Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

गण्डकी प्रदेश खुलातर्फ तेस्रो स्थान हासिल गर्दै खुमा प्रसाद अर्याल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

गण्डकी प्रदेश खुलातर्फ तेस्रो स्थान हासिल गर्दै खुमा प्रसाद अर्याल कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाण्डौं : मेडिकल व्यवसायी तथा उद्यमी खुमा प्रसाद अर्याल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको छ । कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश खुलातर्फ तीन पदका लागि भएको निर्वाचनमा अर्यालले २ हजार २८७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेर केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको हो ।स्याङ्जा क्षेत्र नम्बर २ का स्थायी बासिन्दा अर्याल लामो समयदेखि कांग्रेसको राजनीति, स्वास्थ्य शिक्षा, उद्योग तथा सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ। उहाँले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । पार्टीभित्र उहाँले कार्यवाहक कोषाध्यक्ष र आर्थिक संयोजकको जिम्मेवारीसमेत सम्हालिसक्नु भएको छ । उहाँ यसअघि नेपाली कांग्रेसका तर्फबाट समानुपातिक संविधानसभा सदस्यका उम्मेदवारसमेत बन्नु भएको थियो ।

पेशागत रूपमा चार्टर्ड एकाउन्टेन्ट अर्याल स्वास्थ्य तथा मेडिकल शिक्षा क्षेत्रमा लगानी गर्ने व्यवसायीका रूपमा परिचित हुनुहुन्छ । उहाँ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस), भैरहवा, गण्डकी मेडिकल कलेज, पोखरा, नेपालगञ्ज मेडिकल कलेज, लर्ड बुद्ध मेडिकल कलेज तथा सञ्जीवनी मेडिकल कलेजलगायतका स्वास्थ्य शैक्षिक संस्थामा लगानीकर्ताका रूपमा संलग्न हुनुहुन्छ ।स्वास्थ्य र शिक्षाबाहेक अर्यालको लगानी कृषि, कुखुरापालन, खाद्य उत्पादन तथा अन्य उत्पादनमूलक क्षेत्रमा पनि विस्तार भएको छ। उहा्रँले स्याङ्जामा आधुनिक पोल्ट्री फार्म र जनकपुरमा लेयर्स फार्म सञ्चालन गर्नुभएको छ । विभिन्न व्यवसायमार्फत रोजगारी सिर्जना गर्नुका साथै उहाँले ‘खुमा अर्याल फाउन्डेसन’ मार्फत शिक्षा, स्वास्थ्य, रोजगारी र खेलकुदका क्षेत्रमा सामाजिक गतिविधिसमेत सञ्चालन गर्दै आउनु भएको छ ।कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्नु भएका अर्यालले आफ्नो व्यावसायिक अनुभवलाई पार्टीको आर्थिक व्यवस्थापन, आर्थिक सुशासन, उद्यमशीलताको विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका नीतिगत विषयमा उपयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट