बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकामा हिमपातपछि फसेका दुई जना पर्यटकमध्ये एक जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। भारी हिमपातका कारण बडीमालिकास्थित त्रिवेणी पाटनमा फसेका कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ का २१ वर्षीय सागर कार्कीको उद्धार गरिएको हो।
चार हजार दुई मिटर उचाइमा रहेको बडीमालिका माताको दर्शन गरेर फर्किने क्रममा हिमपात भएपछि कार्की शुक्रबारदेखि त्रिवेणी पाटनस्थित धर्मशालामा बसेका थिए।
प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले हिमपातमा फसेका युवकको हेलिकप्टरमार्फत उद्धार गरी सदरमुकाम मार्तडी पुर्याइएको बताए। रिजालका अनुसार ती युवकको स्वास्थ्य अवस्था सामान्य छ।
बडीमालिका क्षेत्रमा सम्पर्कविहीन कञ्चनपुरको बेदकोट नगरपालिका, दैजी घर भएका २० वर्षीय मनिष बोहराको खोजी कार्य जारी छ। उनको खोजीका लागि सदरमुकामस्थित सेनाको ईश्वरीबक्स गुल्मबाट आवश्यक जनशक्तिसहित हेलिकप्टर सो क्षेत्रमा प्रस्थान गरेको जानकारी प्रजिअ रिजालले दिए।
गत असोज ९ गते सदरमुकाम मार्तडीबाट सम्पर्कविहीन दुईसहित पाँच जनाको टोली बडीमालिकातर्फ प्रस्थान गरेको थियो। तीमध्ये पूर्वका तीन जना भने बडीमालिकाबाट फर्केर मार्तडी पुगिसकेका छन्।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij