Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

चितवन निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि धराप, करेन्ट लागेर ८ वन्यजन्तुको मृत्यु

चितवन निकुञ्जमा विद्युतीय तार वन्यजन्तुका लागि धराप, करेन्ट लागेर ८ वन्यजन्तुको मृत्यु

बसन्त पराजुली 

नारायणगढ : हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा प्राकृतिक प्रजननमार्फत ३३ वटा छावा जन्माउन सहयोग पुर्‍याएको रोनाल्डो नामको जङ्गली भाले हात्ती गत असोज ३ गते विद्युतीय तारमा परेर मर्‍यो । 

बरन्डाभार वनक्षेत्रको कुमाल तालनजिकै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि राखिएको नेपाली सेनाको पोस्टमा लगिएको बिजुलीको प्रवाहमा रोनाल्डो परेको थियो । झन्डै साढे दुई दशकदेखि चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वनक्षेत्रमा देखिँदै आएको रोनाल्डोले विद्युत्को पोल ढालेर तार मुखमा चपाउँदा करेन्ट लागेको अवस्थामा भेटिएको थियो ।  

निकुञ्जमा विद्युत् प्रवाह भएको तारमा परेर वन्यजन्तुको मृत्यु भएको रोनाल्डोको घटना पहिलो होइन । यसअघि २०६४ साल असोज २८ गते सौराहास्थित हात्ती प्रजनन केन्द्रमा रोमियो नामको जङ्गली भाले हात्ती पनि विद्युतीय धरापमा परेर मरेको थियो । रोमियो पनि प्रजनन केन्द्रको ‘ज्वाइँराजा’ हात्ती थियो । 

चितवन राष्ट्रिय निकुञ्जभित्र रहेको संरचनामा जोडिएको विद्युत्मा परेर हात्ती मात्रै हैन, गैँडा पनि मरेका छन् । २०७५ साल कात्तिक १५ गते सौराहामा हात्तीका लागि ‘चेन फ्री क्यानल’ (साङ्लोमुक्त क्यानल) मा जडान गरिएको बिजुलीको तारमा परेर गैँडा मरेको थियो । निकुञ्जका सूचना अधिकारी अविनाश मगरले निकुञ्जभित्र र बाहिरी मध्यवर्ती क्षेत्रमा गरी २०६४ सालयता करेन्ट लागेर दुई हात्ती, पाँच गैँडा र एक चितुवा मरेको जानकारी दिनुभयो । यसरी मरेकामध्ये दुई हात्ती र एक गैँडा निकुञ्ज कार्यालय र सेनाकै संरचनामा जोडिएका बिजुलीका तारमा परेका हुन् ।  

लामो समयदेखि वन्यजन्तु संरक्षणको अभियानमा लागेका अभियन्ता अपिल घिमिरे निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा बनेका संरचनामा जडान गरिएका बिजुलीको तारमा परेर वन्यजन्तु धमाधम मर्नु चिन्ताको विषय भएको बताउनुहुन्छ । “वन्यजन्तुकै संरक्षणका लागि राखिएका निकुञ्ज तथा सेनाका पोस्टमै वन्यजन्तुको धराप हुने गरी बिजुली जडान गर्नु नै गलत थियो भन्ने तथ्यले पनि देखाएको छ,” उहाँले थप्नुभयो, “वन्यजन्तु ओहोरदोहोर गर्ने स्थानमा जडान गरिने बिजुलीका तार वन्यजन्तुमैत्री जडान नगरिँदा समस्या भएको हो ।” 

बिजुलीको तार जोखिम

निकुञ्जको मध्यभागमा रहेको कसरामा निकुञ्जको मुख्यालय, निकुञ्ज सुरक्षाका लागि राखिएको नयाँ गोरख गणको मुख्यालय, सेनाकै श्री प्रकृति संरक्षण शिक्षालयलगायतका निकुञ्जसँग सम्बन्धित कार्यालय छन् । सो स्थानका लागि निकुञ्जबाहिरको झन्डै दुई किलोमिटर टाढा घैलाघारीबाट बिजुलीको तार लगेर जडान गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जामगर निकुञ्जभित्र पोलमाथिबाटै तार तानिएको बताउनुहुन्छ । “वन्यजन्तुका लागि जोखिम मोलेर पनि तार तानेर बत्ती बाल्नुपर्ने बाध्यता छ,” उहाँले भन्नुभयो । अहिले निकुञ्जमा रहेका ५८ वटा निकुञ्ज र सेनाका पोस्टमध्ये ३९ वटामा बिजुली जडान छन् । यी सबैमा जडान गरिएको बिजुली कतै नाङ्गो तार त कतै ‘कभर कन्डक्टर’ (आवरणयुक्त विद्युत्) तार जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको वितरण कार्यालय चनौलीका प्रमुख रुद्रराज विष्ट नाङ्गोभन्दा ‘कभर कन्डक्टर’ तार तुलनात्मक रूपमा सुरक्षित रहेको बताउनुहुन्छ तर रोनाल्डो मरेको पनि ‘कभर कन्डक्टर’ तार छिनाएर चपाएकाले हो । 

“निकुञ्जभित्रका संरचनामा जोडिएका तार निश्चय नै जोखिमपूर्ण छन् । यसको समाधान भनेको भूमिगत रूपमा बिजुलीका तार लगेर जडान गर्नु हो तर बजेटका हिसाबले यो महँगो प्रविधि हो,” उहाँले भन्नुभयो । भरतपुरबाट माडी लैजाने बिजुलीको तार जमिनमुनिबाट भूमिगत गरिए पनि निकुञ्जमा कतै पनि भूमिगत बिजुली जडान नगरिएको उहाँले बताउनुभयो । 

सुरक्षा पोस्टमा जडान गरिएका बिजुलीका तार वन्यजन्तुका लागि धराप बनेका छन् । रोनाल्डोको मृत्युको कारण र घटनाको अध्ययन गर्न गठित समितिका संयोजक राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ अनुसन्धान अधिकृत गणेश पन्त रोनाल्डोको मृत्युले निकुञ्जभित्र वन्यजन्तुको आवागमन हुने क्षेत्रमा विद्युत् व्यवस्थापन कति सुरक्षित छ भन्ने प्रश्न उठाएको बताउनुहुन्छ । “हामीले बिजुलीका तारका कारण भएका सम्भाव्य जोखिमबारे अध्ययन गरेका छौँ । अहिलेका तार अधिकांश जोखिममै भएका पाएका छौँ । यसलाई सुधार गर्न सुझाव दिन्छौँ,” उहाँले भन्नुभयो । वन्यजन्तुविद् डा. बाबुराम लामिछानेले निकुञ्जको पहिलो दायित्व वन्यजन्तुको संरक्षण नै भएको बताउनुभयो । वन्यजन्तु संरक्षणकै लागि भनेर गरिने निकुञ्जभित्र विद्युतीकरण नै जोखिम भए यसको विकल्प खोज्न सक्नुपर्ने तर्क उहाँको छ ।   

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट