चितवन : पवित्र धार्मिक स्थल देवघाटधाममा भोलि माघे संक्रान्ति मेला लाग्दै छ । गोसाँइकुण्डबाट आएको त्रिशुली र दामोदर कुण्डबाट आएको कालीगण्डकी नदीको संगम स्थल हो देवघाटधाम । मेलामा सहभागी हुन चितवन लगायत देशका विभिन्न जिल्ला र भारतबाट समेत धर्मावलम्बीहरु आउने क्रम जारी छ । माघे संक्रान्तिका दिन देवघाटको वेणी संगममा स्नान गर्ने भक्तजनको ठूलो भिड लाग्ने गर्छ ।
माघे संक्रान्ति मेलालाई सुरक्षित र व्यवस्थित बनाउनका लागि चितवन र तनहुँतर्फ सबै तयारी पुरा भएको देवघाट क्षेत्र विकास समितिले बताएको छ । समितिले सोमवार पत्रकार सम्मेलनको आयोजना गरि मेला व्यवस्थापन बारे जानकारी दिएको हो ।देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भिम बहादुर रानाको संयोजकत्वमा १५१ सदस्यिय माघे संक्रान्ति मेला व्यवस्थापन मुल समिति गठन गरिएको छ ।
चितवन र तनहुँ जोड्ने झोलुंगे पुलको मर्मत गर्ने काम सम्पन्न भएको छ भने तीर्थस्थलमा मासु र मदिरा निषेध गरिएको छ । डुंगामार्फत नदी पार गर्न चाहने भक्तजनको लागि डुंगामा सयर गर्दा एकतर्फी प्रतिव्यक्ति ५० रुपैयाँ भाडादर तोकिएको छ ।
मेलामा जाने सवारी साधनहरु आँपटारी–रामनगर र रामनगर–ठिमुरा हुँदै देवघाट प्रवेश गर्ने छन् भने बागीश्वरी हुँदै आँपटारी निस्कने व्यवस्था मिलाइएको माघे संक्रान्ति मेला व्यवस्थापन मुल समितिका संयोजक रानाले बताए । उनका अनुसार मेलालाई सुरक्षित र व्यवस्थित गर्न १६० जना स्वयमसेवक र ५०० जना सुरक्षाकर्मी परिचालन गरिनेछ ।
पर्याप्त मात्रा अस्थायी शौचालय र सिताराम संस्कृत माविको प्रांगणमा पार्किङको व्यवस्था मिलाइएको छ । साइकलको १०, मोटरसाइकलको २०, कार÷जीप÷भ्यानको ५० र बस÷ट्रकको पार्किङ शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ । आँपटारी–रामनगर–देवघाट र आँपटारी–रामनगर–ठिमुरा–देवघाट सडक मर्मतको काम सम्पन्न भएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij