काठमाडौँ :बाढी, पहिरो र अविरल वर्षाका कारण देशका मुख्य राजमार्गहरू नराम्ररी प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको शनिबार साँझ साढे ५ बजेसम्मको तथ्यांकअनुसार उपत्यकासहित विभिन्न प्रदेशका महत्वपूर्ण सडक खण्डहरू पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।
ललितपुरको बागमती गाउँपालिका वडा नम्बर ३ स्थित पाँदुर र टार्कुचेमा पहिरो खस्दा कान्ति लोकपथ पूर्ण रूपमा बन्द भएको छ। यसैगरी ललितपुर महानगरपालिका वडा नम्बर २ बल्खु सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध छ।
बागमती प्रदेशकै काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ९ पिनथली र वडा नम्बर ८ को गिम्दीबेसीमा पहिरो जाँदा बिपी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
मकवानपुरमा भने बाढी तथा पहिरोको सम्भावित उच्च जोखिमलाई मध्यनजर गर्दै कान्ति लोकपथअन्तर्गत हेटौंडाबाट ठिङ्गन हुँदै ललितपुर जाने सडक रातको समयमा पूर्ण रूपमा बन्द गरिएको छ। उक्त सडक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गरिएको हो। साथै कुलेखानी जलाशयको जलसतह पार हुन सक्ने जोखिम देखिएपछि भैसे-भिमफेदी-देउराली-कुलेखानी सडक खण्डमा पनि रातिको समयमा पूर्ण रूपमा रोक लगाइएको छ।
यसैगरी कोशी प्रदेशको खोटाङस्थित हलेसी तुवाचुङ नगरपालिका १ लाकुरीडाँडामा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका २ र ३ स्थित सोतिदेखि मान्बु जाने पुल बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ। मुस्ताङको घरपझोङ गाउँपालिका ४ जोमसोम र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ चैलेमा क्रमशः पहिरो र अविरल वर्षाका कारण जोमसोम-कोरोला सडक खण्ड एकतर्फी रूपमा मात्र सञ्चालनमा आएको छ।
देशका अन्य प्रमुख राजमार्गहरूमा पनि पहिरोका कारण आंशिक प्रभाव परेको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिका ७ कृष्णभिरमा पहिरो खस्दा पृथ्वी राजमार्ग एकतर्फी रूपमा सुचारु छ। लुम्बिनी प्रदेशको पाल्पास्थित रामपुर नगरपालिका १ मा पहिरो जाँदा कालिगण्डकी करिडोर एकतर्फी सुचारु भएको छ। कर्णाली प्रदेशको सुर्खेतस्थित बराहताल गाउँपालिका ७ औलिसेमा पहिरो खस्दा कर्णाली राजमार्ग पनि एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ। यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र निस्कन सम्बन्धित निकायले आग्रह गरेको छ।

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij