Logo

Oct 11 2026 | २०८३, आश्विन २५गते

चितवनमा शिवशिखर सहकारी ठगी प्रकरण : ५८ लाख धरौटी तिर्न नसक्दा सञ्चालक कारागार

चितवनमा शिवशिखर सहकारी ठगी प्रकरण : ५८ लाख धरौटी तिर्न नसक्दा सञ्चालक कारागार

भरतपुर : कास्कीमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाको चितवनमा तीनवटा सेवा केन्द्र छन् ।भरतपुर, टाँडी र मुग्लिन गरी तीनवटै सेवा केन्द्रका एक हजार ८९१ जनाको बचत रकम कुल ६६ करोड १४ लाख २४ हजार १२४ रूपैयाँ हिनामिना भएको छ । चितवन जिल्ला अदालतमा सोमबार उपस्थित हुन आएका सहकारी ठगीका प्रतिवादी अमिस राजभण्डारी कारागार चलान भएका छन् । उनी सहकारीको सञ्चालक समिति सदस्य हुन् ।

थुनछेक बहस सकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले राजभण्डारीलाई ५८ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी राख्न नसकेपछि उनलाई कारागार पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले बताए । सहकारी ठगीकै मुद्दामा नख्खु कारागारमा रहेका राजभण्डारी चितवनमा ठगी गरेको मुद्दामा बयान दिन यहाँ आएका थिए । शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मासहित १४ जनाविरूद्ध चितवन जिल्ला अदालतमा गएको वैशाख २७ गते ठगीको मुद्दा दर्ता भएको थियो ।

चितवनमा सञ्चालक केदारनाथ शर्मासहित सुशील बानियाँ, लीलानाथ गौतम, गीता शर्मा, तेजबहादुर तामाङ, अमिस राजभण्डारी, राजु शाखकर्मी, दीपकबहादुर ऐर, पुष्कर मल्ल, युवराज थापा, भोजराज पौडेल, रविचन्द्र सुवेदी, सुवाषचन्द्र सुवेदी र जुयस भट्टराईविरूद्ध मुद्दा दायर भएको हो । यी १४ जना प्रतिवादीमध्ये सहकारी सञ्चालक शर्मा र सञ्चालक समितिका सदस्य पुष्कर मल्ल नख्खु कारागारमा छन् भने सञ्चालक शर्माकी श्रीमती गीता शर्मा केन्द्रीय कारागार सुन्धारामा छन् । अन्य १० जना प्रतिवादी फरार छन् ।

कारागारमा रहेका प्रतिवादीहरुलाई उपस्थित गराइदिन सम्बन्धित कारागार प्रशासनलाई पत्र पठाइएको चितवन जिल्ला अदालतका सूचना अधिकारी विश्वकर्माले जानकारी दिए । ‘कारागारमा भएका प्रतिवादीलाई उपस्थित गराइदिन भनेर पत्र पठाएका छौँ । फरार प्रतिवादीको हकमा भने म्याद तामेल भएको छ’, उनले भने । फरार प्रतिवादीको नाममा रीतपूर्वक म्याद तामेल भएपछि अदालती कारबाही प्रक्रिया अगाडि बढ्ने उनले जानकारी दिए ।

अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको देखिँदा सहकारी ठगीका प्रतिवादीहरुलाई सोही संहिताको दफा २४९ को उपदफा (३) को खण्ड (ग) बमोजिम सजाय गरी उनीहरुबाट बिगो रकम माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट