Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

आलोचकहरुलाई कामले उत्तर दिने मेयर रेनु दाहाल

आलोचकहरुलाई कामले उत्तर दिने मेयर रेनु दाहाल

चितवन जिल्लाको महत्वपूर्ण भाग सुगमताको दृष्टिकोणले भरतपुर भएकै कारण यहाँको जनघनत्व वृद्धि त भयो तर बदलिँदो समयको गतिसँगै विकास र पूर्वाधारमा भने यो शहर अन्य शहरकै हाराहारी थियो । ७ वर्षअघिको भरतपुर सम्झिने हो भने पनि प्रष्ट हुन्छ, यो शहर विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी हरेक दृष्टिकोणमा सुस्ताएको थियो । तर अहिले यही शहरलाई नजिकबाट नियाल्नेहरुको मत संकलन गर्ने हो भने उनीहरु ७ वर्ष यता भरतपुरमा भएको विकास निर्माण देखेर दंग छन् । स्थानीयवासीहरु भन्छन्, नगरपालिका हुँदा विकासमा पछि परेको यो जिल्लाले महानगर भएसँगै त्यसमा पनि विकासप्रेमी जनप्रतिनिधि रेनु दाहाल आएपछि अहिले काँचुली नै फेरेको छ ।

अन्य शहरहरुले विकास र पूर्वाधारको क्षेत्रमा फड्को मारिरहँदा भरतपुरसँग त्यतिबेला कुनै विकासको मोडेल थिएन । अव्यवस्थित शहर, नारायणी नदीको कटान, सडकभरि खाल्डाखुल्डी र त्यसले निम्त्याउने दुर्घटना, अव्यवस्थित ढल लगायतका समस्याले भरतपुरवासीलाई वर्षेनी सताइरहन्थ्यो । तर रेनु दाहाल मेयरमा निर्वाचित भएर आएपछि विकासको लहर नै चलेको भरतपुरवासीको बुझाई छ ।

जब रेनु महानगरको मेयरमा निर्वाचित भइन्, भरतपुरवासीका लागि विधाता बनेर आइन् । त्यसपछि हो, भरतपुरले काँचुली फेर्न थालेको । अहिले यो शहर नेपालको सबैभन्दा तीव्र गतिले विकास भइरहेका शहरहरूमध्ये अग्रणी शहरमा पर्छ । नारायणी नदीको तटमा अवस्थित यो शहर चितवन मात्र नभई नेपालकै प्रमुख व्यापारिक केन्द्र बन्न पुगेको छ ।

मलाई सम्झना छ, भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष २०२४’ मनाउने तयारी गर्दै थियो । भरतपुरको बजार क्षेत्रमा सडक कालोपत्रे गर्ने काम तिब्रगतिका साथ हुँदै थियो । चौबिसकोठीको बाटो ढलान गरेर बनाउनुपर्ने हुँदा केही समय लागेको थियो । केही आफुलाई विद्वान सम्झने सामाजिक संजाल प्रयोगकर्ता बुद्धिजीवीहरुले त्यही चौबिसकोठी चोक देखाउँदै सामाजिक संजाल रंगाएका थिए । उनीहरु विरोधका लागि विरोध गरिरहेका थिए । अहिले त्यो चौबिसकोठी चोक बजार क्षेत्रकै सुन्दर र मजबुत बनेको छ । यो एउटा उदाहरण मात्रै हो । यसबाट के प्रस्ट हुन्छ भने मेयर रेनु दाहाल आलोचकहरुलाई कामबाटै जबाफ दिने गर्नुहुन्छ ।

७ वर्षमा करिब ८ सय किलोमिटर सडक कालोपत्रेको काम भएको छ । पुल्चोकदेखि गोन्द्राङसम्म हरियालीसहितको ६ लेन सडकसँगै फुटपाथ र सर्भिस ट्रयक निर्माण, बाइपास ४ लेन सडक विस्तार एवं सतह ढल निर्माण, हुलाकी सडकको १९ किमी विस्तार एवं स्तरोन्नति र भरतपुर–मेघौली–गोलाघाटको सहायक राजमार्ग खण्डको ८ किमी सडकको काम, झण्डै ६ अर्बको हाराहरीमा नारायणी तटबन्ध योजना, निर्माणको क्रममा रहेको नारायणी पुल, निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर विमानस्थल विस्तारको योजना, ६ लेन सडक, बाइपास रोड, सिटी हल, विद्युत् भूमिगत गर्नेलगायत योजनाहरू महानगरका महत्वपूर्ण योजनाहरूको रूपमा अगाडि बढेका छन् भने केही सम्पन्न भएका छन् ।

पर्यटनको क्षेत्रमा ठूला–ठूला लगानीका होटल भरतपुर क्षेत्रमा अहिले भित्रिरहेका छन् । मेघौली, पटिहानी, जगतपुर, गोलाघाटलगायत ठाँउहरुमा पर्यटन पूर्वाधारको विकास भएको छ । कविलासगढीमा नयाँ होटलहरु खुलेका छन् । एकातिर यसले रोजगारीको सिर्जना गरेको छ भने अर्कोतिर ठुला लगानीहरु चितवनमा भित्रिएका छन् । ७ वर्ष अगाडि यसको कल्पना सायदै भरतपुरवासीले गरेका थिए । यही ७ वर्षमा कृषि विश्वविद्यालय बनेको छ । प्राविधिक शिक्षा, वैकल्पिक शिक्षा त भनिन्थ्यो, तर त्यसभित्र के गर्ने ? विकल्प थिएन पहिले । तर अहिले विकल्पसहितको कृषि विश्वविद्यालय भरतपुरमै छ ।

नारायणी किनारलाई ‘सि बिच मोडल’ बनाउने काम सम्पन्न, पुङ्गी खोला र केरूङ खोलाको रेखांकन, सीमांकन तथा सौन्दर्यीकरण, महानगरको प्रशासकीय भवन निर्माण, राजमार्ग तथा महत्वपूर्ण सडकहरूमा सिसिटिभी क्यामेरा, स्ट्रिट लाइट जडान गर्ने र सौन्दर्यीकरण गर्ने, हरियाली प्रवद्र्धन, वन्यजन्तु उद्धार केन्द्र स्थापना, दियालो बंगला (दरबार) को मर्मत गरी सर्वसाधारणका लागि खुला, पर्यटकीय गन्तव्यहरू पहिचान गरी विकास गरेर प्रवद्र्धन गर्ने लगायतका महानगरका धेरै कार्यक्रमहरू पनि अघि बढिरहेका छन् ।

अबको केही वर्षमा भरतपुर महानगरपालिका देशकै सुन्दर, सफा र उत्कृष्ट शहर बन्ने निश्चित छ । देशभरका जननिर्वाचित जनप्रतिनिधिहरुले आआफ्नो ठाँउमा मेयर रेनु दाहालले जत्तिकै लगनशील र इमानदार भएर काम गर्ने हो भने साँच्चिकै देश बन्न धेरै समय लाग्ने थिएन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट