Logo

Oct 12 2026 | २०८३, आश्विन २६गते

काठमाडौंमा दसैँमा ग्यास साट्ने केन्द्र ६ बाट बढाएर ११ पुर्‍याइयो

काठमाडौंमा दसैँमा ग्यास साट्ने केन्द्र ६ बाट बढाएर ११ पुर्‍याइयो

काठमाडौं : दसैँमा खाना पकाउने ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकामा सिलिन्डर साटफेर गर्ने केन्द्रको संख्या बढाएर ११ पुर्‍याइएको छ। आइतबार ६ स्थानबाट सुरु गरिएको ग्यास बिक्री तथा साटफेरको व्यवस्था उपभोक्ताको चाप र सहजतालाई ध्यानमा राख्दै सोमबारदेखि थप पाँच स्थानमा विस्तार गरिएको हो।

नेपाल आयल निगमको समन्वयमा ग्यास बिक्रेता महासंघले आइतबारदेखि ग्यास बिक्री थालेको थियो। तर, केही बिक्री केन्द्रमा पर्याप्त सिलिन्डर नहुँदा उपभोक्ता ग्यास पाउनबाट वञ्चित भएका थिए। त्यसपछि नेपाल एलपी ग्यास उद्योग संघले थप पाँच स्थानमा सिलिन्डर साटफेरको व्यवस्था मिलाएको जनाएको छ।

संघका अनुसार सोमबारदेखि काठमाडौंको चपली बुढानीलकण्ठमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलंकीमा गीता ग्यास, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री ग्यास तथा सन्तुगलमा श्रीमाया ग्यास साट्न सकिनेछ।

यी हुन् ग्यास साट्ने ११ स्थान

यसअघि सञ्चालनमा आएका केन्द्रमा ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास, काठमाडौंको कलंकीमा साइबाबा र श्रीकृष्ण ग्यास तथा सुकेधारामा बाबा र श्री ग्यास रहेका छन्।

त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यासस पेप्सीकोलामा सगर ग्यास तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्ने व्यवस्था गरिएको छ।

जुनसुकै कम्पनीको खाली सिलिन्डर दिएर भरिएको लिन पाइने

संघका अनुसार तोकिएका ११ केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। फरक कम्पनीको सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। तर, यो सुविधा तोकिएका केन्द्रबाट मात्रै लिन सकिने संघले स्पष्ट पारेको छ।

ग्यास साटफेरको व्यवस्था असोज ३० गतेसम्म बिहान ११ बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुनेछ। यसअघि संघले असोज ३१ गतेसम्म बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सेवा दिने जनाएको थियो। संघका अनुसार आइतबार पहिलो दिन विभिन्न कम्पनीका ३ हजार ७५ वटा सिलिन्डर बिक्री तथा वितरण भएका थिए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij