Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

चितवन महोत्सवमा शिक्षा गोष्ठी : कलेजभन्दा कन्सल्टेन्सी बढी भएकोप्रति चिन्ता व्यक्त

चितवन :   चितवन महोत्सवका अवसरमा आयोजित ‘चितवनको शिक्षामा नीजि लगानी : वर्तमान अवस्था र अवसर’ विषयक शिक्षा गोष्ठी सम्पन्न भएको छ ।उवासंघ चितवनको सभाहलमा सम्पन्न गोष्ठीमा चितवनको शिक्षासहित देशकै समग्र शिक्षामा नीजि लगानी अवसर र चुनौती लगायतका विविधि विषयमा छलफल भएको छ ।

वैदेशिक शिक्षाका लागि विद्यार्थीको पलायन नै अहिलेको ठूलो चुनौती रहेको कुरामा गोष्ठी बढी केन्द्रीत बन्यो । गोष्ठीमा सहभागी शिक्षाविदहरुले कलेजभन्दा कन्सल्टेन्सीको संख्या बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरे ।गोष्ठीमा विभिन्न क्षेत्रका शिक्षा विद, विद्यालय र क्याम्पसका शिक्षक तथा प्राध्यापक, विद्यार्थी नेता र उद्योग वाणिज्य संघका नेतृत्वहरुको सहभागीता रहेको थियो । गोष्ठीमा प्रुमख अतिथिका रुपमा शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीको उपस्थिति रहेको थियो ।

sikshya gosthi, chitwan mahotsav (9)1737281454.JPG

गोष्ठीमा सहभागी वक्ताहरुले चितवनको शिक्षामा नीजि लगानी बढ्दै गएको बताएका छन् । चितवनमा कृषि, पर्यटन, आइटी, हस्पिटालिटी, मेडिकल शिक्षा लगायतको क्षेत्रमा प्रचुर अवसर रहेको कुरा सहभागीहरुले बताएका छन् । विविध क्षेत्रमा अवसर भए पनि विद्यार्थीको बढ्दो वैदेशिक पलायन नै अहिलेको प्रमुख चुनौती बनेको गोष्ठीमा सहभागीहरुले बताए ।

पछिल्लो समय ब्याचलर तहमा विद्यार्थी पाउन गाह्रो, अस्वस्थ प्रतिस्पर्धा, दक्ष शिक्षक पाउन मुस्किल, शिक्षा प्रणालीमा समस्या लगायतका विविध समस्याहरु रहेको वक्ताहरुले औंल्याएका छन् ।

त्यसैगरी सरकारले ८ कक्षासम्म निःशुल्क शिक्षा भनेकाले विद्यालय तहमा नीजि लगानी चुनौतीपूर्ण हुँदै जानेतर्फ पनि शिक्षा विदहरुले सुझाव दिएका छन् । शिक्षामा नीजि लगानी आवश्यक रहेको भए पनि अस्वस्थ प्रतिस्पर्धा हुँदा आलोचना खेपिरहनु परेको सहभागीहरुले बताएका छन् ।

विदेशी विद्यार्थी ल्याउने अवसर समेत नेपालमा रहेको कुरामा जोड दिँदै सहभागीहरुले कस्तो शिक्षामा लगानी गरियो भने यहाँ विद्यार्थी टिकाउन सकिन्छ र बाहिरबाट समेत विद्यार्थी ल्याउन सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने सुझाव राखे । चीन र भारतका विद्यार्थीलाई कसरी नेपालमा ल्याएर पढाउन सकिन्छ भन्नेतर्फ सोचेर लगानी गर्नुपर्ने कुरा समेत गोष्ठीमा उठेको छ ।

विद्यालयहरु यो धनिले पढ्ने र यो गरिबले पढ्ने भनि जुन भाष्य समाजमा निर्माण भएको छ यसलाई हटाउन आवश्यक रहेको कुरा समेत गोष्ठीमा उठेको छ ।

शिक्षा मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीले शिक्षा सेवामुलक हुनुपर्नेमा जोड दिँदै नीजि क्षेत्रले लगानी गरेका छौं भन्दैमा धेरै नाफामुलक बनाउन नहुने बताए ।

पहिला गाउँबाट शहर पढ्न आउने प्रवृत्ति रहेको सम्झँदै उनले अहिले शहरबाट विदेश पढ्न जाने लहर बढेको बताए । यो समस्या हो तर यो कसरी आयो भन्ने कुरामा हामीले विचार गर्नुपर्ने बताए । मेरो बच्चा विदेश पढ्नुपर्छ भन्ने सामाजिक मनोविज्ञानले गर्दा विदेश जाने लहर झन् बढ्दै गएको उनको तर्क थियो ।

लामो समयसम्म विदेश जाने क्रम नरहने बताउँदै उनले यो एउटा बिन्दुमा पुगेर क्रमशः घट्दै जाने भएकाले निराश नहुन सहभागीहरुलाई आग्रह गरे । सँधै वैदेशिक शिक्षा नै प्रमुख रोजाइ नहुने निश्चित रहेको बताउँदै उनले गोष्ठीमा उठेका विविध विषयलाई सरकारले गम्भीररुपमा लिएर अघि बढ्ने बताएका छन् ।

गोष्ठी कार्यक्रमका संयोजक एवम् चितवन महोत्सव शिक्षा समिति संयोजक शंकर अधिकारीले गोष्ठीमा उठेका विषयहरुलाई उद्योग वाणिज्य संघ (उवासंघ) चितवनले सम्बन्धित निकायहरुमा पुर्याउने बताउँदै चितवनको शिक्षा क्षेत्रको विकासमा गोष्ठी फलदायी हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट