Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

काठमाडौंको प्रसिद्ध इन्द्रजात्राको तयारी सुरु

काठमाडौंको प्रसिद्ध इन्द्रजात्राको तयारी सुरु

काठमाडौं :  काठमाडौंमा मनाइने प्रसिद्ध इन्द्रजात्राको तयारी आजदेखि सुरु हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेसंगै इन्द्रजात्रा पर्वको प्रक्रिया आज सुरु हुन लागेको हो। 

इन्द्रजात्राको लिङ्गो बनाउने रुख काट्न वन यात्रामा जाने साइत आज बिहान ९ः५३ बजेको रहेको छ। रुख काट्ने साइत राति ८ः४७ बजेको रहेको छ। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजाको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको छ। लिङ्गो नगर प्रवेश गराउने साइत असोज ३ गते शनिबार बिहान ८ः०५ बजे रहेको समितिले जनाएको छ।

इन्द्रध्वजोत्थानको साइत असोज ७ गते बुधबार बिहान ७ः४७ बजे रहेको समितिले जनाएको छ। इन्द्रजात्राको मुख्य दिन असोज ९ गते शुक्रबार तल्लो टोलमा यात्रा गराइन्छ। यसैदिन राष्ट्रपतिलगायत अतिविशिष्ट व्यक्तित्वले हनुमानढोकास्थित गद्दी बैठक पुगी कुमारी यात्रा अवलोकन गर्ने परम्परा रहिआएको छ। असोज १० गते शनिबार माथिल्लो टोल यात्रा गराइने छ। असोज १३ गते महिलाले मात्र रथ तानेर नानीचा यात्रा गरिन्छ। यसै दिन राति ९ः२५ बजे इन्द्रध्वजाको लिङ्गो ढाल्ने साइत रहेको समितिले जनाएको छ। 

लिङ्गो ढालेपछि राति नै राष्ट्राध्यक्षले कुमारी, गणेश र भैरवको दर्शन गरी प्रसाद ग्रहण गरेपछि १३ दिन लामो इन्द्रजात्रा समापन हुन्छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij