पोखरा : नेपालमा पर्यटक भित्र्याउनु मात्रै पर्याप्त छैन। उनीहरूको बसाइँ लम्ब्याएर स्थानीय अर्थतन्त्रमा खर्च बढाउनु पनि उत्तिकै महत्वपूर्ण छ। यही उद्देश्यसहित पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने ‘सिल्भर ट्रायङ्गल’ अवधारणा अघि बढाइएको छ।प्राकृतिक सौन्दर्य, तालतलैया, हिमाली दृश्य र साहसिक पर्यटनका लागि पोखरा, वन्यजन्तु, जैविक विविधता र सांस्कृतिक अनुभवका लागि चितवन तथा भगवान् गौतम बुद्धको जन्मस्थल र बौद्ध सम्पदाका लागि लुम्बिनीलाई चिनिन्छ। ‘सिल्भर ट्रायङ्गल’ले यी सहरलाई प्रतिस्पर्धीका रूपमा नभई एकअर्काका पूरक पर्यटन साझेदारका रूपमा विकास गर्दै पर्यटकको बसाइँ र खर्च बढाउने साझा रणनीति अघि सारेको छ। पोखरा महानगर, चितवनको भरतपुर महानगर र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धन तथा विकासका लागि २०८३ जेठ २६ गते पोखरामा समझदारी पत्रमा हस्ताक्षर भएको थियो। त्यसपछि तीनवटै स्थानीय तहले अवधारणालाई नीति, योजना तथा कार्यक्रममा समेट्दै संयुक्त रूपमा कार्यान्वयन गर्ने पहल अघि बढाएका हुन्।
समझदारीअनुसार संयुक्त पर्यटन प्याकेज विकास, वार्षिक रूपमा पालैपालो पर्यटन मेला अर्थात् ट्राभल मार्ट आयोजना, संयुक्त प्रचार सामग्री उत्पादन, डिजिटल सूचना बोर्ड स्थापना, व्यवसायीबीच सञ्जाल विस्तार र अन्तरप्रदेशीय पर्यटन कनेक्टिभिटी सुधार गर्ने योजना रहेको छ। यसैक्रममा भरतपुर महानगरको आयोजनामा सरोकारवालाबीच भएको पछिल्लो अन्तरक्रियाले अवधारणालाई व्यवहारमा उतार्न स्थानीय सरकार, निजी क्षेत्र र पर्यटन व्यवसायीबीच सहकार्यलाइ जोड दिएर कार्यक्रम गरिएको छ।लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी प्रोत्साहन गर्नुपर्ने बताइन्।पोखरा महानगरका प्रमुख धनराज आचार्यका अनुसार सिल्भर ट्रायङ्गल पर्यटनका माध्यमबाट तीनवटै सहरको अर्थतन्त्र समृद्ध बनाउने साझा प्रयास हो। उनले नेपाल आउने पर्यटकलाई पोखरा, चितवन र लुम्बिनी एकै यात्रामा घुम्न सक्ने वातावरण बनाउन यातायात सम्पर्कदेखि पर्यटकीय सेवा सुविधासम्म विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
'सहकार्यलाई समझदारी पत्रमा मात्र सीमित राखेर पुग्दैन। व्यवसायदेखि व्यवसाय (बीटूबी) र सरकारदेखि सरकार (जीटूजी) तहको समन्वयलाई ठोस कार्ययोजनामा रूपान्तरण गर्न आवश्यक छ,' आचार्यले तीनवटै स्थानीय तहले आ-आफ्ना नीति तथा कार्यक्रममार्फत अवधारणालाई अघि बढाउनु यसको प्रारम्भिक आधार भएको बताए। यस अवधारणाको महत्व तीन सहरबीच पर्यटक आदानप्रदानमा मात्र सीमित छैन। स्थानीय होटल, रेस्टुरेन्ट, यातायात व्यवसायी, ट्राभल एजेन्सी, होमस्टे, हस्तकला व्यवसायी र स्थानीय उत्पादनका विक्रेतालाई एउटै पर्यटन मूल्य श्रृङ्खलामा जोड्नु रहेको उनको भनाइ छ।त्यसैगरी भरतपुर महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले तीनवटै गन्तव्यको विशिष्टता र सम्भावनालाई एकीकृत रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका छन्। 'प्राकृतिक सम्पदा, संस्कृति, धार्मिक स्थल र साहसिक गतिविधिका दृष्टिले तीनवटै क्षेत्रसँग पर्यटकलाई आकर्षित गर्ने पर्याप्त आधार छ। यी विशेषतालाई संयुक्त प्रचार सामग्री, ब्रोसर र पर्यटन प्याकेजमार्फत बजारसम्म पुर्याउन सके पर्यटकलाई एउटा गन्तव्यबाट अर्को गन्तव्यतर्फ आकर्षित गर्न सहज हुनेछ,' अधिकारीले भने।
उनका अनुसार सिल्भर ट्रायङ्गलमा पर्ने अन्य पालिकालाई समेत क्रमशः समेटेर पर्यटन सञ्जाल विस्तार गर्ने योजना छ। यसले प्रमुख सहरमा मात्र नभई आसपासका धार्मिक, सांस्कृतिक र प्राकृतिक गन्तव्यमा पनि पर्यटकीय गतिविधि विस्तार गर्न मद्दत गर्न सक्छ।लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक प्रमुख कल्पना हरिजनले पर्यटन विकासका लागि निजी क्षेत्रको लगानी प्रोत्साहन गर्नुपर्ने बताइन्। उनले लुम्बिनीको पर्यटनलाई धार्मिक यात्रामा मात्र सीमित नराखी ध्यान, शान्ति, बौद्ध संस्कृति, सम्पदा र शैक्षिक भ्रमणसँग जोड्न सकिने धारणा राखिन्। 'लुम्बिनीको पर्यटनलाई धार्मिक यात्रामा मात्र सीमित नराखी ध्यान, शान्ति, बौद्ध संस्कृति, सम्पदा र शैक्षिक भ्रमणसँग जोड्न सकिन्छ,' उनले भनिन्।
उनका अनुसार पोखरा, भरतपुर र लुम्बिनीबीच सहज यातायात सम्पर्क स्थापित गर्न सके पर्यटकले एउटै यात्रामा विविध पर्यटन अनुभव लिन सक्ने छन्। यसका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो तथा प्रभावकारी सञ्चालन, नियमित अन्तर्राष्ट्रिय उडान र यातायात सम्पर्क विस्तार आवश्यक रहेको उनले बताइन्। साथै, बजारको माग र व्यावसायिक सम्भाव्यताका आधारमा सम्बन्धित निकायबीच समन्वय गरी स्पष्ट योजनालाई कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिइन्।
नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पर्यटन प्रवर्द्धनमा डिजिटल मार्केटिङ र एकीकृत प्रचार रणनीतिको महत्त्वमा जोड दिएका छन्। पर्यटन बोर्डको प्रवर्द्धनात्मक भूमिकालाई प्रभावकारी बनाउन पोखरा, भरतपुर र लुम्बिनीका प्रमुख आकर्षण समेटिएका डिजिटल सामग्री, छोटा भिडियो तथा संयुक्त प्रचार सामग्रीमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सिल्भर ट्रायङ्गलको पहिचान विस्तार गर्न सकिने उनको भनाइ छ। पर्यटकलाई गन्तव्यको जानकारी, भ्रमण प्याकेज र उपलब्ध सेवाबारे सहज रूपमा सूचना उपलब्ध गराउन सके तीनवटै सहरलाई समेटेर पर्यटक आकर्षित गर्न सहयोग पुग्ने देखिन्छ।
पोखरा भ्रमण वर्ष २०२५ का संयोजक तथा सिल्भर ट्रायङ्गल अभियानका संयोजक गोपीबहादुर भट्टराईले पर्यटनलाई एउटै सहरको सीमाभित्र सीमित गरेर हेर्न नहुने बताए। पोखरा, भरतपुर र लुम्बिनीलाई एउटै पर्यटन यात्रामा जोड्न सके पर्यटकले प्रकृति, संस्कृति, अध्यात्म, वन्यजन्तु र जैविक विविधताको फरक-फरक अनुभव लिन सक्ने उनको भनाइ छ। विविध अनुभव समेटिएका पर्यटन उत्पादनले अन्तर्राष्ट्रिय बजारमा आकर्षण बढाउन सक्ने भएकाले तीनवटै सहरबीचको सहकार्य महत्त्वपूर्ण रहेको उनले बताए।
भट्टराईले निजी क्षेत्र र सरकारबीच सहकार्य बढाउँदै प्राकृतिक विपद् वा अन्य प्रतिकूल परिस्थितिका कारण पर्यटनमा पर्ने असर न्यूनीकरण गर्न नेपाल सुरक्षित गन्तव्य रहेको सन्देश अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउनुपर्नेमा जोड दिए। भरतपुर महानगरको कार्यालय परिसरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यबारे जानकारी दिने डिजिटल सूचना बोर्ड सञ्चालनमा ल्याउने तयारीलाई उनले समझदारी कार्यान्वयनको उदाहरणका रूपमा उल्लेख गरे। यस्ता सूचना बोर्ड तीनवटै सहरमा विस्तार गर्न सके पर्यटकलाई आफ्नो यात्राको अर्को गन्तव्यबारे जानकारी लिन सहज हुने उनको भनाइ छ।भरतपुर महानगरका पर्यटनविज्ञ सल्लाहकार विश्वराज सुवेदीले पोखरा-चितवन-लुम्बिनीलाई जोडेर सातदेखि १० दिनसम्मका पर्यटन प्याकेज विकास गर्न सकिने बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्यटकको आगमन संख्या बढाउनु मात्रै पर्यटन सफलताको पर्याप्त मापदण्ड नभएको बताउँदै उनीहरूको बसाइँ अवधि र खर्च बढाउने योजना आवश्यक रहेको बताए। 'पर्यटक कति दिन बस्छन्, कति गन्तव्य घुम्छन् र स्थानीय उत्पादन तथा सेवामा कति खर्च गर्छन् भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ,' उनले भने।पोखरा आएका पर्यटकलाई चितवनको वन्यजन्तु अनुभव र लुम्बिनीको आध्यात्मिक यात्रासँग जोड्न सके बसाइँ लम्ब्याउन सकिने उनको भनाइ छ। त्यसका लागि यातायात, आवास, भोजन, गाइड, टिकट र अनलाइन बुकिङसमेत समेटिएको एकीकृत पर्यटन प्याकेज विकास गर्नुपर्नेमा उनले जोड दिए।
भरतपुर महानगरका पर्यटनविज्ञ सल्लाहकार विश्वराज सुवेदीले पोखरा-चितवन-लुम्बिनीलाई जोडेर सातदेखि १० दिनसम्मका पर्यटन प्याकेज विकास गर्न सकिने बताए। उनका अनुसार पोखराको प्राकृतिक सौन्दर्य र साहसिक गतिविधि, चितवनको वन्यजन्तु तथा स्थानीय संस्कृति र लुम्बिनीको बौद्ध सम्पदा एवं आध्यात्मिक अनुभवलाई एउटै यात्रामा समेट्न सकिन्छ। पर्यटकको रुचि, बजेट र उपलब्ध समयअनुसार फरक-फरक प्याकेज बनाएर यो अवधारणालाई व्यावहारिक र प्रभावकारी बनाउन सकिने उनको भनाइ छ।
एनआरएनएका प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष सोम सापकोटाले विदेशमा रहेका नेपालीको सञ्जाललाई नेपालको पर्यटन प्रवर्द्धनमा जोड्न सके अन्तर्राष्ट्रिय बजारमा नेपाली गन्तव्यको पहिचान विस्तार गर्न सकिने बताए। पोखरा, भरतपुर र लुम्बिनीलाई एकीकृत पर्यटन प्याकेजका रूपमा प्रचारप्रसार गर्न सके विदेशी पर्यटक आकर्षित गर्न र नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा थप स्थापित गर्न सहयोग पुग्ने अपेक्षा सहित आफु यस अवधारणालाई सफल बनाउन पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
समझदारीदेखि कार्यान्वयनसम्मको चुनौती
पोखरा, भरतपुर र लुम्बिनीबीच भएको समझदारीले ‘सिल्भर ट्रायङ्गल’ अवधारणालाई संस्थागत आधार दिएको छ। वार्षिक नीति तथा कार्यक्रममा अवधारणालाई समेट्ने, पालैपालो पर्यटन मेला आयोजना गर्ने, संयुक्त पर्यटन प्याकेज विकास गर्ने, डिजिटल प्रचारप्रसार विस्तार गर्ने र निजी क्षेत्रबीच व्यावसायिक सञ्जाल निर्माण गर्ने प्रतिबद्धता यसको सकारात्मक पक्ष हो।तर, अबको मुख्य चुनौती यी प्रतिबद्धतालाई समयसीमा, स्पष्ट जिम्मेवारी र मापनयोग्य उपलब्धिसहित कार्यान्वयनमा उतार्नु हो। तीनै सहरका पर्यटन व्यवसायीलाई एउटै सञ्जालमा आबद्ध गर्ने, नियमित यातायात सम्पर्क सुनिश्चित गर्ने, संयुक्त प्रचार अभियान सञ्चालन गर्ने तथा पर्यटकको बसाइँ अवधि र खर्चसम्बन्धी तथ्याङ्क विश्लेषण गर्ने कार्यलाई प्राथमिकता दिनुपर्छ।
‘सिल्भर ट्रायङ्गल’को सफलता तीन सहरलाई नक्सामा जोड्नुमा मात्र सीमित छैन। पर्यटकले सहज यात्रा गर्न पाउने, विविध अनुभव लिन सक्ने, स्थानीय उत्पादन तथा सेवामा खर्च गर्ने र सन्तुष्ट भएर फर्कने वातावरण निर्माण गर्नु यसको वास्तविक उपलब्धि हुनेछ। पोखरा, भरतपुर र लुम्बिनीले आफ्ना विशिष्टतालाई साझा पर्यटन उत्पादनमा रूपान्तरण गर्न सके यो अवधारणा नेपालको पर्यटन बजार विस्तार गर्ने प्रभावकारी माध्यम बन्न सक्छ। त्यसका लागि आकर्षक प्रचारसँगै गुणस्तरीय सेवा, पूर्वाधार, यातायात, लगानी र संस्थागत सहकार्यलाई पनि उत्तिकै प्राथमिकता दिन आवश्यक छ।
अन्ततः पर्यटनको सफलता कति पर्यटक आए भन्ने संख्याले मात्र मापन हुँदैन; उनीहरूले कति समय बिताए, कति खर्च गरे र त्यसबाट स्थानीय समुदायले कति लाभ पाए भन्ने कुराले पनि निर्धारण गर्छ। ‘सिल्भर ट्रायङ्गल’को वास्तविक परीक्षा तीन सहरबीचको समझदारीलाई व्यवहारमा उतार्दै यी उपलब्धि हासिल गर्न सक्नुमा निर्भर रहने छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij