शारदानगर : धार्मिक तथा ऐतिहासिक मह¤व एवं सम्भावना बोकेको नयाँबजार पशुपतिनाथ मन्दिर परिसरमा विकासका पूर्वाधारहरु थपिँदै गएका छन् । भरतपुर महानगरपालिका–२० मा रहेको पशुपतिनाथ मन्दिरमा पछिल्लो समय विभिन्न पूर्वाधारहरु निर्माण गरिएका हुन् ।
गत आर्थिक वर्षमा बागमती प्रदेश सरकारको पर्यापर्यटन कार्यक्रममार्फत विभिन्न पूर्वाधारहरु बनाइएको पशुपतिनाथ मन्दिरले जनाएको छ । बागमती प्रदेश सरकारबाट प्राप्त ४० लाख रूपैयाँको लागतमा मन्दिरआसपासका क्षेत्रमा पछिल्लोपटक पूर्वाधारहरु थपिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेषकान्त वाग्लेले बताए ।
मन्दिर परिसरमा महिला–पुरूषको छुट्टाछुट्टै कोठासहितको अपाङ्गमैत्री शौचालय निर्माण गर्नुका साथै मन्दिर व्यवस्थापन, खानेपानी, शौचालय, भक्तजन बस्ने भवन, मन्दिर जानका लागि प्रवेशद्वार तथा भित्री बाटोमा टायल लगाउनुका साथै पुराना गणेश तथा दुर्गाका मन्दिरहरुको जीर्णोद्धार, सुरक्षा गर्न मन्दिरवरिपरि पर्खाल तथा घेराबार तथा हराभरा बनाउन विविध प्रकारका बिरूवाहरु रोपेर वृक्षरोपण गरिएको अध्यक्ष वाग्लेले बताए ।
‘१०८ शिवलिङ्ग निर्माण गरिएको छ, प्रवेशद्वार कलात्मक बनाइएको र विभिन्न पूर्वाधारहरु थप भइरहेका छन्’, अध्यक्ष वाग्लेले भने । मन्दिर परिसरमा शिव मन्दिर, दुर्गा मन्दिर, गणेश मन्दिर, पूजारी घर आदि संरचना निर्माण गरिएको उनले बताए । ‘यहाँ सम्भावना धेरै भए पनि पूर्वाधार अभावका कारण समस्या आए, तर अहिले आकर्षक भएसँगै सहज पनि भएको छ’, उनले भने ।
उनले बागमती प्रदेशद्वारा विनियोजित बजेटबाट निर्माण सुरू गरिएको नयाँ मन्दिरका लागि बागमती प्रदेशसभा सदस्य माया श्रेष्ठको पहलमा थप ८ लाख विनियोजन गरिए पनि मन्दिरभित्र मूर्ति राख्न र थप पूर्वाधार निर्माणका निम्ति बजेट अभाव रहेको बताए । मन्दिरमा गरिने विभिन्न पूजाअर्चना, मन्दिर सौन्दर्यीकरणसँगै नयाँ पूर्वाधार निर्माणमा पनि भेटीको पैसा खर्च गर्दा अहिले खर्च धान्न धौधौ परेको उनले बताए ।
भौतिक संरचना थपिएपछि मन्दिरको मुहार नै फेरिएको र भक्तजनको आगमनमा वृद्धि भएको मन्दिरका सल्लाहकार विष्णु ढकाल बताउँछन् । प्रदेश सरकारको पर्यापर्यटनबाट प्राप्त बजेटले मन्दिर दर्शन र पूजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनहरुको सेवासुविधाका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्य गरिएको भन्दै लामो समयसम्म ओझेलमा परेको यो स्थल अहिले भने निकै आकर्षक बनेको बताए ।
बागमती प्रदेशसभा सदस्य माया श्रेष्ठले धार्मिक पर्यटन प्रवर्द्धन गर्दै यहाँको आर्थिक, सामाजिक विकास एवं समृद्धि हासिल गर्न उच्च प्राथमिकता दिएको बताइन् । उनले मन्दिर सत्सङ्ग भवन निर्माण, विवाहमण्डप तथा शिव पार्वतीका मूर्तिलगायतका संरचनाहरु बनाउने योजना रहेको हुँदा सक्दो योगदान गर्ने बताइन् । भरतपुर–२० को वडा कार्यालयसँगै रहेको यस मन्दिर क्षेत्रमा थप आकर्षक पर्यटकीय पूर्वाधार निर्माण गरेर नजिकको तीर्थस्थल बनाउने सम्भावना रहेको उनले बताइन् ।
विसं २०४५ सालमा तत्कालीन शारदानगर गाउँ पञ्चायतका प्रधानपञ्च आशबहादुर लामा र गुञ्जनगर गाउँ पञ्चायतका प्रधानपञ्च टेकबहादुर घलेले उपलब्ध गराएको करिब दुई बिघा जमिनमा स्थानीय भक्तजनकै सक्रियता र सहयोगमा मन्दिर निर्माण सुरू गरिएको थियो ।
मन्दिर व्यवस्थापनका लागि २०४५ सालमा गोविन्द बराल अध्यक्ष, गंगाप्रसाद ढकाल उपाध्यक्ष, कृष्णप्रसाद अधिकारी सचिव, जीवनाथ घिमिरे कोषाध्यक्ष र सदस्यहरु मोतीलाल ढकाल, भीमबहादुर गुरूङ, काशिनाथ घिमिरे, नीलकण्ठ घिमिरे, भूमिलाल ढकाल, शेषकान्त अधिकारी, दुर्गादत्त वाग्ले, गोविन्द अधिकारी, प्रजापति सापकोटा र मुक्तिनाथ वाग्ले रहेको अभिलेखमा देखिन्छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij