Logo

Oct 09 2026 | २०८३, आश्विन २३गते

बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालन

नुवाकोट : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताले विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन्।

बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले केही कर्मचारी सम्पर्कविहीन भए पनि प्राधिकरणका कर्मचारी निरन्तर काममा खटिएको बताए । बाढीका कारण कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत प्रणालीबाट बाहिरिए पनि विद्युत् आपूर्ति व्यवस्थापन सन्तुलित राख्न सफल भएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भइसकेको र रसुवामा सेवा पुनःस्थापनाको काम भइरहेको जानकारी दिए । आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको उनले बताए।

प्राधिकरणका अनुसार बुधबार साँझ विद्युत्को उच्चतम माग २ हजार ९३९ मेगावाट रहेकामा बिहीबार २ हजार ८९१ मेगावाट थियो। काठमाडौं उपत्यकाको विद्युत् माग बुधबार ५९० मेगावाट रहेकामा बिहीबार घटेर ५७८ मेगावाट पुगेको थियो । त्यस्तै, बुधबार ६२ मेगावाट विद्युत् आयात गरिएकोमा बिहीबार २ मेगावाट मात्रै आयात गरिएको प्राधिकरणले जनाएको छ । नुवाकोटमा वैकल्पिक स्रोतबाट करिब ७ मेगावाट विद्युत् आपूर्ति भइरहेको छ। प्राधिकरणका अनुसार चपलीबाट २ मेगावाट, इन्द्रावतीबाट १ मेगावाट, तादी जलविद्युत् केन्द्रबाट २ मेगावाट र बालाजु–त्रिशूली प्रणालीबाट थप २ मेगावाट विद्युत् पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij