Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

बेत्रावतीमा भोलिदेखि बेलीब्रिज सञ्चालनमा आउने

बेत्रावतीमा भोलिदेखि बेलीब्रिज सञ्चालनमा आउने

काठमाडौँ : नुवाकोटको बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पूर्वाधार विकास मन्त्रालयद्वारा गठित ‘पुल/बेलीब्रिज निर्माण तथा पुनर्स्थापना कार्यदल’ का संयोजक तथा नेपाली सेनाका पूर्वउपरथी धर्मेन्द्र झाले बेत्रावतीमा बेलीब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए  ।पूर्वउपरथी झाले भने, ‘हामीले दिनरात खटेर काम गरिरहेका छौँ, बेत्रावतीको बेलीब्रिज भोलिदेखि पूर्ण रूपमा सञ्चालनमा आउँछ ।’  पुल सञ्चालनमा आएसँगै लामो समयदेखि अवरुद्ध यातायात सेवा सुचारु हुने र स्थानीयले भोग्दै आएको सास्ती अन्त्य हुने अपेक्षा गरिएको छ ।

बेत्रावतीसँगै महत्त्वपूर्ण मानिएको स्याफ्रुबेसीको बेलीब्रिज निर्माण कार्य पनि अघि बढेको कार्यदलले जनाएको छ । यद्यपि, केही प्राविधिक कठिनाइ र भौगोलिक प्रतिकूलताका कारण काममा केही ढिलाइ भए पनि हाल निर्माण कार्यले गति लिएको छ । पूर्व उपरथी झाले भने, ‘स्याफ्रुबेसीमा पनि बेलीब्रिज निर्माणको काम अघि बढेको छ । केही भौगोलिक र प्राविधिक समस्याहरू समाधान गर्दै हामी छिट्टै नै यसको निर्माण कार्य सम्पन्न गर्ने गरी काम गरिरहेका छौँ ।’कार्यदलका संयोजक झाका अनुसार अहिले सेनाले बाढी प्रभावित क्षेत्रमा निरन्तर काम गरिरहेको छ । 

उनले थप प्राविधिक विवरण र निर्माण कार्यको प्रगतिका बारेमा थप स्पष्ट पार्दै भने, ‘अहिले केही ठाउँमा समस्या देखिएको छ, तर हामी त्यसलाई समाधान गर्न प्रतिबद्ध छौँ । भोलि बिहानसम्म सबै कुराको विस्तृत रिपोर्ट लिएर हामी सार्वजनिक गर्नेछौँ ।’

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट