चितवन : दसैँको बिदामा पनि विशेषज्ञ स्वास्थ्य सेवा दिँदै आएको चितवन मेडिकल कलेज (सिएमसी) को आकस्मिक कक्षबाट दैनिक करिब १५० जनाले सेवा लिइरहेका छन् । अस्पतालका अनुसार आकस्मिक उपचारका लागि आउने बिरामीमा सवारी दुर्घटनामा परेका, हृदयघात, पक्षघात (स्ट्रोक) तथा खानपानसँग सम्बन्धित समस्या भएका व्यक्तिको सङ्ख्या तुलनात्मक रूपमा बढी छ ।
सिएमसीका कलेजो विभागका प्राध्यापक डा. दयाराम लम्सालले आफ्नो करिब तीन दशकको आकस्मिक उपचार सेवाको अनुभव सुनाउँदै चाडपर्वमा खानपान र जीवनशैलीमा सावधानी नअपनाउँदा धेरै मानिस अस्पताल पुग्नुपर्ने अवस्था आउने गरेको बताउनुभयो ।
बडादसैँका समयमा सवारी दुर्घटनाका घाइते, मुटुरोगी, पक्षघात भएका, विषाक्त खाना सेवन गरेका तथा घाँटीमा हड्डी अड्किएका बिरामी अस्पताल आउने गरेको उहाँले बताउनुभयो । खाना पकाउँदा जलेका, जङ्गली च्याउ खाएर बिरामी परेका, घरको छतबाट लडेका, करेन्ट लागेका तथा दीर्घरोगको नियमित औषधि सेवन छुटाएका व्यक्तिमा पनि स्वास्थ्य समस्या देखिने गरेको उहाँको भनाइ छ ।
चाडपर्वमा मादक पदार्थको अत्यधिक सेवन दुर्घटना र झैझगडाको प्रमुख कारणमध्ये एक रहेको डा. लम्सालले बताउनुभयो । मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनामा पर्ने र आपसी झैझगडामा घाइते भएर अस्पताल आउने बिरामीसमेत उल्लेख्य हुने उहाँले जानकारी दिनुभयो । ट्राफिक कारबाहीबाट बच्न मात्र नभई आफ्नै सुरक्षाका लागि पनि मादक पदार्थ सेवन गरेर सवारी नचलाउन उहाँले आग्रह गर्नुभयो ।
चाडपर्वमा खानपान र रमाइलोमा व्यस्त हुँदा दीर्घरोगीले नियमित औषधि छुटाउने समस्या पनि देखिने गरेको छ । अत्यधिक चिल्लो पदार्थ, मासुजन्य परिकार, धूमपान र मादक पदार्थको सेवन तथा पर्याप्त निद्रा नपुग्दा हृदयघात र पक्षघातको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
हृदयघात र पक्षघात भएका बिरामीलाई समयमै अस्पताल पुर्याउन सके उपचारबाट बचाउने सम्भावना बढ्ने डा. लम्सालले बताउनुभयो । उहाँका अनुसार हृदयघात भएको एक घण्टाभित्र र पक्षघात भएको तीन घण्टाभित्र अस्पताल पुर्याउन सके बिरामीलाई बचाउने सम्भावना धेरै हुन्छ ।
चाडपर्वमा पनि आकस्मिक उपचारलाई प्रभावकारी बनाउन सिएमसीले मुटु, न्युरो र रेडियोलोजीसम्बन्धी विशेषज्ञ टोली तयारी अवस्थामा राखेको जनाएको छ ।
आकस्मिक उपचारमा कार्यरत डा. रविन बमले पक्षघातका सङ्केत देखिए तत्काल अस्पताल आउन आग्रह गर्नुभयो । शरीरको कुनै भाग नचल्ने, जिब्रो लाटो हुने, मुख बाङ्गिने वा हातखुट्टा चलाउन नसक्ने लक्षण देखिए चाडपर्व वा बिदाको कारण उपचारमा ढिलाइ गर्न नहुने उहाँको भनाइ छ ।
त्यस्तै, छाती दुख्ने, छाती भारी हुने वा सास फेर्न गाह्रो हुने समस्या देखिए तत्काल अस्पताल जान चिकित्सकले सुझाव दिएका छन् । चाडपर्वमा धेरै चिल्लो र मासुजन्य परिकार खाएको भन्दै शरीरले धान्न नसक्ने गरी कडा व्यायाम नगर्न पनि उनीहरूले आग्रह गरेका छन् ।
चिकित्सकहरूले दसैँको रमाइलोसँगै खानपान, नियमित औषधि सेवन, पर्याप्त निद्रा र सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरेका छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij