Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर पल्टियो, आगलागीपछि पूर्ण रूपमा जलेर नष्ट

मृग बचाउन खोज्दा पेट्रोल ट्याङ्कर पल्टियो, आगलागीपछि पूर्ण रूपमा जलेर नष्ट

रौतहट : रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनाग्रस्त भई आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई बचाउने प्रयास गर्दा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो ।

पल्टिएलगत्तै ट्याङ्करमा भीषण आगलागी भएको प्रहरीले जनाएको छ। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाको नेतृत्वमा १० जना र जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको नेतृत्वमा ५ जना गरी १५ सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।

आगो नियन्त्रणका लागि चन्द्रपुर नगरपालिका र निजगढ नगरपालिकाका दमकल परिचालन गरिएको थियो। संयुक्त प्रयासपछि बिहान ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा पेट्रोल ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको भए पनि चालकसहित अन्य कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। दुर्घटनापछि केही समय सतर्कता अपनाइए पनि महेन्द्र राजमार्गमा यातायात सञ्चालन सामान्य रहेको जनाइएको छ। प्रहरीले ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई नियन्त्रणमा लिई दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट