Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड

चितवन महोत्सवमा कृषि गोष्ठी : रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्नुपर्नेमा जोड

चितवन : चितवन महोत्सवका अवसरमा आयोजित कृषि गोष्ठीमा रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्दै लैजानुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

उवासंघ चितवनको सभाहलमा ‘स्वच्छ उत्पादन, स्वस्थ खाना र युवा उद्यमशीलता विषादी रहित व्यावसायिक कृषि आजको आवश्यकता’ विषयक कृषि गोष्ठीमा वक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।

गोष्ठीमा कृषि विज्ञहरु सुजन अमागाईं, चन्द्र प्रसाद अधिकारी र कृष्ण पौडेलले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गर्दै विज्ञहरुले विषदीको प्रयोग बढ्नुका साथै अनियन्त्रित प्रयोग भइरहेको बताए । नेपालमा धेरै जसो तरकारीमा अनियन्त्रित विषादीको प्रयोग गरिएको विज्ञहरुको भनाइ छ ।

विषादी छर्दा किसान आफै पनि सुरक्षित नभई छर्ने गरेको बताउँदै कृषि विज्ञहरुले किसानमा अझै पनि जनचेतना फैलाउन आवश्यक रहेको बताए ।

सुधारिएको प्राङ्गारिक कृषि प्रणाली अवलम्बन गरी रासायनिक विषादीको प्रतिस्थापन गर्नु आजको आवश्यकता भएको विज्ञहरुको तर्क छ । विषादीको जथाभावी बिक्रि वितरणलाई पनि नियन्त्रण गर्न जरुरी रहेको उनीहरुको सुझाव छ ।

किसानले वर्षेनी विषदीको प्रयोगको मात्रा बढाउँदै लगेको बताउँदै विज्ञहरुले यसले मानव स्वास्थ्यसँगै वातावरणमा पनि नकरात्मक प्रभाव पारिरहेको बताए ।

युवा पुस्ता कृषिलाई अंगाल्न तयार नै नहुनु, कृषि पढेका विद्यार्थीले पनि विदेश नै प्रमुख रोजाइ बनाउनुले अब नेपालमा कृषि क्षेत्र विकास गर्न निकै चुनौती हुने संकेत देखिएको भन्दै विज्ञहरुले यसतर्फ बेलैमा सचेत हुन सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनकी उपकुलपति प्राडा शारदा थपलियाले अहिले प्रयोग भइराखेको विषादी र औषधीले काम नगर्ने अवस्था आएको बताइन् । त्यसकारण किसानले कडा विषादी खोज्ने गरेको र नपाएको खण्डमा भएको विषदीलाई कडा बनाउने नाममा अत्याधिक प्रयोग गरिरहेको उनको भनाइ छ । एउटा विषदीको प्रयोग गरिरहँदा त्यसलाई सहन गर्न सक्ने प्रणाली किरामा विकास हुने बताउँदै उनले त्यस्तो अवस्थामा विषदीको मात्र बढाउने नभई विषदीको परिवर्तन गर्नुपर्ने बताइन् । नयाँ विषादीको अनुसन्धान र प्रयोग एवम् विषादी न्यूनिकरणका लागि विश्वविद्यालयले काम गरिरहेको उनको भनाइ थियो ।

उनले चितवनमा कृषि विकासको प्रचुर संभावना रहेको बताउँदै विश्वविद्यालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम गरिरहेको बताइन् ।

बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकास श्रेष्ठले युवा र महिलालाई कृषिमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए । जसका लागि बागमती प्रदेश सरकारले कृषि ऋणमा ब्याज अनुदान दिने कार्यक्रम ल्याउन लागेको बताए ।

कृषि विद्यार्थीहरुलाई कृषि उद्यम गर्न प्रोत्साहन गर्ने उद्देश्यले विद्यार्थीलाई पनि ऋण उपलब्ध गराउने तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।

कृषिमा अब रासायनिक मलभन्दा पनि प्राङ्गारिक मलको प्रयोगलाई बढाउँदै लैजानुपर्ने आवश्यकतालाई मनन गर्दै प्रदेश सरकार प्राङ्गारिक कारखना स्थापना गर्नतर्फ अगाडि बढेको उनको भनाइ छ । एक्कासी रासायनिक मल र रासायनिक विषादीलाई त्यागि हाल्न नसकिने बताउँदै उनले यसलाई व्यवस्थित र न्यूनिकरण गर्दै प्राङ्गारिकलाई बढाउँदै लैजानुपर्ने बताए ।

विषादीको अनियन्त्रित प्रयोगलाई रोक्न प्रदेश सरकारले ऐन नै बनाएर अघि बढ्ने उनको भनाइ छ । विषादीको प्रयोगपछि विषादी नष्ट गर्ने विधि नेपालमा नरहेको बताउँदै यो प्रविधि पनि भित्र्याउन आवश्यक रहेको उनी बताउँछन् ।

गोष्ठी कार्यक्रमका अन्य वक्ताहरु बागमती प्रदेशका पूर्व मन्त्री एवम् चितवन जिल्ला गुरुयोजना समिति संयोजक विजय सुवेदी, जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारी, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कंडेल, उद्योग वाणिज्य संघ (उवासंघ) चितवनका पूर्व अध्यक्ष मित्रराज दवाडीले पनि विषादीको अनियन्त्रित प्रयोग रोक्नुपर्नेमा जोड दिएका थिए ।

उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले गोष्ठीमा सहभागीलाई स्वागत गरेका थिए भने उवासंघ चितवनका कार्यक्रम अधिकृत गणेश सुवेदीले गोष्ठी सञ्चालन गरेका थिए ।

चितवन महोत्सव कृषि प्रवद्र्धन समिति संयोजक मकुन्द प्रसाद गौतमले कृषि विकास र रासायनिक विषादीको न्यूनिकरणमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै गोष्ठीको समापन गरेका थिए । गोष्ठीमा कृषिसँग सम्बन्धित सरकारी निकायका प्रतिनिधि, कृषक समुहका प्रतिनिधि र किसानहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट