Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु

उपर्दाङ्गगढीको कोतघर पुनर्निर्माण सुरु

मुग्लिन (चितवन), ८माघ  । इच्छाकामना गाउँपालिका–७ स्थित उपर्दाङ्गगढी परिसरमा कोतघर पुनर्निर्माण गरिने भएको भएको छ । गढीको भौतिक संरचना पुनर्निर्माणअन्तर्गत भग्नावशेष अवस्थामा किल्लाभित्रको कोतघर पुनर्निर्माण गरिने भएको हो ।

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सोमबार कोतघर पुनर्निर्माणको शिलान्यास गर्नुभयो । रु एक करोड ३४ लाख ५० हजार लागतमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । निर्माण कम्पनीसँग २०८२ जेठ १५ गतेभित्र निर्माण सक्नेगरी सम्झौता भएको हो ।

पुरातत्व विभागको मापदण्डअनुसार पुरानै संरचनामा कोतघर पुननिर्माण गरिने अध्यक्ष गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरातत्व विभागको समन्वयमा पुरानै संरचनाअनुसार भग्नावशेष अवस्थामा रहेको कोतघरको पुनर्निर्माण सुरु गरेका हौँ ।” उहाँका अनुसार उपर्दाङ्गगढीमा पुरानो संरचनालाई असर नपुग्ने गरी यसअघि गोलघर, टिकट काउन्टर, वनभोजस्थल, प्रवेशद्वारको ढोका मर्मत, काठेपुल निर्माण, प्रतिक्षालय, शौचालय र खानेपानीका लागि धारा निर्माण गरी विद्युत् जडान गरिएको छ । पर्यटकको मागअनुसार फोटो खिच्नका लागि आकर्षकस्थल बनाउन गढीको बाहिर भागमा ‘आईलभगढी’ लेखेको संरचना निर्माण गरिएको छ ।

कोतघर निर्माणसँगै गाउँपालिकाले नेपाली सेनासँग समन्वय गरी उपर्दाङ्गढीमा तोपसहित पुराना हाततियार राखिनेछ । साथै ढुङ्गेधारा, ढुङ्गाको सिँढीबाटो समेत निर्माण गरिने योजना रहेको अध्यक्ष गुरुङले बताउनुभयो । उपर्दाङ्गगढी क्षेत्रको ऐतिहासिक र पुरातात्विक महत्व झल्किने गरी भौतिक संरचना निर्माण गरी पुरातात्विक तथा ऐतिहासिक सङ्ग्रहालयका रूपमा विकास गरिने अध्यक्ष गुरुङको भनाइ छ । यहाँ कोतघर निर्माणसँगै तोपसहित पुराना हातहतियार राखेपछि पर्यटकको आवामगन बढ्ने र गाउँपालिकाको आम्दानीको स्रोत बन्ने बताउनुभयो । अहिले उपर्दाङ्गगढी घुम्न आउने पर्यटकबाट वार्षिक रु सातदेखि आठ लाखसम्म टिकट शुल्कबाट आम्दानी हुदैँ आएको उहाँले बताउनुभयो । तत्कालीसन समयमा उपर्दाङ्गगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख भएअनुसार तल्कालीन बाइसेचौबीसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गर्नुभएको थियो । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ । रासस

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट