सप्तरी : मधेश प्रदेशको सप्तरी लगायतका जिल्लाका ग्रामीण भेगमा कृषिजन्य सामग्री ओसार्न अझै पनि गोरुगाडाकै भर पर्नुपरेको छ।मुख्य अन्नबाली धान, मकै र गहुँ लगायतका उत्पादन खेतबारीबाट घर पुर्याउन ग्रामीण क्षेत्रमा गोरुगाडा (बैलगाडा) प्रयोग हुँदै आएको छ। देशमा सुविधायुक्त नवीनतम यातायाताका साधन र प्रविधिको विकास भए पनि अझै पनि कतिपय ग्रामीण क्षेत्रमा कृषिजन्य सामग्री ओसार्ने गोरुगाडा निर्विकल्प साधनको रूपमा प्रयोग भइरहेको छ।
महदेवा गाउँपालिका–५ भगपतपुरका दशरथमण्डल अहिले पनि बैलगाडामा सामान आोसारिरहेको बताउँछन्। उनले भने, “दुई दशक अघिसम्म पनि अधिकांश घरमा दुईवटा गोरु र बैलगाडा अनिवार्य हुन्थ्यो। कतै यात्रा गर्न, सामान ओसार्न, जन्ती जान, बेहुली ल्याउन पनि बैलगाडाकै प्रयोग हुन्थ्यो।”
तराईका जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि हलो जोत्न, माटो सम्याउन, पराल दाइ गर्न गोरुकै प्रयोग हुँदै आएको राजविराज नगरपालिका–१३ का किसुनदेव यादव बताउँछन्। शहरी र सुगम क्षेत्रमा भने खेत जोत्न, माटो सम्याउन, पराल दाइ गर्न ट्याक्टर प्रयोग हुँदै आएको छ।
उखु, धान, पराल, मल, रहरी, चना, तोरीलगायत कुटानी–पिसानीका बस्तु गोरुगाडामा राखेर ओसारपसार गर्ने तिरहुत गाउँपालिका गोइठीकी मेरिना देव बताउँछिन्। उनले भनिन्, “बैलगाडा विगतमा ग्रामीण क्षेत्रको ऐतिहासिक र महत्त्वपूर्ण सवारी हो।”
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij