चितवन : प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवसको अवसरमा चितवनमा विशेष दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी मनाएको छ । प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति चितवन र भरतपुर महानगर कमिटीले संयुक्त रूपमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरी मनाएको हो ।भरतपुर चौबिसकोठी चोकमा सम्पन्न कार्यक्रममा प्रेस सेन्टरका पदाधिकारी, सदस्यहरु माओवादी नेताहरू र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो। प्रेस सेन्टरले यस विशेष अवसरलाई जनपक्षीय पत्रकारिताप्रति प्रतिबद्धता जनाउँदै स्थापना दिवस मनाएको हो ।
कार्यक्रममा माओवादी केन्द्र चितवनका जिल्ला ईन्चार्ज घनश्याम दाहाल(अविनाश)ले प्रेस सेन्टरको श्रमजीविहरुको संगठन बन्न सफल होस भन्ने शुभकामना सहित, “प्रेस सेन्टर नेपालले सधैं सत्य, तथ्य र जनताको आवाजलाई प्राथमिकतामा राखेर काम गर्न अनुरोध गरे । दाहालले माओवादी केन्द्रले सुरु गरको भष्ट्रचार विरोधी अभियानलाई पनि कलमको माध्यमबाट खबरदारी गर्दै सगैँ सहकार्य गर्न आवश्यक रहेको बताए । उनले भने आगामी दिनमा पनि जनपक्षीय पत्रकारिताले देशको समृद्धि र सामाजिक न्यायका लागि मार्गप्रशस्त गर्नेछ भन्ने विश्वास छ।” त्यस्तै, प्रेस सेन्टर नेपालकी केन्द्रीय सचिव शान्ता अधिकारीले प्रेस सेन्टरले लामो समयदेखि पत्रकारितामा गरेको योगदानलाई स्मरण गर्दै भनिन्, “नेपालको लोकतान्त्रिक आन्दोलन र सामाजिक रूपान्तरणमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको छ। अबको समयमा प्रेस सेन्टरले तथ्यपरक रिपोर्टिङ गर्दै राष्ट्र निर्माण र समानतामूलक समाज निर्माणमा ठोस योगदान पुर्याउनुपर्ने आवश्यकता छ।”
कार्यक्रममा पत्रकार महासंघ चितवनका अध्यक्ष वसन्त पराजुलीले श्रमजीवि पत्रकारहरुको हक हित र सुरक्षाका लागि सेन्टरसँगको सहकार्य थप सशक्त बनाउने बताए । प्रेस सेन्टर चितवनका अध्यक्ष राजेन्द्र आचार्यले विगत २१ वर्षको लामो ईतिहास , प्रेस सेन्टरको उद्देश्य र आगामी योजनाका विषयमा प्रकाश पारे। उनले भने, “प्रेस सेन्टर चितवन जनपक्षीय पत्रकारिताको बलियो माध्यमका रूपमा अगाडि बढिरहेको छ। हामी सत्य, तथ्य र निष्पक्षतामा आधारित रहेर नागरिकका हक-अधिकार र न्यायका लागि लडिरहनेछौं।” भरतपुर महानगर कमिटीका अध्यक्ष किशोरचन्द्र सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा दीप प्रज्वलन गरी संस्थाको स्थापना दिवसलाई उल्लासमय रूपमा मनाइएको थियो। दीप प्रज्वलनले सत्य, न्याय र समावेशी पत्रकारिताको प्रतिकात्मक सन्देश दिएको छ । कार्यक्रम प्रेस सेन्टर चितवनका सचिव सुरेन कुँवरले सञ्चालन गरेका थिए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij