Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

मौलाकालिका अस्पताल माघ २१ गतेबाट आफ्नै भवनमा सर्दै, सेवामा ५० प्रतिशतसम्म छुट

मौलाकालिका अस्पताल माघ २१ गतेबाट आफ्नै भवनमा सर्दै, सेवामा ५० प्रतिशतसम्म छुट

चितवन: भरतपुरको चौबीसकोठीमा रहेको मौलाकालिका अस्पताल माघ २१ गतेबाट आफ्नै नयाँ भवनमा सर्ने भएको छ । वाईपास रोडस्थित मालपोत चोक नजिक (भ्याट कार्यालयबाट उत्तर–पूर्व) नयाँ भवनबाट सेवा शुभारम्भ गरेको अवसरमा अस्पतालले ओपिडि निःशुल्क गरेको छ भने अस्पताल सेवामा ५० प्रतिशत छुट दिने भएको हो ।

अस्पतालका अध्यक्ष डा.माणिकलाल मानन्धरका अनुसार माघ २१ गतेदेखि ३० गतेसम्म सम्पूर्ण ओपिडि (बहिरंग) सेवाको टिकट निःशुल्क हुनेछ । यसै अवधिमा अस्पतालका सम्पूर्ण सेवामा ५० प्रतिशत र औषधिमा सात प्रतिशत छुट दिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आफ्नै भवनमा सरेको उपलक्ष्यमा हाम्रा सेवाग्राहीलाई केही पनि सहुलियत दिन छुट सुविधा दिएका हौं ।”

बि.सं. २०६३ सालमा अस्पतालरोडमा स्थापना भएको मौलाकालिका अस्पताल ०६७ सालदेखि चौबीसकोठीबाट एयरपोर्ट चोक जाने राजमार्ग नजिक सञ्चालनमा रहेको थियो । अस्पतालले भरतपुर ११, वाईपास रोडमा १० कठ्ठा जमिन खरिद गरी सात तले सुविधासम्पन्न आधुनिक भवन निर्माण गरेको छ । अध्यक्ष डा। मानन्धरले भन्नुभयो “हामीले सरकारले अस्पतालका लागि तोकेका मापदण्ड अनुसारको आधुनिक भवन निर्माण गरेका छौं ।”

हाल ५० शैया स्वीकृत लिएर सञ्चालनमा रहेको अस्पतालले एक सय शैया विस्तार गर्न सक्ने गरी नयाँ भवन निर्माण गरेको छ । अस्पतालमा जलन (बर्नवार्ड), प्लास्टिक सर्जरी, अंको सर्जरी (स्तन क्यान्सर) , युरोलोजी, कार्डियोलोजी, स्पाईनल सर्जरी, न्यूरो सर्जरी, बाल मनोचिकित्सक सेवा सञ्चालन गर्दै आएको छ ।

यसैगरी इन्टरभेन्सन पेन स्पेशलिष्ट (दुखाई विशेषज्ञ) , स्त्री–प्रसुती तथा प्रजनन् रोग, एनेस्थेसिया, जनरल सर्जरी, रेडियोलोजी, जनरल मेडिसिन, हार्डजोर्नी तथा नसा रोग, नवजात शिशु तथा बालरोग, मनोरोग, दन्तरोग, यौन तथा छाला रोग सेवा दिंदै आएको छ । यस्तै फिजियोथेरापी, प्याथोलोजी (माईक्रोबायोलोजी–हेमाटोलोजी) सेवा पनि दिंदै आएको छ ।

२४ घण्टा इमर्जेन्सी र एम्बुलेन्स सेवा रहेको अस्पतालमा सामाजिक सुरक्षा कोषबाट उपचार गर्ने व्यवस्था रहेको अस्पतालका अध्यक्ष डा. मानन्धरले बताउनुभयो । अस्पतालमा दुरविन प्रविधिबाट मुत्रासय (पत्थरी र पित्तथैली) को चिरफार विना शल्यक्रिया हुने गरेको उहाँले जानकारी दिनुभयो ।आठ शैयाको एनआईसियू, पाँच शैयाको पिआईसियू, १० शैयाको एचडियु र सात शैयाको आईसियु सेवा रहेको अस्पतालमा तीन वटा मोडुलर ओटी (आधुनिक शल्यक्रियाकक्ष) रहेका छन् ।

अस्पतालमा प्रयोगशाला, एक्सरे, भिडियो एक्सरे, सिटी स्क्यान, इण्डोस्कोपी, क्लोनोस्कोपी, ईको (फिटल) , ईसिजी, ईईजी लगायतका सेवा समेत उपलब्ध रहेका छन् । आफ्नै फार्मेसी रहेको अस्पतालमा चौबीसी घण्टा चिकित्सक उपलब्ध हुने गरेको अध्यक्ष डा।मानन्धरको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट