इच्छाकामना : नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाको अध्यक्षमा सम्झना खड्का सिलवाल निर्वाचित हुनुभएको छ । शनिबार फिस्लिङ्गमा सम्पन्न दोश्रो सम्मेलनबाट सिलवाल पुन : सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।
यसैबिच उपाध्यक्षमा श्रीमाया चेपाङ, होम कुमारी थापा मगर र इन्द्रकुमारी मगर, सचिवमा जोनिशा चेपाङ,सह–सचिवमा उर्मिला पोखरेल र कोषाध्यक्षमा लक्ष्मी डल्लाकोटी निर्वाचित हुनुभएको छ ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इच्छाकामनाका अध्यक्ष सम्झना खड्का सिलवालको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र बागमती प्रदेशका कोषाध्यक्ष संगिता भट्टराईको प्रमुख आतिथ्यता तथा प्रदेश कमिटी सदस्य प्रताप गरुङको विशिष्ट आतिथ्यतामा सम्मेलन सम्पन्न भएको हो ।अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का जिल्ला अध्यक्ष शर्मिला गोले विक, नेकपा माओवादी केन्द्र प्रदेश सदस्य सावित्रा सिलवाल,प्रदेश सल्लाहकार गोवर्धन अधिकारी, अखिल नेपाल लेखक संघका केन्द्रिय सदस्य तथा इच्छाकामना साहित्य प्रवाहका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पोखरेल इच्छाकामनाका बरिष्ठ नेता हरि बहादुर थापा, गाउँ किमिटी अध्यक्ष रामहरी कडेँल ,उपाध्यक्षहरु रामप्रसाद बोहोरा, कुमार मगर लगायतको आतिथ्यता रहनुभएको थियो ।

प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कोषाध्यक्ष संगिता भट्टराईले सामाजिक विभेद र अन्यायका विरुद्ध संगठित भएर लड्न हक अधिकार माग्न सक्ने जागरणको पैदा गर्ने काम माओवादी केन्द्रको आन्दोलनले गरेको बताउनुभयो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा भएको जनयुद्धले महिलाहरुको अधिकार स्थापित गरेको बताउनुभयो । माओवादी आन्दोलनले महिलाको अधिकार संविधानमा लेख्ने र कानुन बनाउने काम भएपनि कार्यान्वयन गर्ने बेला अरुकै हातमा गएको बताउनुभयो । माओवादी पार्टी भित्र एकता कायम नहुँदा यस्तो अवस्था आएको उहाँको भनाई छ ।
माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य प्रताप गुरुङले इच्छाकामनाको समग्र विकासका लागि नेकपा माओवादी केन्द्रको नेतृत्व आवश्यक रहेको बताउनुभयो । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई जिताउन महिला संगठनको भूमिका महत्वपूर्ण हुने भएकाले सशक्त बनेर अघि बढ्न आग्रह गर्नुभयो । सिंगो माओवादी केन्द्र पार्टी महिलाहरुको हक अधिकारका लागि साथमा रहेको बताउनुभयो । कार्यक्रम सुशिला चालिसेले सञ्चालन गनुृभएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij