माडी : चितवन जिल्लाको भूमिपुत्र भनेर थारु जातिलाई चिनिन्छ। चितवन जिल्लामा बसोवास गर्ने जनसङ्ख्यामध्ये करिब तीन लाख ३२ हजारभन्दा बढी आदिवासी जनजाति समुदायको बसोवास भएको देखिन्छ। त्यसमा पनि सबैभन्दा बढी जनसङ्ख्या नै थारु जातिको छ। २०७८ सालको जनगणनाअनुसार चितवनमा थारु जातिको जनसङ्ख्यामात्रै ७२ हजार ६५८ छ।
जिल्लाभित्र पनि सबैभन्दा धेरै माडी क्षेत्रमा थारु जातिको बसोवास रहेको पाइन्छ। थारुको बाहुल्यता बढी भएकोले पनि चितवनका अधिकांश सार्वजनिक कार्यक्रमहरुमा थारु जातिको संस्कृति देख्न पाइन्छ। विशेष गरेर सौराहा, पटिहानी, मेघौली, जगतपुरलगायतका पर्यटकीय क्षेत्रहरुमा थारु जातिकै संस्कृति देख्न पाइन्छ। त्यतिमात्र होइन यहाँ हुने हरेकजसो मेला–महोत्सवमा थारु जातिको संस्कृति कहिल्यै पनि छुट्दैन।
तर, माडी नगरपालिका वडा नं–८, शिवद्वारमा रहेको आयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे (घरवास)मा भने म्याग्दीको संस्कृति देख्न पाइन्छ। एक घर राई, एक घर रानामगर, दुई घर नेवार र ११ घर पुनमगरले सञ्चालन गरेको घरवासमा आउने पाहुनाले म्याग्दी चिमखोलाको मौलिक संस्कृति देख्न सक्छन्।
घरवासका अध्यक्ष मोहनबहादुर पुनमगरका अनुसार २०७२ सालमा घरवास खोल्ने भएपछि भरतपुरबाट दक्ष व्यक्ति बोलाएर १० दिनको तालिम दिइएको थियो। सोही तालिमबाट मारूनी, सोरठी, झ्याउरे, कौडा, सालैजोलगायतका नाचगानलाई ब्युँताएको उनले बताए। ‘हामी त यहीँ जन्मियौँ, यहीँ हुर्कियौँ, त्यसैले म्याग्दी हाम्रो पुख्र्यौली थलो भन्नेमात्रै भयो।
संस्कृतिको विषयमा हामीलाई जानकारी नै थिएन’, उनले भने, ‘तालिम पाएपछि अहिले घरवास आउने आगन्तुकलाई संस्कृति देखाउन करिब ३० जना संस्कृतिकर्मी तयार छन्।’ खासगरी, धौलागिरि क्षेत्रमा चल्ने थाली नाच यहाँको फरक संस्कृति हो।
यही संस्कृति हेर्नका लागि टाढा–टाढाबाट पनि शिवद्वार आउनेहरुको सङ्ख्या बढ्दै गएको अध्यक्ष मगरले बताए। पाहुनाहरुको सङ्ख्या बढ्दै गएपछि ११ वटाबाट सुरू भएको होमस्टेको सङ्ख्या अहिले १५ पुगेको छ। दुईवटा थपिने क्रममा छ। यो होमस्टेमा एकै रातमा एक सय जनासम्मले बास पाएका छन्। ‘सार्वजनिक बिदाको दिनमा राम्रै भीड हुन्छ’, उनले भने, ‘अन्य दिनमा पनि खाली बस्नु परेको छैन।’ यहाँको घरवास अधिकांश पुनमगरले सञ्चालन गरेको हुँदा यसलाई ‘मगर होमस्टे’ भनेर पनि चिन्ने गरिएको छ।
थारु जातिको बसोवास माडी नगरपालिकाको यो वडामा अन्य वडाभन्दा ज्यादै कम छ। त्यसकारण पनि यहाँ थारु जातिको संस्कृति देखाउन नसकिएको माडी नगरपालिकाले जनाएको छ। ‘कसैले माग ग¥यो भने ल्याउन सकिन्छ तर खर्च अल्लि बढी आउँछ’, माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले भनिन्, ‘त्यसकारण हामीले माडीमा छुट्टाछुट्टै जातिको घरवास बनाएका छौँ।’
थारु संस्कृति हेर्न चाहनेका लागि थारु घरवास नै निर्माण गरेको उनले बताइन्। फरक खालको संस्कृति हेर्न पाइने गरी ठाउँ–ठाउँमा घरवास सञ्चालनमा रहेको उनको भनाइ छ। माडीमा आदिवासी जनजाति मात्र नभई गैरआदिवासी जनजातिका घरवास पनि सञ्चालनमा रहेको उनले बताइन्। ‘शिवद्वारको घरवास अल्लि पहिले नै खुलेको भएर त्यसको प्रचारप्रसार राम्रो छ, अरुको अल्लि कम छ’, उनले भनिन्, ‘समग्रमा माडीमा खुलेका घरवासले माडीलाई चिनाउन सफल भएको छ।’घरवास सञ्चालकहरुले स्थानीय खानाका परिकार खुवाएर पाहुनालाई प्रफुल्ल बनाउँदै आएका छन्। माडीको खानासँगै म्याग्दीको संस्कृति हेर्न पाइने भएपछि पाहुना पनि दङ्ग हुने गरेका छन्!
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij