Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

साउदी अरब–हुथी संघर्ष चर्कियो, अरामकोको परिसरमा मिसाइल प्रहार

साउदी अरब–हुथी संघर्ष चर्कियो, अरामकोको परिसरमा मिसाइल प्रहार

काठमाडौंः साउदी अरब र यमनका इरानसमर्थित हुथी विद्रोहीबीचको संघर्ष थप चर्किएको छ। गएराति साउदी अरबको पूर्वी सहर धहरानस्थित विश्वकै ठूला तेल कम्पनीमध्ये एक साउदी अरामकोको प्रशासनिक परिसरमा ब्यालिस्टिक मिसाइल आक्रमण भएको छ।

साउदी सरकारी समाचार संस्था एसपीएका अनुसार ऊर्जा मन्त्रालयका एक अधिकारीले आक्रमणपछि भवनमा आगलागी भएको जानकारी दिएका छन्। घटनामा मानवीय क्षतिको खबर भने छैन। कम्पनीसँग सम्बन्धित एक स्रोतले मिसाइल आक्रमणबाट कार्यालय भवनका माथिल्ला तीन तलामा क्षति पुगेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। यद्यपि, उपलब्ध विवरणमा आक्रमण कसले गरेको हो भन्नेबारे स्वतन्त्र पुष्टि भएको छैन।

अरामकोको उक्त परिसर कम्पनीको प्रमुख सञ्चालन केन्द्रमध्ये एक हो। साउदी अरबको अर्थतन्त्रको महत्त्वपूर्ण आधार मानिने कम्पनीको सञ्चालन सञ्जालमा तेलका कुवा, पाइपलाइन, प्रशोधन केन्द्र र निर्यात टर्मिनल समावेश छन्।

यसैगरी, साउदी नेतृत्वको गठबन्धनले धहरानमाथि रोकिएको मिसाइलका टुक्रा आवासीय क्षेत्रमा खसेको जनाएको छ। तर, त्यसबाट भएको क्षतिबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

अधिकारीहरूले राजधानी रियादसहित देशका दक्षिणी क्षेत्रमा पनि मिसाइल र ड्रोनलाई आकाशमै रोकेर नष्ट गरिएको बताएका छन्। यसअघि मंगलबार साउदी युवराज मोहम्मद बिन सलमानको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले हुथी विद्रोहीलाई निरन्तर आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो।

रिपोर्टअनुसार पछिल्लो एक सातादेखि हुथी विद्रोहीले साउदी अरबका महत्त्वपूर्ण संरचनालाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरिरहेका छन्। तीमध्ये राजधानी रियादको विमानस्थल पनि रहेको छ।

शनिबार रियाद विमानस्थलमा भएको ब्यालिस्टिक मिसाइल आक्रमणमा १३ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। उक्त घटनालाई पछिल्लो एक दशकमा साउदी अरबमाथि भएका घातक आक्रमणमध्ये सबैभन्दा गम्भीर घटनाका रूपमा रिपोर्टमा उल्लेख गरिएको छ। निरन्तरका आक्रमणले देशको हवाई सेवासमेत प्रभावित भएको बताइएको छ।

धहरानमा आक्रमण हुनुअघि हुथी प्रवक्ता याह्या सरीले यमनको राजधानी सना (साना) मा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणको जवाफमा ‘कडा र पीडादायी’ कारबाही गर्ने चेतावनी दिएका थिए।

उनका अनुसार धहरानस्थित अरामकोको मुख्यालय र रियादको एक तेल प्रशोधन केन्द्र सम्भावित निशानामा थिए। हुथीहरूले साउदी अरबका तेल क्षेत्रमा कार्यरत कर्मचारीलाई आफूहरूले सम्भावित लक्ष्य मानेका स्थानबाट टाढा रहनसमेत चेतावनी दिएका थिए।

यसअघि नै सार्वजनिक गरिएको चेतावनीपछि अरामकोको प्रशासनिक परिसरमा मिसाइल आक्रमण भएको हो। तर, आक्रमणको जिम्मेवारी हुथीहरूले लिएको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। हुथी विद्रोहीले भने मंगलबार साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सनामा आक्रमण गरेको आरोप लगाएका थिए।

यसैबीच, गठबन्धनले सनाको बाहिरी क्षेत्रमा रहेको तेल डिपोबाट सर्वसाधारणलाई टाढा रहन चेतावनी दिएको थियो। हुथी विद्रोहीको नियन्त्रणमा रहेको अलमसिरा टेलिभिजनका अनुसार गठबन्धनले यमन पेट्रोलियम कम्पनीको सबाह केन्द्रीय इन्धन केन्द्रलाई निशाना बनाएको थियो।

गठबन्धनले उक्त केन्द्रसहित अन्य स्थानमा आक्रमण गरेको पुष्टि गरेको छ। उसका अनुसार कारबाहीको उद्देश्य साउदी अरब, यमन र अन्तर्राष्ट्रिय समुद्री मार्गलाई जोखिममा पार्नसक्ने हुथी विद्रोहीको क्षमता कमजोर बनाउनु थियो।

साउदी अरबले आफ्नो सैन्य अभियान जारी राख्ने र हुथी विद्रोहीका मिसाइल तथा ड्रोन आक्रमणको प्रतिकार गर्न सहयोगी राष्ट्रबाट थप समर्थन जुटाउने प्रयास गरिरहेको छ।

तर, साउदी अरबको प्रमुख सहयोगी तथा लामो समयदेखिको सुरक्षा साझेदार अमेरिकाले हुथीविरुद्ध प्रत्यक्ष युद्धमा सहभागी हुने साउदी प्रयासलाई अहिलेसम्म स्वीकार नगरेको रिपोर्टमा उल्लेख छ।

इरानद्वारा मध्यस्थताको प्रस्ताव

यसैबीच, इरानले साउदी अरब र हुथी विद्रोहीबीच मध्यस्थता गर्ने प्रस्ताव गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार यस्तो प्रस्ताव राखेका थिए भने इरानी विदेश मन्त्रालयले सोमबार त्यसलाई दोहो¥याएको थियो।

इरान लामो समयदेखि साउदी अरबको क्षेत्रीय प्रतिस्पर्धी रहँदै आएको छ र उसले हुथी विद्रोहीलाई समर्थन गर्दै आएको छ। यस्तो अवस्थामा साउदी अरबका महत्त्वपूर्ण संरचनामा मिसाइल तथा ड्रोन आक्रमण भइरहेका बेला तेहरानले मध्यस्थताको प्रस्ताव गर्नु क्षेत्रीय कूटनीतिका लागि महत्त्वपूर्ण घटनाक्रमका रूपमा हेरिएको छ।

साउदी अरब र हुथी विद्रोहीबीचको तनाव कम गर्न इरानको प्रस्तावले कस्तो भूमिका खेल्छ भन्ने स्पष्ट भइसकेको छैन। एकातिर साउदी अरबले सैन्य प्रतिकार र अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको छ भने अर्कोतिर इरानले वार्तामार्फत समाधान खोज्न मध्यस्थताको प्रस्ताव अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट