Logo

Oct 28 2026 | २०८३, कार्तिक १२गते

दुर्गमका नागरिकले समान सेवासुविधा पाउनुपर्छ : अध्यक्ष साम्पाङ

दुर्गमका नागरिकले समान सेवासुविधा पाउनुपर्छ : अध्यक्ष साम्पाङ

हुम्ला :  श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन्। अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा उनले उक्त कुरा बताएका हुन्।

उनले भने, ‘राज्यले उपलब्ध गराउने सेवा तथा सुविधाको असमान वितरण भएका कारण शिक्षा, स्वास्थ्य र यातायातलगायत आधारभूत सेवासुविधा सहर केन्द्रित छ। यसैका कारण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ।’ 


नागरिकलाई समयअनुसारका आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके मानिसहरू जुनसुकै ठाउँमा पनि बस्न सक्ने उनले बताए।

सो अवसरमा उनले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। सांसद साम्पाङको यो भ्रमण सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माणसँग जोडिएको बताइएको छ। 

उक्त स्थानमा स्थानीय नागरिक जोखिम मोलेर तुइनको सहायताले नदी पार गर्न बाध्य भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका थिए।

उक्त स्थानमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थाबाट काम अघि बढ्ने प्रक्रिया तय भइसकेको छ। यस्तो अवस्थामा पुल निर्माणको वास्तविक अवस्था, काम सुरु हुने समय र स्थानीयले तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय चासोको केन्द्रमा रहेको छ। 

दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा आधारभूत सेवाको अभावले नागरिकले वर्षौँदेखि विभिन्न समस्या भोग्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij