रसुवा : रसुवामा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार कार्यलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार शुक्रबार दिउँसो १२:२० बजेसम्म टिमुरे, स्याफ्रुबेंसी, मैलुङलगायत क्षेत्रबाट ४४९ जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये १७ जना विदेशी नागरिक रहेका छन्। तीमध्ये १३ जना भारतीय र ४ जना जर्मन नागरिक रहेको नेपाली सेनाले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणका लागि नेपाली सेनाको करिब ४ हजार ५ सयभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।
सेनाले अन्य सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा घाइते तथा बेपत्ताको खोजी, उद्धार र आवश्यक उपचारका साथै राहत वितरणको काम जारी राखेको जनाएको छ। बाढीबाट प्रभावित जिल्लाका जोखिमयुक्त क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्दै आवश्यकताअनुसार थप जनशक्ति र स्रोतसाधन परिचालन भइरहेको नेपाली सेनाले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij