भरतपुर : भरतपुर महानगरपालिका वडा नं–२ ले वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा निर्माणका लागि गर्नुपर्ने कामलाई तीव्र पारेको छ । वडाध्यक्ष मनोज रानाभाटले वातावरणमैत्री वडा निर्माणअन्तर्गत सरसफाइ कार्यक्रमदेखि ढल निर्माणसम्मका गतिविधिहरुलाई तीव्रता दिएको बताए ।
भरतपुर–२ ले वडाका विभिन्न टोलसँग मिलेर टोलको सरसफाइ कार्यक्रम गरिरहेको छ । यसअघि नै वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त निर्माणका लागि टोलस्तरीय भेलाको आयोजना गरी उपसमितिहरु गठन गरेको छ । सोही उपसमितिमार्फत टोलहरुको सरसफाइ कार्यक्रम भइरहेको छ ।
अध्यक्ष रानाभाटले क्याम्पाचौरको सरसफाइ पनि गरिएको बताए । वातावरणमैत्री वडा निर्माणका सूचकअन्तर्गत सार्वजनिक स्थलको संरक्षण र नियमित सरसफाइ गर्नुपर्ने भएकाले क्याम्पाचौरको सरसफाइ गरिएको उनले बताए । बालकुमारी मावि, बालकुमारी कन्या मावि, प्रगतिपथ टोल विकास समिति, विन्दावासिनी बेलटाँडी जलमा टोल विकास समिति, लायन्स क्लब अफ नारायणी, लैङ्गिक हिंसाविरूद्धको सञ्जाल समिति, सामुदायिक सेवा केन्द्र नारायणगढ, बालकुमारी मण्डी व्यवसायी समितिलगायतका संस्थाहरुको सक्रियतामा क्याम्पाचौरको सरसफाइ गरिएको वडाध्यक्ष रानाभाटले बताए ।
यसैबीच, भरतपुर महानगरपालिका वडा नं–२ ले विद्यालय, कलेजको एक सय मिटरभित्र सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाएको छ । जसका कारण विद्यालयवरपर सुर्तीजन्य पदार्थको खोल निकै कम भेटिएको छ । ‘विद्यालयको एक सय मिटरवरपर सुपारी, मदिराजन्य कुनै पनि वस्तु बेच्न तथा प्रयोगमा ल्याउन पाइने छैन, यसका लागि अनुगमन पनि गरिरहेका छौँ’, अध्यक्ष रानाभाटले भने, ‘वडालाई वातावरणमैत्री तथा पूर्ण सरसफाइयुक्त वडा बनाउन यससँग सम्बन्धित कामहरु भइरहेको छ ।’ वडा नं–२ का कर्मचारी, महानगर प्रहरी, टोलका अध्यक्ष तथा प्रतिनिधि, स्कुलका प्रतिनिधिलगायत विद्यार्थीहरुबाट पनि सचेतना, अनुगमनको कामहरु भइरहेको उनले बताए ।
वडा नं–२ ले सडकमा ढल निर्माणका कार्यक्रमहरुलाई पनि तीव्रता दिएको छ । वडा सदस्य परशुराम पौडेलका अनुसार वातावरणमैत्री वडा घोषणाअघि सबै सडकहरुमा ढल निर्माण गरिसक्नुपर्छ । यसका लागि पनि वडाले काम गरिरहेको छ । आदर्श नगर नमुना टोल ग्रीन भिलेज मार्गमा पनि नाला निर्माणको काम सुरू भएको सदस्य पौडेलले बताए ।
पृथ्वी देउती टोलमा ढल निर्माण गर्ने कार्यको शिलान्यास भएको छ । यसबाहेक हाइमाक्स लाइट जडानको काम पनि वडामा चलिरहेको छ । सडक कालोपत्रदेखि ढल निर्माणसम्म, सरसफाइका गतिविधिदेखि वृक्षरोपणसम्मका कार्यहरु भएको हुनाले वडालाई छिटै वातावरणमैत्री बनाउन सकिने वडाध्यक्ष मनोज रानाभाटले बताए ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij