काठमाडौंः मुग्लिन नारायणगढ सडक खण्डअन्तर्गत अबरुद्ध पृथ्बी राजमार्ग अझैपनि खुल्न सकेको छैन।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले पृथ्बी राजमार्गको धादिङको गल्छी गाउँपालिका र गजुरी गाउँपालिकाका विभिन्न खण्डमा लेदो थुपारेपछि बुधबार साँझदेखि सडक अवरुद्ध भएको हो।
ट्राफिक प्रहरी उपरीक्षक डिल्ली नारायण पाण्डेयका अनुसार पृथ्बी राजमार्गअन्तर्गत धादिङको गजुरीको दुई स्थानमा र गल्छी गाउँपालिकाको एक ठाउँमा बाढीले थुपारेको लेदो पन्छाउन बाँकी छ।
उनका अनुसार गजुरी गाउँपालिका–५ को गलौदी र बाहुनी भिरमा लेदोका कारण समय रहेको छ। यसैगरी गल्छी गाउँपालिकाको महेश दोभान भन्ने स्थानमा लेदो पन्छाउन बाँकी रहेको उनले बताए। लेदो थुप्रिएको ठाउँमा उपकरणहरू प्रयोग गरी लेदो हटाउन काम भइरहेको उनले बताए। सडकमा लेदो थुप्रिएको ठाउँमा बस्तीहरू भएकाले जमेका लेदो उठाएर अन्यत्रै लगेर फाल्नु पर्ने अवस्था रहेकोले ढिलाई भइरहेको विभागले जनाएको छ।
गजुरी गाउँपालिका–५ अन्तर्गत बाहुनी भिरमा बाढीले थुपारेको लेदो हटाउन अहिलेसम्म उपकरण पुग्न सकेको छैन। यो ठाउँमा लेदो पन्छाउनका लागि पहिला गलौदी र महेश दोभान क्षेत्रको लेदो हटाउनुपर्ने विभागको भनाई छ। विभागका अनुसार आज दिनभरिमा सडक खुलाउने गरी तीव्र गतिमा काम भइरहेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij