रत्ननगर : कलेजो रोगबाट पीडित विनोद अधिकारीको उपचार गर्दा घरघडेरी गुम्यो । मासु पसल सञ्चालन गरेर परिवार पाल्दै आएका रत्ननगर–१२ घेघौली निवासी ३९ वर्षीय अधिकारीको अहिलेसम्म उपचार गर्दा करिब २१ लाख सकियो ।
१० घुरमा बनेको एकतले पक्की घर बेचेर उनले उपचार गर्दा लागेको ऋण तिरे । चितवन मेडिकल कलेज, काठमाडौँको नर्भिक अस्पताल र नेसनल मेडिसिटी अस्पतालमा उनले उपचार गरे । २१ लाख खर्च गरेर उपचार गर्दा पनि रोग निको भएन ।
पछिल्लो ६ महिनाअघि नेसनल मेडिसिटी अस्पतालमा रोग पहिचान भयो । कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरहरुले सुझाए । सम्पत्ति भनेको घरघडेरी मात्र थियो । मासु पसल गरेर आर्जन गरेको पैसाले उनले बुबाआमा, श्रीमती र छोराछोरी पाल्दै आएका अधिकारी परिवारको आर्थिक अवस्था दयनीय रहेको छ ।
कलेजो प्रत्यारोपणको लागि करिब ३० लाख खर्च हुने अनुमान गरिएको छ । श्रीमान्लाई कलेजो दिन श्रीमती रन्जना अधिकारी तयार भएकी छन् । तर कलेजो प्रत्यारोपणको लागि चाहिने पैसा नभएपछि परिवार, आफन्त र टोल विकास संस्थाका नेतृत्वले आर्थिक सहयोगको अपिल गरेका हुन् ।
कलेजो प्रत्यारोपणको लागि सहयोग जुटाउनुको विकल्प नभएपछि परिवारका आफन्तहरुले अधिकारी निवासमै पत्रकार बोलाएर समस्या सुनाउँदै आर्थिक सहयोगको अपिल गरे । ‘घरघडेरी बेचेर अहिलेसम्म उपचार गरेँ कलेजो रोगपीडित अधिकारीले भने, ‘थप उपचारको लागि मैले गर्न सक्ने केही छैन, जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन अपिल गर्दछु ।’
‘छोराछोरीको भविश्यको लागि पनि म बाँच्न चाहन्छु’, उनले अगाडि भने, ‘तपार्इंहरुको सहयोगले मेरो जीवन रक्षा हुने छ ।’ घेघौली टोल विकास संस्थाका अध्यक्ष गोविन्दप्रसाद पौडेलले दिनभरी कमाएर परिवार पाल्दै आएका अधिकारीको जीवन रक्षाको लागि आर्थिक सहयोग गरिदिन आग्रह गरे ।
स्थानीय राजेन्द्रप्रसाद न्यौपानेले अधिकारीको लालाबालाको भविश्यको लागि पनि सबैको सहयोग आवश्यक रहेको बताए । अधिकारीको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संघसंस्थाहरुले उनकी आमा बालकुमारी अधिकारीको नाममा रहेको कुमारी बैंक टाँडी शाखामा रहेको खाता नं १७७००८२८२४३००००१ मा रकम जम्मा गर्न सकिने व्यवस्था गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij