Logo

Oct 13 2026 | २०८३, आश्विन २७गते

रियाद विमानस्थलमा दोस्रो दिन पनि हुथीको आक्रमण, थप एकको मृत्यु

रियाद विमानस्थलमा दोस्रो दिन पनि हुथीको आक्रमण, थप एकको मृत्यु

काठमाडौंः साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा लगातार दोस्रो दिन पनि नयाँ आक्रमण भएको छ। पछिल्लो आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै करिब एक दर्जन मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। यसअघि शनिबार यमनका इरान–समर्थित हुथी विद्रोहीहरूले गरेको भीषण आक्रमणमा १३ जनाको ज्यान जानुका साथै ३०० भन्दा बढी घाइते भएका थिए।

साउदी नेतृत्वको गठबन्धन सेनाका अनुसार आइतबार रियाद अन्तर्राष्ट्रिय विमानस्थलको ‘टर्मिनल ४’ लाई लक्षित गरी नाम नखुलेको क्षेप्यास्त्र प्रहार गरिएको थियो, जसका कारण विमानस्थलमा आगलागी भएको थियो। साउदी नागरिक उड्डयन प्राधिकरणका अनुसार घटनामा एक जनाको ज्यान जानुका साथै ११ जना घाइते भएको रोयटर्सले जनाएको छ। गठबन्धन सेनाका अनुसार साउदी हवाई रक्षा प्रणालीले किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल आसपासको क्षेत्रमा एउटा क्रुज मिसाइललाई आकासमै असफल पारिदिएको छ। यसका साथै देशको पूर्वी प्रान्तमा एउटा ड्रोन र खमिस मुसाइततर्फ प्रहार गरिएको एउटा बलिस्टिक मिसाइललाई समेत नष्ट गरिएको छ। सोमबार बिहानै दक्षिण क्षेत्रमा रहेको आभा सहरमा आपत्कालीन अलर्ट जारी गरिएको भए पनि पछि स्थिति सामान्य बनेको साउदी नागरिक रक्षा मन्त्रालयले जनाएको छ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले आइतबार एक टेलिभिजन सम्बोधनमार्फत शनिबारको आक्रमणको जिम्मेवारी लिएका छन्। उनले साउदी अरबको पूर्वी प्रान्तमा रहेको दम्मामस्थित विमानस्थल र साउदी तेल कम्पनी ‘साउदी अरामको’ का दुई वटा संरचनामा पनि आक्रमण गरिएको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij