Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

३३ प्रतिशतसम्म पाउरोटीको मूल्य वृद्धि, वजन बढाउँदा भाउ बढ्यो : बेकरी संघ

३३ प्रतिशतसम्म पाउरोटीको मूल्य वृद्धि, वजन बढाउँदा भाउ बढ्यो : बेकरी संघ

भरतपुर : सहजै सदाबहार नास्ताको रुपमा प्रयोग गरिने पाउरोटीको मूल्य चितवनमा ३३ प्रतिशतसम्म बढेको छ । चितवन बेकरी संघ गठन भएलगत्तै पाउरोटीको मूल्य बढेको हो ।चितवन बेकरी संघका अनुसार पाउरोटी तथा बेकरीका परिकारअनुसार १५ प्रतिशतदेखि ३३ प्रतिशतसम्म मूल्य बढेको छ । उपभोक्ता अधिकार मञ्च तथा सङ्गठनहरुले मूल्य वृद्धिको विरोध गरेका छन् । संघले पाउरोटीको साइज र वजन बढाएर नै मूल्य वृद्धि गरिएको जनाएको छ ।

‘मैदा र घिउको मूल्य बढ्यो । पाउरोटीको मूल्य नबढाउँदा व्यवसायीको उठीवास लाग्ने अवस्था आयो । उपभोक्तालाई पनि मर्का नपरोस् भनेर वजनदेखि साइज बढाएर केही प्रतिशत मूल्य बढाइएको हो’, संघका उपाध्यक्ष अनिल शर्माले भने, ‘काठमाडौँ, पोखराको तुलनामा चितवनमा अझै पाउरोटीको मूल्य कम नै छ, मूल्य नबढाउने हो भने सबै उद्योगी पलायन हुने अवस्था सिर्जना भएपछि बाध्य भएर मूल्य बढाइएको हो ।’

यसअघि पाउरोटी तथा बेकरीहरुको छाता सङ्गठन चितवन पाउरोटी उद्योग थियो । कोरोनाको कहरसँगै धेरै उद्योगीहरु पलायन भए, संघको अस्तित्व पनि रहेन । पछिल्लो समय चितवनका केही बेकरी तथा पाउरोटी उद्योगहरु मिलेर चितवन बेकरी संघ दर्ता गरिएको उपाध्यक्ष शर्मा बताउँछन् ।

उनका अनुसार मूल्य बढेका हरेक पाउरोटी तथा बेकरीहरुको वजन र साइज बढेको छ । ‘एक सय ग्राम ‘भक्कु पाउरोटी’मा पाँच रूपैयाँ मूल्य बढाएर २० रूपैयाँ बनाइएको छ, तर ३० ग्राम वजन बढेको छ । ठूलो ‘हाइफाइ पाउरोटी’ मा १० रूपैयाँ बढेर ७० बनाइएको छ, यसमा पनि ६० ग्राम वजन थपिएको छ’, उपाध्यक्ष शर्माले भने, ‘क्रिमरोलमा पाँच रूपैयाँ मूल्य बढेर २० भएको छ, तर यसमा ४ इन्चको क्रिमरोललाई ६ इन्च बनाइको छ ।’

खाजा पुगेन भन्ने गुनासो उपभोक्ताबाट आएपछि साइज र वजन बढाउनु परेको उनी बताउँछन् । चितवनमा दुई खालका पप बजारमा आएका छन् । १० पर्ने पपको साइज घटाइएको छ भने १५ पर्ने पपको साइज थोरै बढाइएको व्यवसायी बताउँछन् ।

क्रिम पाउरोटीको २०० ग्राम साइजबाट ३५० बनाइएको छ । यसको प्रतिपिस १५ बनाइएको छ । कुकिज र बिस्कुटको मूल्य बढेको छैन । सानो बनको मूल्य पनि बढेको छैन, यसमा पनि दुई साइज छ ।

कालिका पाउरोटी एण्ड बेकरी उद्योगका भुवनेश्वर गुप्ताले मैदा, घिउको मूल्य बढेर घाटा सहनुपर्ने अवस्था आएपछि पाउरोटी तथा बेकरीको मूल्य बढेको बताए । आठ महिनाअघि १५ किलो घिउको मूल्य ३४ सय रूपैयाँ थियो, अहिले ५९ सय पुगेको उनको भनाइ छ ।

‘व्यवसायीलाई पलायन हुनबाट जोगाउनु थियो, त्यसका लागि मूल्य बढाइएको हो । उपभोक्तालाई मार नपरोस् भनेर साइज र वजन बढाइयो, कसैलाई मर्का परेको छैन’, संघका उपाध्यक्ष अनिल शर्माले भने, ‘मैदाको मूल्यमा बोरामा एक हजार बढेको छ, व्यवसायीसँग विकल्प नभएर मूल्य बढेको हो, अझै कति उद्योगहरु घाटामा छन्, चलेका पनि सुस्त छन् ।’

चितवनमा पाउरोटी तथा बेकरी उद्योगहरु नै व्यवसायी पलायनका कारण घटेका छन् । हाल चितवनमा दर्ता भएका २५ वटा बेकरी तथा पाउरोटी उद्योगहरु संघमा आबद्ध छन् । कोरोनाअघि चितवनमा ३३ उद्योगहरु थिए, केही उद्योगहरु बन्द भए ।

उपाध्यक्ष शर्माले पाउरोटीको गुणस्तरमा पनि एकरुपता गरिरहेको बताए । उनले भने, ‘जारवाला घिउ कुनै उद्योगले प्रगोग गर्दैनन्, रोक लगाइएको छ । उच्चस्तरको घिउ र मैदाको प्रयोग गर्न निर्देशन दिएका छौँ, गुणस्तरमा सम्झौता नगर्न उद्योगीहरुलाई भनेका छौँ ।’ घिउ र मैदाको मूल्य घट्नासाथ पाउरोटी तथा बेकरीको मूल्य घट्ने व्यवसायीको दाबी छ ।चितवनमा दैनिक ४० लाख रूपैयाँको पाउरोटी तथा बेकरीका परिकारहरु बिक्री हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट