काठमाडौँ : प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको समयमा यात्रु ठग्नेलाई कारबाही गर्न निर्देशन दिएका छन्।
सभापति गजुरेलले आज साँझ गोँगबुस्थित नयाँ बसपार्कको अनुगमन गर्दै चाडपर्वमा हुनसक्ने ठगीलाई नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्। सभापति गजुरेलले यो वर्ष दशैँ तिहार तथा छठमा १० देखि १५ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरेको भन्दै तदनुसारको व्यवस्थापन मिलाउन आग्रह गरे।
उनले पूर्वाधार विकास समितिले दशैं, तिहार र छठपर्वमा यात्रुको यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीको संयोजकत्वमा उपसमिति गठन गरेर उक्त उपसमितिमार्फत तयार पारिएको प्रतिवेदन प्रधानमन्त्री कार्यालय तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकिएको बताए।
सभापति गजुरेलले अध्ययन प्रतिवेदनअनुसार यात्रुको सङ्ख्याअनुसार बसको सङ्ख्या पर्याप्त रहेकाले यसको व्यवस्थापन आवश्यक रहेको उल्लेख गरे। फूलपातीदेखि नवमीसम्मको समयमा यात्रुको चाप उच्च हुने भएकाले आवश्यकता परेमा थप बस सञ्चालनका साथै नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी निकायका सवारीसाधनसमेत प्रयोगमा ल्याउन सकिने उनको भनाइ छ।
अनुगमनका क्रममा नयाँबसपार्कभित्र डिजिटल प्रणालीमार्फत टिकट काट्दा तोकिएको दररेटअनुसार नै भाडा लिइएको र टिकटमा यात्रुको नाम, ठेगाना र सम्पर्क नम्बरसहितको चलानी प्रतिवेदन राखिएकाले ठगी हुने सम्भावना नरहेको बताए।
उनले आधिकारिक काउन्टर र प्रणालीबाट मात्र टिकट काट्न आग्रह गरे।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव डेकनाथ गौतमले चाडपर्वको समयमा सहज रूपमा यातायातको प्रबन्ध गर्नका लागि महासङ्घ लागिरहेको बताए।
सरकारबाट तोकिएको भाडामात्र लिएर सवारीसाधन चलाउन महासङ्घले सबै व्यवसायीलाई निर्देशन दिइसकेको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij