चितवन : नवलपुरलाई आफ्नो राजनीतिक आधार बनाउँदै विद्यार्थी आन्दोलनमा लोकप्रिय छवि बनाएकी रुकु बस्नेतले अखिल (क्रान्तिकारी) केन्द्रीय समिति निर्वाचनमा बागमती प्रदेशको तर्फबाट केन्द्रीय उप–महासचिव पदमा उम्मेदवारी घोषणा गरेकी छन्। विद्यार्थी राजनीति र संघर्षमा लामो समयदेखि सक्रिय बस्नेतले निरन्तर नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी छन्।
विद्यार्थी राजनीति प्रारम्भदेखि संघर्षको मैदानसम्म
रुकु बस्नेतले विद्यार्थी राजनीतिमा पहिलो पाइला २०६६ साल कक्षा ८ मा जनता मावि, नवलपुरबाट राखेकी थिइन्। त्यहीँबाट अखिल (क्रान्तिकारी) संगठनको सदस्यता प्राप्त गरी इकाई अध्यक्षको जिम्मेवारी सम्हालिन्। कक्षा ११ मा भरतपुरको आरोमा क्याम्पसमा अध्ययन गर्दै उनले इकाई अध्यक्षको भूमिका निभाइन्। विद्यार्थी हकहितका आवाज बुलन्द बनाउँदै उनले वीरेन्द्र बहुमुखी क्याम्पसमा इकाई सदस्य र पछि सचिवका रूपमा नेतृत्व गरिन्।
चितवन जिल्लामा संगठनलाई विस्तार गर्न महत्वपूर्ण योगदान दिएकी बस्नेत चितवन जिल्ला सदस्य हुँदै सचिवालय सदस्य बनिन्। विद्यार्थी हक, अधिकार, महिला हिंसा विरुद्धको संघर्ष, शैक्षिक सुधार अभियान लगायतका विभिन्न मुद्दामा दृढ अडान लिएर अगाडि बढेकी उनले विद्यार्थी राजनीति मात्र नभएर सामाजिक न्यायका सवालहरूमा पनि सक्रियरूपमा लागिपरेकी छन्।
विद्यार्थी आन्दोलनको सक्रिय नेतृ
चितवन जिल्लाको छात्रा विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै उनले महिला हिंसाका घटनाविरुद्ध सशक्त आन्दोलनहरू संगठित गरिन्। महिलामाथि हुने अन्याय र बेथितिहरूका विरुद्ध नारा बुलन्द पार्दै उनले विद्यार्थीबीच व्यापक जनपरिचालन गरिन्। विद्यार्थी राजनीतिलाई सशक्त बनाउन उनले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेकी छन्।
२२औं राष्ट्रिय सम्मेलनबाट संगठनको केन्द्रीय सदस्य बनेपछि उनले विभिन्न जिम्मेवारी वहन गरिन्। संगठन विस्तार,नीति निर्माणमा सक्रियरूपमा लागिपर्दै संगठनभित्र दृढ पहिचान बनाएकी बस्नेत अहिले २३औं राष्ट्रिय सम्मेलनमा केन्द्रिय उप–महासचिव पदका लागि उम्मेदवार बनेकी छन्।
विद्यार्थी राजनीतिमा नयाँ आशा
रुकु स्नेतको उम्मेदवारी विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र नेतृत्वको संकेतको रूपमा हेरिएको छ। संघर्षबाट खारिएकी उनी संगठनभित्र लोकप्रिय नेतृका रूपमा स्थापित भइसकेकी छन्। संगठन निर्माण, शैक्षिक सुधार अभियान तथा सामाजिक न्यायका सवालहरूमा उनको दृढ अडान विद्यार्थीहरूबीच चर्चाको विषय बन्ने गरेको छ।
उनी नेतृत्वमा रहँदा विद्यार्थीहरूले आफ्नो हक अधिकारका लागि बोल्न सहज महसुस गरेका छन्। विद्यार्थी हकहितका सवालहरूलाई गम्भीर रूपमा उठाउँदै उनले नेतृत्वमा रहेर विभिन्न संघर्षमूलक अभियानहरू चलाइन्। अब उनको उम्मेदवारीले विद्यार्थी राजनीति कसरी अघि बढ्छ भन्ने चासो बढेको छ।
नयाँ नेतृत्वको खोजीमा विद्यार्थी राजनीति
अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको नयाँ नेतृत्व चयनको चरणमा प्रवेश गरेको छ। संगठनको आगामी बाटो र रणनीति निर्धारण गर्न विद्यार्थीहरू नयाँ नेतृत्व खोजिरहेका छन्। यस परिप्रेक्ष्यमा बस्नेतको उम्मेदवारीलाई विद्यार्थी राजनीतिमा सशक्त नेतृत्वको विकल्पको रूपमा हेरिएको छ। निर्वाचनमा उनको जित सुनिश्चित गर्ने भन्दै विद्यार्थीहरूले समर्थन अभिव्यक्त गरिरहेका छन्। विद्यार्थी राजनीतिलाई अघि बढाउने उद्देश्यका साथ उनले आफ्नो उम्मेदवारी दर्ता गरेकी छन् । उनको उम्मेदवारीले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र नेतृत्वको आशा जगाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij