Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिममा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम : सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा विद्युतीय गाडीको ठक्करबाट आमाछोरीको मृत्यु भएको छ। सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको भे.१ ज. १४८२ नम्बरको विद्युतीय गाडीले सडकमा रहेकी आमा–छोरीलाई ठक्कर दिँदा आमाछोरीको मृत्यु भएको हो । मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान करिब साढे ८ बजे दुर्घटना भएको हो। गम्भीर घाइते भएका आमाछोरीलाई उपचारका लागि सल्लेस्थित जिल्ला अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार स्वस्तिका आफ्नी छोरीसहित मुसिकोट खलंगाबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०७० नम्बरको यात्रुबाहक गाडीमा सवार थिइन्। यात्राका क्रममा छोरीले शौच गर्न भनेपछि स्वस्तिकाले गाडी रोक्न लगाएर छोरीसहित सडकमा ओर्लिएकी थिइन्। सोही क्रममा सिम्लीबाट चौरजहारीतर्फ जाँदै गरेको विद्युतीय गाडीले उनीहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मृतक स्वस्तिका मुसिकोट खलंगास्थित सनराइज बैंकमा कार्यरत श्रीमान् घनश्याम ज्ञवालीलाई भेट्न छोरीसहित रुकुम पश्चिम पुगेकी थिइन्। दुर्घटनामा संलग्न गाडीका चालक सानीभेरी गाउँपालिका–३ चौखेका २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij