म्याग्दी : असोज दोस्रो साताको बाढीपहिरोले म्याग्दीमा सरकारी कार्यालयका भवन र सामग्रीमा क्षति पुर्याएपछि सेवा प्रवाह प्रभावित भएको छ ।बाढीले कार्यालयका कागजात, अभिलेख, कम्प्युटर, फर्निचर र अन्य उपकरण नष्ट गरेपछि नियमित कामकाज सञ्चालन गर्न समस्या भएको हो ।
बेनी नगरपालिका–७ मा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, डिभिजन वन कार्यालय र बेनी नगरपालिकाको भवनमा असोज ११ गते बिहान बराहपाखोबाट आएको बाढी पसेर क्षति पुर्याएको थियो । बाढीले कार्यालयका भुइँतलामा रहेका कोठा पुरिएपछि सेवा प्रवाह प्रभावित भएको हो ।
केन्द्रले नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । तर, कार्यालयका महत्त्वपूर्ण कागजात, अभिलेख र उपकरण नष्ट भएकाले काम गर्न कठिन भएको पशु विकास अधिकृत गोपाल गिरीले बताए ।
‘नयाँ भवन निर्माण पूरा गरेर कार्यालय सञ्चालनमा ल्याएका छौँ । तर, कागजात, अभिलेख, औजार, उपकरण र फर्निचर बाढीले नष्ट गरेकाले समस्या भएको छ,’ उनले भने, ‘यसअघि कार्यालय रहेका दुई भवनका भुइँतलाका सातवटा कोठामा रहेका सबै सामग्री र कागजात नष्ट भएका छन् ।’
पशु अस्पताल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले दुई वर्षअघि बेनी–७ मङ्गलाघाटमा ४७ लाख रुपैयाँ खर्चेर सातकोठे एकतले भवन निर्माण गरेको थियो । पुरानो कार्यालय भवन बाढीले पुरिएपछि सोही भवनबाट सेवा प्रवाह सुरु गरिएको हो । कार्यालय परिसरमा पार्किङ गरेर राखिएका सवारीसाधनसमेत बाढीमा पुरिएका थिए ।
भेटेरिनरी अस्पताल र डिभिजन वन कार्यालय परिसरमा थुप्रिएको माटो पन्छाउने काम अझै सकिएको छैन । माटो र गेग्रान हटाउन समय लाग्दा कार्यालयका भौतिक संरचना पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिन भएको छ ।
बाढीले बेनी नगरपालिकाको भवनमा पनि क्षति पुर्याएको थियो । भवनको भुइँतलामा रहेका कृषि र पशु सेवा शाखाले माटो पन्छाएर सेवा सुरु गरेका छन् । तर, बाढीले पुर्याएको क्षतिका कारण भेटेरिनरी र वन कार्यालयको नियमित कामकाज सहज हुनसकेको छैन ।
डिभिजन वन कार्यालयको भुइँतलामा रहेको योजना शाखाका तीनवटा कोठामा पनि बाढीले क्षति पुर्याएको थियो । सवारीसाधन पार्किङ गर्ने ग्यारेजसमेत भत्किएको छ । भुइँतलाका शाखा र कार्यकक्षलाई नजिकै रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालयको एकाइ भवनमा सारेर काम सुरु गरिएको डिभिजनल वन अधिकृत वसन्तकेशव अधिकारीले बताए ।
‘जेनतेन कार्यकक्ष बनाएर काम सुरु गरेका छौँ । तर, फर्निचर, कम्प्युटर, अभिलेख, प्रिन्टर र कागजात नष्ट भएकाले समस्या भएको छ,’ उनले भने, ‘क्षतिग्रस्त भवन मर्मतका लागि बजेटको अभाव पनि अर्को चुनौती बनेको छ ।’
कार्यालयका भवनमा क्षति पुग्नुका साथै महत्त्वपूर्ण अभिलेख नष्ट हुँदा सेवा प्रवाहमा थप चुनौती देखिएको छ । नयाँ ठाउँमा कार्यकक्ष बनाएर काम सुरु गरे पनि आवश्यक उपकरण र कागजातको अभावमा नियमित काम गर्न कठिन भएको छ । क्षतिग्रस्त संरचनाको मर्मत र नष्ट भएका सामग्रीको व्यवस्थापन गर्न नसक्दा सरकारी कार्यालयको सेवा प्रवाहमा बाढीको असर कायमै छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij