Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

२८ महिनाको तलब नपाएको भन्दै माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर आन्दोलनमा

२८ महिनाको तलब नपाएको भन्दै माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर आन्दोलनमा

चितवन : मदिराजन्य उत्पादन गर्ने चितवनको माउण्ट एभरेष्ट ब्रुअरीका मजदुर तथा कर्मचारीले तलबको माग गर्दै आन्दोलन गरेका छन् । उनीहरुले बिहीवार भरतपुरमा पत्रकार सम्मेलन गरी २८ महिना देखिको तलब नपाएको भन्दै निरन्तर आन्दोलन र दबाब दिँदै आएको बताए । एक वर्ष अघिसम्म बियर उत्पादन गरेको सो उद्योगले डेढ सय भन्दा बढी मजदुर तथा कर्मचारीको तलब, सञ्चयकोष उपदान नदिएपछि मजदुरहरु आन्दोलनमा उत्रिएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै आन्दोलनका संयोजक माधव प्रसाद पौडेलले बारम्बार ताकेता गर्दा पनि तलब नपाएपछि आफूहरु आन्दोलनमा उत्रनु परेको बताए । ‘हाम्रो एकै व्यक्तिको तलब न्यूनतम १५ लाख भन्दा बढी छ । हामीले बारम्बार अनुरोध ताकेता गर्यौं । तर कम्पनीले कसैको पनि कत्तिपनि पैसा दिएन’ संयोजक पौडेलले भने ।

पौडेलले तलबको लागि श्रम तथा रोजगार कार्यालयमा उजुरी दिंँदा पनि हालसम्म माग सुनुवाई नभएको बताए । ‘हामीले श्रम कार्यालय हेटौंडामा पनि उजुरी दर्ता गरेका छौ। उद्योगको बैंक खातापनि रोक्का गरेका छौं । सबै निकायमा पनि दबाब दिदै आएका छौं । तर कुनै सुनुवाई भएको छैन’ पौडेलले भने । यो अवधिमा तीनजना मजदुर दुर्घटना र बिरामी भएर उपचार खर्च पनि नदिदा मृत्युवरण गर्नुपरेको उनको भनाई थियो । उद्योगले तलब दिने आश्वासन दिएर अन्योल सिर्जना गरिंदिदा अन्यत्र समेत काम गर्न नपाएको र आफूहरुको दैनिकी समेत चलाउन धौधौ परेको उनले गुनासो गरे ।

आन्दोलनका सह–संयोजक सिताराम पुडासैनीले उद्योग लिलामी गरेर भएपनि आफूहरुको तलब पाउनु पर्ने बताए । ‘कि लिलामी गरेर हामीले पाउनु पर्ने बक्यौता तलब पाउनु पर्यो । कि त उद्योग सञ्चालन गरेर तलब नियमित गर्नुपर्यो’ पुडासैनीले भने । उद्योगले गर्नुपर्ने सम्झौता बमोजिम कार्यान्वयन गर्न गराउन उनले सरकारसंँग पनि आग्रह गरे । ‘उद्योगले कर कार्यालयलाई तिर्न एक अर्ब भइसक्यो, विद्युतको विल ४५ लाख भन्दा माथि भइसक्यो होला’, उनले भने, सरकारले यो संँगै हाम्रो गुनासोलाई पनि सम्बोधन गर्नुपर्यो र सरकारको राजश्व पनि उठोस भन्ने पनि हाम्रो चाहना हो ।’

भरतपुर महानगरपालिका वडा नम्बर १२ मा पांँच विघा क्षेत्रफलमा सञ्चालन हुंँदै आएको उक्त ब्रुअरी २०४७ बाट सञ्चालनमा आएको हो । यो उद्योगले शुरुमा सामिग्यल वियरको उत्पादन गर्दै आएपनि पछिल्लो बर्ष गोल्डेन टाईगर, एभरेष्ट वियर र राइनो वियर उत्पादन गर्दै आएको थियो । गत वर्षदेखि उद्योगको उत्पादन तथा बिक्री वितरण पूर्णरुपमा बन्द छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट