भरतपुर : नारायणगढ जेसीजको स्वर्णमहोत्सव शुभारम्भ भएको छ । नारायणगढ जेसीजको सचिवालयमा उद्घाटन कार्यक्रमको आयोजना गरी स्वर्णमहोत्सवको शुभारम्भ गरिएको हो ।
नारायणगढ जेसीज २०२५ का अध्यक्ष जेसी रवीन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुखअतिथि नेपाल जेसीज २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापा रहेकी थिइन् । नारायणगढ जेसीजका अध्यक्ष श्रेष्ठ र राष्ट्रिय अध्यक्ष थापाले संयुक्तरुपमा केक काटेर स्वर्णमहोत्सव शुभारम्भ गरेका हुन् ।
उद्घाटन कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्वर्णमहोत्सवको अवसरमा यही माघ १९ गते नारायणीकिनारमा म्युजिक फेस्ट कार्यक्रम आयोजना गरिएको बताए । उनका अनुसार नारायणगढ जेसीजले स्वर्णमहोत्सवको अवसरमा विविध सामाजिक काम गर्नेछ ।
राष्ट्रिय अध्यक्ष थापाले जेसीज नेपालले यो वर्षमात्रै दर्जन बढी ठूला कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । उनले भनिन्, ‘यो वर्ष जेसीज नेपालले युवाका लागि धेरै कार्यक्रम गर्नेछ, यो वर्ष जेसीजका कार्यक्रम अर्थपूर्ण हुनेछ । नारायणगढ जेसीजका हरेक काममा नेपाल जेसीजले सहयोग र सहकार्य गर्नेछ ।’
कार्यक्रममा नारायणगढ जेसीजका संस्थापक अध्यक्ष महेन्द्रलाल प्रधानले जेसीजका धेरै चुनौतीहरु रहेको र यसलाई चिर्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए । उनले भने, ‘नारायणगढ जेसीजले युवा जुझारू नेतृत्व पाएको छ, यसले धेरै असल सामाजिक काम गर्ने विश्वास गरेको छु ।’
उद्घाटन कार्यक्रममा नारायणगढ जेसीजका बोर्ड अफ टष्ट्रिज संयोजक रमेशकुमार पिया, दीर्घकालीन परियोजना समितिका संयोजक उत्तमलाल चुके, स्वर्णजयन्ती महोत्सव संयोजक सुदीपसिंह अधिकारी र नारायणगढ जेसीजका निवर्तमान अध्यक्ष राजेन्द्र भट्टराईले जेसी रवीन्द्रकुमार श्रेष्ठको कार्यकाल सफलताको शुभकामना दिँदै स्वर्णमहोत्सव समारोह भव्यरुपमा सम्पन्न गर्न लाग्ने प्रतिबद्धता गरेका थिए ।
उद्घाटन मन्तव्यको क्रममा नेपाल जेसीज २०२५ का राष्ट्रिय अध्यक्ष रजनी थापाले अन्तर्राष्ट्रियस्तरको कार्यक्रम नेपालमै गर्ने प्रतिबद्धता गरेकी थिइन् । ‘जेसीजलाई ब्रान्डिङ गर्ने बेला भयो, यसको सुरूवात नारायणगढ जेसीजबाट भएको छ’, थापाले भनिन् ।
नारायणगढ जेसीज २०२५ का अध्यक्ष जेसी रवीन्द्रकुमार श्रेष्ठले वर्षभरि हर्षोल्लासका साथ सामाजिक कामहरु गर्दै जाने बताए । उनले आफ्नो कार्यकाल सधैँका लागि स्मरणीय बनाउने प्रतिबद्धतासमेत गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij