Logo

Oct 30 2026 | २०८३, कार्तिक १४गते

‘सुटिङमा जथाभावी स्क्रिप्ट चलाउँदा फिल्म बिग्रिन्छ’

‘सुटिङमा जथाभावी स्क्रिप्ट चलाउँदा फिल्म बिग्रिन्छ’

नेपाली चलचित्र उद्योगमा व्यावसायिक लेखकको संख्या न्यून रहेको र निर्देशकहरूको हतारोले फिल्म असफल हुने गरेको स्थापित लेखक प्रदीप भारद्वाजले बताएका छन् । भारद्वाजका अनुसार, चलचित्रको चाप अनुसार लेखक कम हुँदा अभाव देखिएको छ र लेखकहरूले आफ्नो मूल्य आफैंले बुझ्न नसक्दा पारिश्रमिक र महत्व कम पाएका छन् । उनले नयाँ पुस्तालाई प्राविधिक ज्ञानसँगै जन्मजात प्रतिभा र कल्पनाशीलता भएमा मात्र लेखन क्षेत्रमा आउन सुझाव दिएका छन् । प्रदीप भारद्वाज नेपाली चलचित्र उद्योगका एक स्थापित र व्यस्त लेखक हुन् । दुई दशकभन्दा लामो समयदेखि लेखनमा सक्रिय उनले टेलिफिल्म हुँदै फिचर फिल्म लेखन थालेका हुन् ।

उनले ‘कुसुमे रुमाल–२’, ‘छोडी गए पाप लाग्ला’, ‘हिफाजत’, ‘चङ्गा चेट’, ‘कृ’, ‘पञ्चेबाजा’, ‘वीर विक्रम २’, ‘झ्यानाकुटी’, ‘हात्तीछाप’, ‘सेटामोल’, ‘जन्ते बाख्रो’ लगायत थुप्रै फिल्मका कथा, पटकथा र संवाद लेखिसकेका छन् । छरिएका विचार र घटनाहरूलाई पर्दामा देखिने गरी ‘क्रमबद्ध’ रूपमा सजाउनु नै स्क्रिप्ट लेखन भएको बताउने उनी नेपाली चलचित्र क्षेत्रमा मुस्किलले ५–७ जना मात्र व्यावसायिक लेखक रहेको बताउँछन् । चलचित्र बिग्रिनुमा लेखकको भन्दा निर्देशकको दोष धेरै हुने उनको तर्क छ ।

चलचित्रका अन्य कुनै पनि प्राविधिक विधामा अब्बल नभएका व्यक्तिहरू सजिलै निर्देशक बन्ने र सुटिङमा लेखकसँग सल्लाह नै नगरी आफूखुसी स्क्रिप्ट हेरफेर गरिदिने परिपाटीले धेरै चलचित्र असफल भइरहेको उनी बताउँछन् । यिनै लेखक भारद्वाजसँग चलचित्र लेखनको विषयमा रातोपाटीका कुबेर गिरीले गरेको कुराकानीको सम्पादित अंश :

नेपाली चलचित्र क्षेत्रमा अहिले स्क्रिप्ट (पटकथा) लेखकहरूको अवस्था कस्तो छ ?
लेख्नेहरू त हुनुहुन्छ, निरन्तर लेखिराख्नुभएको पनि छ । पुराना लेखक पनि उत्तिकै सक्रिय हुनुहुन्छ र नयाँ भित्रिनेले पनि राम्रै काम गरिरहनुभएको छ । तर, इन्डस्ट्रीको आकार र निर्माण हुने चलचित्रको संख्या अनुसार हेर्ने हो भने व्यावसायिक रूपमा लेख्ने जम्मा १०–१२ जनामात्र हुनुहुन्छ । अहिले प्रविधिको विकाससँगै च्याट जीपीटी र एआईको सहयोग लिएर लेख्नेहरू पनि बढेका छन् । नयाँहरू पूर्ण रूपमा स्थापित भइसकेका छैनन्, त्यसैले अहिले नयाँ र पुराना लेखकहरूको मिश्रित अवस्था छ । यद्यपि, पूर्ण व्यावसायिक भनिएका लेखकहरूको संख्या भने ज्यादै न्यून छ ।

चलचित्र मेकर त लेखकको अभाव छ भनिरहेका हुन्छन् नि ?

अभाव त पक्कै हो । एउटा राम्रो स्क्रिप्ट तयार गर्न र राम्ररी काम गर्न कम्तीमा पनि ४ देखि ५ महिनाको समय दिनुपर्ने हुन्छ । एउटा उत्कृष्ट र व्यावसायिक लेखकले वर्षमा बढीमा तीन वटामात्र स्क्रिप्ट भ्याउन सक्छ । हामीकहाँ पूर्ण व्यावसायिक लेखकहरूको संख्या ५–६ जनामात्र छ । ती सबैले तीन–तीन वटै चलचित्र लेख्दा पनि वर्षमा जम्मा १८ देखि २५ वटा चलचित्रलाई मात्र स्क्रिप्ट पुग्छ । तर, हाम्रो इन्डस्ट्रीमा महिनामै १२–१५ वटा चलचित्र बन्छन् । चलचित्रको चाप ठुलो छ र लेखकहरू कम छन्, त्यसैले स्वाभाविक रूपमा बजारमा अभाव देखिएको हो ।

धेरै चलचित्र बनिरहँदा लेखकहरू किन बढ्न सकेनन् ?

लेखक बन्नु भनेको अरू प्राविधिक कामभन्दा निकै गाह्रो पेसा हो । तपाईंले चलचित्रका अन्य विधा हेर्नुभयो भने उत्कृष्ट क्यामेराम्यान, राम्रा सङ्गीतकार, राम्रा द्वन्द्व निर्देशक वा कलरलिस्टहरू जम्मा ५ देखि ७ जनामात्र स्थापित छन्, मुस्किलले १० जना होलान् । तर, इन्डस्ट्रीमा सबैभन्दा बढी संख्या निर्देशकको छ । ९० प्रतिशत निर्देशक त्यस्ता छन्, जो न राम्रा लेखक हुन्, न त राम्रा प्राविधिक । कुनै पनि विधामा अब्बल नभएका तर निर्मातालाई गफ दिएर फकाउन सक्ने मान्छेहरू सजिलै निर्देशक बनेका छन्, तर लेखक बन्न त्यस्तो सजिलो छैन ।

भएका स्क्रिप्ट लेखकहरूले पारिश्रमिक कम भयो र महत्त्व पनि पाइएन भन्ने गुनासो गरेका छन् नि ?
राम्ररी काम गर्ने हो भने लेखकहरूको पारिश्रमिक सन्तोषजनक नै छ । राम्रो काम गर्नेलाई निर्माताले राम्रै पारिश्रमिक दिन्छन् । जहाँसम्म पारिश्रमिक कम भयो वा महत्त्व दिएनन् भन्ने गुनासो छ । त्यो नितान्त लेखकहरूकै कमजोरी हो । आफ्नो मूल्याङ्कन आफैँले गर्न नसक्नु र जति पैसा दियो त्यतिमै काम गर्न तयार हुनु भनेको राइटरको गल्ती हो । मसँग कोही चलचित्र लिएर आउँछ र पारिश्रमिकमा कुरा मिल्दैन भने म त्यो फिल्म छोड्न सक्छु । ‘म यो पैसामा काम गर्दिनँ’ भन्न सक्नुपर्छ । त्यो भन्न नसक्नुचाहिँ लेखकहरूकै कमी–कमजोरी हो ।

कतिपय लेखकले लेखन वातावरण नै छैन भन्छन्, यसो भन्नुको अर्थ के हो ?

वातावरण नपाउनु भनेकोचाहिँ बजारको अवस्था र निर्माताको हतारो हो । कतिपय निर्देशकलाई आफ्नो क्षमतामा विश्वास हुँदैन । त्यसैले उनीहरू निर्माता भाग्छन् कि भन्ने डरले एकदमै हतारमा काम गराउन खोज्छन् । डिजिटल राइट्स र डिस्ट्रिब्युटरबाट कति पैसा आउँछ भनेर सुरुमै हिसाबकिताब गरेर हतारमा चलचित्र बनाउँदा लेखनका लागि समय नै दिइँदैन । यो समस्या लेखकलाई मात्र होइन, एडिटर र कलरलिस्टलाई पनि छ । हाम्रो इन्डस्ट्रीमा चलचित्र रिलिजको अघिल्लो दिनमात्र सेन्सर हुने डरलाग्दो अवस्था छ । सबैभन्दा ठुलो समस्या पोस्ट–प्रोडक्सनमा छ ।

पछिल्लो समय सफल फिल्मको जस स्क्रिप्टले पाइरहेको छ, तर निर्माता/निर्देशक भने स्टार कलाकारकै पछि कुदेको देखिन्छ नि ?
निर्माता र निर्देशकले लेखकको महत्त्व नबुझेका होइनन्, तर हाम्रोमा चलचित्र बनाउँदा १० तिरको हिसाबकिताब गरेर पैसा उठाउने क्राइटेरिया बनाइन्छ । फलानो कलाकार लिँदा डिस्ट्रिब्युटरले यति हाल्छ भन्ने सोचले उनीहरू स्टार कलाकारको पछि भाग्छन् । म स्टार कलाकार नभए पनि कथाको बलमा चलचित्र हिट गराउँछु भन्ने आँट धेरै निर्माता–निर्देशकसँग छैन । अर्कोतर्फ कलाकारको स्थिति पनि झन् डरलाग्दो छ । एउटा चलचित्र फ्लप हुने बित्तिकै उनीहरूको बजार भ्यालु घट्छ र निर्माताले साइन गरिसकेको फिल्मबाट पनि निकालेर अर्को कलाकार खोज्न थाल्छन् ।

कलाकारलाई ५०–६० लाखसम्म पारिश्रमिक दिइन्छ, तर स्क्रिप्ट लेखकलाई ५ लाख दिन पनि गाह्रो मान्छन् रे त ?
सबै कलाकारले ५०–६० लाख रुपैयाँ पाएका हुँदैनन् । त्यहाँ २ लाख वा ५ लाखमा हिरोको भूमिकामा खेल्छु भनेर हिँड्नेहरू पनि छन् । फिल्म चल्यो भने कलाकारको सेड्युल प्याक हुन्छ, अनि उनीहरूलाई जसरी पनि आफ्नो फिल्ममा अनुबन्ध गर्न निर्माताहरू बढी पैसा तिर्न तयार हुन्छन् । लेखकलाई कम पैसा दिने कुरामा चाहिँ मैले अघि भनेझैँ लेखककै कमजोरी हो । उनीहरूलाई काम चाहिएको हुन्छ, अनि थोरै पैसामा पनि काम गर्छन् । पछि आएर कम पैसा पाएँ भनेर गुनासो गर्नुको कुनै अर्थ छैन ।

फिल्म राम्रो भए जस निर्देशक र कलाकारले लिने, तर बिग्रिए अपजस जति लेखकलाई दिने गरिन्छ, हो ?
चलचित्र बिग्रियो भने सबैभन्दा ठुलो असर र घाटा कलाकार र निर्देशकलाई नै पर्छ । एकले अर्कालाई दोष दिनु त संसारभरकै चलन हो । लेखकले पनि ‘मेरो स्क्रिप्टअनुसार फिल्म बनाएन’ भनेर निर्देशकलाई दोष दिइरहेकै हुन्छन् । मुख्य समस्या भनेको हाम्रा अधिकांश निर्देशकहरू कुनै पनि विधामा अब्बल नभईकन आएका छन्, जसबाट राम्रो कुराको अपेक्षा नै गर्न सकिन्न । सुटिङमा लेखकसँग सल्लाह नै नगरी धेरै कुरा परिवर्तन गरिन्छ, जसले गर्दा स्क्रिप्ट र चलचित्र बिग्रिन्छ र असफल हुन्छ ।

चलचित्रको स्क्रिप्ट लेखेरैमात्र जीवन निर्वाह गर्न कत्तिको सहज छ ?

मज्जाले सजिलो छ, त्यस्तो गाह्रो केही पनि छैन । मैले नै यो क्षेत्रमा २० वर्षभन्दा बढी समय मेहनत गरिसकेँ र मेरो जीवन राम्रैसँग चलिरहेको छ । निरन्तर मेहनत गरेर राम्रो काम गर्दै जाने हो भने स्क्रिप्ट लेखेरै जीवन चलाउन एकदमै राम्रो र सहज अवस्था छ ।

तपाईं चलचित्र लेखन क्षेत्रमा कसरी आउनुभयो ?

यो क्षेत्रमा मसँग ‘गड गिफ्टेड’ (ईश्वरप्रदत्त) कला छ भन्ने लागेरै आएको हुँ । सुरुमा मैले टेलिफिल्महरू लेखेँ, त्यसपछि चलचित्र लेख्न थालेँ । काम गर्दै जाँदा, फिल्महरू हिट हुँदै गए र मान्छेले पत्याउँदै गए । कुन क्षेत्रमा आफूलाई सजिलो हुन्छ, काम गर्दै जाँदा त्यो बाटो आफैँ तय हुँदै जान्छ । मैले अहिलेसम्म कति वटा फिल्म लेखेँ भनेर ठ्याक्कै संख्या गनेको र हिसाब गरेको त छैन, तर थुप्रै लेखिसकेँ ।

तपाईंको बुझाइमा स्क्रिप्ट लेखन भनेको चाहिँ के हो ?

स्क्रिप्ट लेखन भनेको सबैभन्दा पहिला पात्रलाई आत्मसात् गर्नु हो । प्राविधिक रूपमा भन्नुपर्दा, पर्दामा देखिने कुराहरूको ‘प्ले’ लेख्नु नै स्क्रिप्ट हो । कुनै एउटा बिन्दुमा सोचिएको र छरिएर रहेका घटनाहरूलाई क्रमबद्ध रूपमा मिलाउने काम नै स्क्रिनप्ले (पटकथा) हो । कसैले ती घटनाहरूलाई राम्रो क्रमबद्ध रूपमा मिलाउन सक्छन् भने कसैले सक्दैनन् ।

आफैँले लेखेको चलचित्र हेर्दा तपाईंलाई कुन फिल्मबाट सबैभन्दा बढी सन्तुष्टि मिलेको छ ?

मलाई अहिलेसम्म आफूले लेखेको कुनै पनि फिल्मबाट पूर्ण सन्तुष्टि मिलेको छैन । किनभने चलचित्र एकातिर सोचिएको र लेखिएको हुन्छ, तर पर्दामा रिलिज भएर आउँदा त्यो अर्कै बनिसकेको हुन्छ । सुटिङमा लेखकको भाव नबुझी हेरफेर गरिन्छ । ती बनेका फिल्ममध्ये कुनै हिट हुन्छन् त कुनै फ्लप हुन्छन् । आफूले लेखेको कुरा हुबहु पर्दामा नआउँदा पूर्ण सन्तुष्टि मिल्दैन ।

लेखकका चुनौतीहरू के–कस्ता छन् ?
 

लेखकको मुख्य चुनौती भनेको पूर्ण रूपले समय नपाउनु, उचित पारिश्रमिक नपाउनु र विभिन्न क्राइटेरियाको साँघुरो घेरामा बाँधिएर लेख्नुपर्ने बाध्यता हो । स्थापित लेखक भएको हिसाबले लेखनमा आउन चाहने नयाँ पुस्तालाई के सुझाव दिनुहुन्छ ?

यस क्षेत्रमा आउन प्राविधिक कुरा सिकेरमात्र पुग्दैन, आफूसँग जन्मजात प्रतिभा र कल्पनाशीलता हुनैपर्छ । प्राविधिक ज्ञान त पछि सिक्न सकिन्छ, तर कथा बुन्ने सुगन्ध भने प्राकृतिक रूपमै आफूभित्र हुनुपर्छ । अध्ययन र रिसर्चसँगै त्यो प्राकृतिक खुबी छ भनेमात्र यस क्षेत्रमा आउनुहोला ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij