आइपुगेकी छिन् । ‘यही छोराको पिरले उच्च रक्तचापको औषधि खानु परेको छ । सधैँ देखिइरहेको, चिनिइरहेको मान्छे नि बिर्सन थालेकी छु’, लक्ष्मी भन्छिन्, ‘कतिखेर त आफ्नै होस गुमेको जस्तो हुन्छ ।’

कालिदास ढुङ्गानाले भरतपुरकै अस्पताल रोडमा होटल चलाउँथे । घरबाट होटल आउने क्रममा रामनगर र आँपटारीबीचको जङ्गलमा उनी सवार मोटरसाइकललाई भारतीय नम्बर प्लेटको बोलेरोले पछाडिबाट ठक्कर दियो । उनी सडककिनारको ढलमा लड्न पुगे । र, होटल पुग्नुपर्ने मान्छे चितवन मेडिकल कलेजको शøयामा पुगे । ‘घरबाट होटल जान हिँडेको मान्छेको अवस्थाबारे चितवन मेडिकल कलेजबाट प्रहरी हुँ भन्दै फोन आयो’, आमा लक्ष्मीले सुनाइन्, ‘प्रहरीको कुरा सुनेपछि मेरो होस नै रहेन ।’

चितवन मेडिकल कलेजमा ९४ दिन उपचार गरेपछि कालिदासलाई लिएर भाइ दीनानाथले चितवन फिजियोथेरापी सेन्टर लिएर गए । खर्च दिन दुईगुना, रात चौगुना हुँदै गएपछि दाइको उपचारमा सहजताको खोजी गर्दै फिजियोथेरापीमा आइपुगेको उनी बताउँछन् । फिजियोथेरापी सेन्टरको ‘प्यासेन्ट आइडेन्टिफिकेसन बोर्ड’ (बिरामी पहिचान पाटी) मा अन्य बिरामीको नाम फेरिँदै गर्दा कालिदासको नाम भने करिब एक वर्षदेखि फेरिएको छैन । १०५ नम्बरको शय्यामा उनको उपचार चलिरहेको छ । तर, अस्पतालबाट घर जान पाइने कहिले हो त्यो थाह छैन ।

‘पछिल्लो समय केही सुधार त भएको छ’, छोरोको होस फर्किने पर्खाइमा रहेकी आमा लक्ष्मी भन्छिन्, ‘अहिले त आँखा खोल्ने र बन्द गर्ने गर्छ, हातखुट्टा चलाउन थालेको छ । त्यसले पनि थोरै आश जगाएको छ, तर देख्दैन, सुन्दैन ।’ सवारी दुर्घटनाबाट घाइते भएका कालिदासको टाउकोमा गम्भीर चोट लाग्दा उपचारमा समयमात्रै नभई पैसासमेत धेरै लागिसकेको छ ।

कालिदासको उपचारमा भाइ दीनानाथले ऋणधन गरेरै भए पनि खर्चको जोहो गरिरहेका छन् । तर, उनले अहिलेसम्म कति खर्च लाग्यो, कसरी व्यवस्थापन गरिरहेका छन् भन्ने कुरा बुबा र आमालाई थाह छैन । खर्चको कुरा गर्दा बुबाआमालाई थप चिन्ता हुने सोचेर सोधे पनि केही नभनेको आमा लक्ष्मी बताउँछिन् । ‘मस्तिष्काघात भएको रहेछ, चिकित्सकले बचाउन नसकिने बताएका थिए । तर, सास रहुन्जेल बाँच्ने आश सबैलाई हुन्छ’, उनी भन्छिन्, त्यसैले चिकित्सकको सल्लाहअनुसार तीनपटक शल्यक्रिया गरियो ।’

तर, अब भने उपचारका लागि खर्च जुटाउने उपाय नै नभएको भाइ दीनानाथले बताए । उनका अनुसार कालिदासको थेरापीका लागि दैनिक पाँच हजार रूपैयाँ खर्च लाग्ने गरेको छ । पूर्णरुपमा अचेत अवस्थामा रहेको हुँदा अन्य बिरामीलाई भन्दा कालिदासलाई समस्या छ, त्यसैले पनि उनको थेरापी खर्च बढी छ । अस्पतालको बसाइ नै वर्षदिन नाघ्दा खर्चले पनि करिब ५० लाखको सीमा नाघिसकेको छ ।

‘हामी सबैलाई बाटो देखाउने मान्छे नै ओछ्यान परेपछि उपचारमा मात्र नभई हरेक क्षेत्रमा प्रभाव परेको छ’, भाइ दीनानाथ भन्छन्, ‘अहिलेसम्म आफैँ उपचार गरे पनि अब नसकिने अवस्थामा आइपुगेका छौँ ।’ दीनानाथलाई दाइको उपचार भए पनि नभए पनि हालसम्म गरिएको ऋणको खाडल कसरी पुर्ने भन्ने अर्को चिन्ताले सताएको छ । त्यसैले पनि उनी दाइको उपचारका लागि सार्वजनिकरुपमै सहयोगका लागि हारगुहार गर्न थालेका छन् । परिवारको क्षमताले भ्याएसम्म ऋण गरेरै भए पनि दाइको उपचार गराइरहेका उनी अब भने सहयोगका लागि थैलो बोकेर घरदैलो चहार्नुपर्ने अवस्थामा आइपुगेको बताउँछन् ।

शिक्षाले दिएन सरूवा

काालिदासकी श्रीमती शिक्षण पेसामा छिन् । श्रीमान् दुर्घटनामा परेपछि उनी श्रीमानसँग बस्न पाएकी छैनन् । ६ वर्षीय छोरी छाडेर बागलुङको बडिगाड गाउँपालिकास्थित सिद्धि माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएकी उनले सरूवा मागिन् । तर, सरूवा पाएकी छैनन् । अस्पतालको शय्या मा श्रीमान्को उपचारसँगै शैक्षिक सेवा गर्ने रहर छ । तर, सरूवाको स्वीकृति नपाउँदा उनी बिरामी श्रीमान्सँग भौतिकरुपमा टाढिनु परेको छ ।

‘बुहारीले सरूवा लिएर चितवन आउन खोजेको पनि थुप्रै समय भयो’, आमा लक्ष्मी भन्छिन्, ‘तर, हाम्रो समस्या कुनै पनि सरोकारवालाले बुझेका छैनन् ।’ शिक्षा मन्त्रालय र शिक्षा विभागबाट स्वीकृति लिएर आउँदासमेत शिक्षा समन्वय इकाइ समिति चितवनले सरूवाका लागि रोक लगाएको उनले बताइन् ।

भाइ दीनानाथका अनुसार बागलुङमा आफू कार्यरत विद्यालय र चितवनको भरतपुरस्थित रामनगर माध्यमिक विद्यालयले स्वीकृति दिइसकेको छ । तर, शिक्षा समन्वय इकाइ समिति चितवनले आउन स्वीकृति नदिएपछि सरूवा भएर चितवन आउन नसकेको उनले बताए । ‘सरूवा भयो भने हामीले पनि अन्य काम गर्न सक्नेथियौँ’, दीनानाथले भने, ‘दाइको उपचार खर्च जुटाउन पनि सहज हुनेथियो । अहिले कमाउने उमेरमा अस्पतालमा कुरेर बस्नु परेको छ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट