Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

रत्ननगरका दुई सहकारी एकीकरण : सात करोड सम्पत्ति, सात हजार सदस्य

रत्ननगरका दुई सहकारी एकीकरण : सात करोड सम्पत्ति, सात हजार सदस्य

रत्ननगर : रत्ननगरका दुईवटा सहकारी संस्था एकीकरण गरिएको छ । वडा नं–२, टाँडीमा अवस्थित कामना बचत तथा ऋण सहकारी संस्था र अविरल बहुउद्देश्यीय सहकारी संस्थाबीच एकीकरण गरिएको हो । बुधबार औपचारिक कार्यक्रमको आयोजना गरी दुई सहकारी एकीकरण भएको घोषणा गरिएको हो । कामना र अविरल एकीकरण भई “कामना अविरल बचत तथा ऋण सहकारी संस्था” नामकरण गरिएको छ । सहकारी संस्था एकीकरणका लागि दुई सहकारी संस्थाबीच २२ बुँदे लिखित सहमति गरिएको थियो ।

२०६५ सालमा स्थापना भएको कामना बचत तथा ऋण सहकारी संस्थामा ६ हजार ४३६ र २०७७ साल अविरल बहुउद्देश्यीय सहकारी संस्थामा ९४० जना सेयर सदस्य रहेका थिए । दुई संस्था एकीकरण हुँदा सेयर सदस्यको संख्या ७ हजार ३७६ र सेयर पुँजी ७ करोड ३८ लाख ४१ हजार पुगेको छ । कामनाको सेयर पुँजी ५ करोड २७ लाख ४८ हजार र अविरलको सेयर पुँजी २ करोड १० लाख ९२ हजार रहेको थियो ।

संस्था एकीकरण भएपछि कुल सम्पत्ति ५४ करोड ४३ लाख ८८ हजार, बचत सङ्कलन ४१ करोड ७९ लाख ८९ हजार, ऋण लगानी ४० करोड ३० लाख ७० हजार र जगेडा तथा अन्य कोषमा ३ करोड ५५ लाख ४० हजार रूपैयाँ रहेको कामनाका व्यवस्थापक ओमप्रकाश गुप्ताले जानकारी दिए ।

घोषणा सभामा कामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दीपकचन्द्र शर्माले सहकारी एकीकरणको औचित्य पुष्टि गर्दै दुई सहकारी एक हुँदा वित्तीय सुदृढता, व्याजदरमा स्थिरता, उच्च प्रतिफल, सदस्यहरुको सुविधा वृद्धि, रोजगारी सृजना, पारदर्शिता र प्रभावकारिता, ब्रान्ड र विश्वास निर्माण, नियमन र निगरानीमा सहजता, क्षेत्रीय र राष्ट्रियस्तरमा योगदान गर्न सकिने बताए । बचत तथा ऋण सहकारी संस्थाबीचको एकीकरणले आर्थिक स्थायित्व, पारदर्शिता र सेवा विस्तारमा सकारात्मक प्रभाव पर्ने भन्दै उनले सफलताका लागि सेयर सदस्यहरुबीच सहमति, प्रभावकारी व्यवस्थापन र सहकारी सहजीकरण आवश्यक रहेको बताए । सहकारी संस्था एकीकरणपछि ठूला परियोजनाहरु कृषि, उद्योग र शिक्षामा मह¤वपूर्ण भूमिका निर्वाह गर्दै देशको समग्र आर्थिक विकासमा सहकारीको भूमिका अझ सशक्त बनाउन सकिने अध्यक्ष शर्माको भनाइ छ ।

कामना र अविरल एकीकरण गरी तत्कालका लागि ज्ञानबहादुर विसुराल अध्यक्ष रहेको तदर्थ सञ्चालक समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा सीतादेवी शर्मा, सचिवमा सूर्यप्रसाद लामिछाने, कोषाध्यक्षमा टेकनाथ अधिकारी र सदस्यहरुमा झनकप्रसाद पौडेल, राजुकमार ढकाल, इन्दु तिवारी, हरिकृष्ण खनाल, शिवराज मैनाली, उर्मिलादेवी पोखरेल र विरन्जना सापकोटा घिमिरे चयन भएका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा सन्दीप बराकोटी तथा सदस्यहरुमा रमेश चौधरी र अपिल अधिकारी रहेका छन् । सहकारी एकीकरण घोषणा सभामा तदर्थ सञ्चालक समितिसमेत घोषणा गरिएको हो । ६ महिनापछि संस्थाको विशेष अधिवेशन गरी सञ्चालन समिति निर्माण गर्ने सहमति गरी तदर्थ सञ्चालक समिति बनाइएको हो ।

रत्ननगर नगरपालिका वडा नं–२ का वडाध्यक्ष राजेन्द्रप्रसाद घिमिरे प्रमुखअतिथि रहेको घोषणा सभामा अविरलका लेखा समिति संयोजक तेजेन्द्रनाथ लामिछानेले आन्तरिक लेखापरीक्षण प्रतिवेदन, सोही संस्थाकी कोषाध्यक्ष विरन्जना सापकोटा घिमिरेले आर्थिक प्रतिवेदन, कामनाका कोषाध्यक्ष टेकनाथ अधिकारीले सोही संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कामनाका अध्यक्ष शर्मा र अविरलका अध्यक्ष विसुरालको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा वडा नं–२ की वडा सदस्य रमादेवी भट्टराई, जिल्ला सहकारी संघका वरिष्ठ उपाध्यक्ष प्रेमनाथ दुवाडी, रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष शंकर गिरी, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सल्लाहकार एकनारायण पौडेललगायतले मन्तव्य राखेका थिए । कार्यक्रम अविलरका सचिव रघुनाथ भट्टले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट