Logo

Oct 14 2026 | २०८३, आश्विन २८गते

हुर्कँदै गरेका दुई डमरुकी आमा ‘डट्टी’को मृत्यु, वन्यजन्तु फोटोग्राफरको थिइन् प्रिय

हुर्कँदै गरेका दुई डमरुकी आमा ‘डट्टी’को मृत्यु, वन्यजन्तु फोटोग्राफरको थिइन् प्रिय


चितवन :  भारतको मध्यप्रदेशस्थित बाँधवगढ बाघ संरक्षण क्षेत्रमा पर्यटक र वन्यजन्तु फोटोग्राफरमाझ चर्चित बघिनी ‘डट्टी’को मृत्यु भएको छ ।

करिब १४–१५ वर्षकी डट्टीको शव अक्टोबर ९ मा निकुञ्जको मानपुर बफर क्षेत्रअन्तर्गत मज्खेता बिटमा फेला परेको थियो । वन अधिकारीहरूका अनुसार प्रारम्भिक अनुसन्धानले उनको मृत्यु प्राकृतिक अर्थात् वृद्धावस्थाका कारण भएको देखाइएको छ । 

 

बाँधवगढ बाघ संरक्षण क्षेत्रका फिल्ड डाइरेक्टर अनुपम सहायका अनुसार डट्टी सन् २०१२ तिर निकुञ्जमै जन्मिएकी थिइन् । उनी चर्चित बघिनी सुखी पटिहा तथा निलो आँखा भएको भाले बाघकी छोरी थिइन् । चर्चित बघिनी स्पट्टी ९टी–४१० उनकी साख्खै बहिनी थिइन् । डट्टीलाई आधिकारिक रूपमा टी–१७ नाम दिइएको थियो । 


उनको निधारको दाहिने भागमा प्राकृतिक रूपमा बनेको अंग्रेजी अक्षर ‘डी’ वा थोप्लोजस्तो विशेष चिह्न थियो । त्यही चिह्नका कारण पर्यटक र गाइडहरूले उनलाई ‘डट्टी’ नाम दिएका थिए । उनको आकर्षक रूप, सहजै देख्न सकिने स्वभाव र निडर व्यवहारले उनलाई बाँधवगढका चर्चित बघिनीमध्ये एक बनाएको थियो । 


त्यसो त डट्टी पर्यटकका जिप र ठुला गाडी देखेर पनि खासै विचलित हुन्थिनन् । उनको यही स्वभावका कारण बाघ हेर्न आउने पर्यटक र तस्बिर खिच्न चाहने वन्यजन्तु फोटोग्राफरका लागि उनी विशेष आकर्षण बनेकी थिइन् । 

आफ्नै सन्तानले छाड्न बाध्य बनाएको पुरानो क्षेत्र

डट्टीले आफ्नो जीवनको अधिकांश समय बाँधवगढको मगधी क्षेत्रमा बिताएकी थिइन् । तर, उनका छोरीहरू हुर्किएर शक्तिशाली हुँदै गएपछि उनीहरूले आमाकै पुरानो क्षेत्रमा आफ्नो प्रभुत्व स्थापित गरे । त्यसपछि डट्टीले आफ्नो पुरानो बासस्थान छोडेर ताला क्षेत्र र मानपुर सीमावर्ती क्षेत्रमा नयाँ इलाका बनाएकी थिइन् । 

सहायका अनुसार डट्टीले आफ्नो जीवनकालमा चारवटा डमरु जन्माएर हुर्काएकी थिइन् । उनका हुर्किसकेका सन्तानले मगधी र आसपासका क्षेत्रमा बलियो वर्चश्व कायम गरेका छन् । अहिले निकुञ्जको मुख्य क्षेत्रमा उनका सन्तानको प्रभाव देखिन्छ । डट्टीकी सन्तानमध्ये ‘डी–वन’ सबैभन्दा चर्चित बघिनी हुन् । उनलाई हेर्न ठुलो सङ्ख्यामा पर्यटक बाँधवगढ पुग्ने गरेका छन् । मनसुनका कारण केही समय रोकिएको मुख्य क्षेत्रको सफारी पुनः सुरु भएपछि पर्यटकले डी–वनलाई नियमित रूपमा देख्न थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

केही दिनअघि एक पुजारीको ज्यान जाने घटनामा पनि डी–वनको नाम जोडिएको थियो । यस घटनापछि उनको चर्चा थप बढेको छ । डट्टीजस्तै डी–वनले पनि निकुञ्जमा आफ्नो छुट्टै पहिचान बनाउँदै गएकी छन् ।


दुई डमरुको भविष्यमा निकुञ्जको निगरानी

डट्टीको मृत्युपछि उनका करिब १५–१६ महिनाका दुई डमरु आमाविहीन भएका छन् । अहिले उनीहरू बाँधवगढको जंगलमा घुमिरहेका छन् र जंगलमा बाँच्न आवश्यक व्यवहार सिक्ने उमेरमा छन् । 

निकुञ्ज प्रशासनले दुवै डमरुको गतिविधि र व्यवहार नजिकबाट निगरानी गरिरहेको जनाएको छ । उनीहरूलाई कुनै हानि नहोस् र आमाको अभावमा जंगलमा बाँच्न कठिनाइ नआओस् भन्ने उद्देश्यले निगरानी बढाइएको हो । 

बाघका डमरुहरू यस उमेरमा सिकार गर्ने, आफ्नो क्षेत्र चिन्नेलगायत व्यवहार सिकिरहेका हुन्छन् । त्यसैले आमाको मृत्युले उनीहरूको जीवनमा कस्तो प्रभाव पार्छ भन्ने विषय महत्त्वपूर्ण बनेको छ । डट्टीको मृत्युबारे वन विभागले अनुसन्धान गर्दा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरेर आसपासको क्षेत्र खोजी गरिएको थियो । तर, कुनै शङ्कास्पद वस्तु वा गतिविधि फेला नपरेको अधिकारीहरूले बताएका छन् । प्रारम्भिक पोस्टमार्टम प्रतिवेदनले पनि चोरीसिकार वा अन्य बाघसँगको लडाइँभन्दा प्राकृतिक कारणलाई मृत्युको सम्भावित कारण मानेको छ । 

करिब डेढ दशक लामो जीवनमा बाँधवगढको जंगलमा आफ्नो छुट्टै पहिचान बनाएकी डट्टीको मृत्युसँगै पर्यटक र फोटोग्राफरले मन पराएको एउटा परिचित बघिनीको कथा समाप्त भएको छ । तर, उनका सन्तान र विशेषगरी दुई कलिला डमरुको भविष्यले बाँधवगढको वन्यजन्तु संरक्षणमा नयाँ चासो थपेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट