काठमाडौँ : नेपाल शिक्षक महासङ्घले आन्दोलनको घोषणा गरेको छ । शिक्षकका मागप्रति सरकार अनुदार देखिएको भन्दै आगामी भदौदेखि आन्दोलन गर्ने घोषणा गरेको हो। महासङ्घको बैठकको निर्णयबारे जानकारी गराउँदै अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनका कार्यक्रमहरू छिट्टै सार्वजनिक गरिने बताए। सुवेदीले भने, 'आन्दोलनको ठोस मिति र कार्यक्रम तय गर्न विस्तारित कार्यालय बैठकलाई अधिकार प्रत्यायोजन गरिएको छ । कार्यालय बैठकले आन्दोलनको मोडेल ल्याउँछ ।
सरकार र महासङ्घबिच पटक–पटक भएका सहमति सहितको अग्रगामी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग अघि सारेको छ ।शिक्षकहरूलाई साउन महिनाबाटै प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, अव्यवहारिक सरुवा प्रबन्ध हटाउनुपर्ने लगायतका माग अघि सार्दै आन्दोलनको घोषणा गरेको हो । नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद्को बैठक शनिबार र आइतबार काठमाडौँमा बसेको थियो।
अस्थायी, राहत, ज्यालादारी, संस्थागत विद्यालयमा कार्यरत र इसिइडी शिक्षक र विद्यालय कर्मचारीको न्यूनतम तलबलाई आन्दोलनको मुख्य मागको रूपमा अघि सार्ने भएका छन् ।
बजेट वक्तव्यमा उल्लेख भए तापनि महालेखा नियन्त्रक कार्यालयको परिपत्र र कार्यक्रम कार्यान्वयन पुस्तिकाका कारण प्रोत्साहन भत्ता पाउने विषयमा शङ्का पैदा भएको भन्दै मन्त्रालयसँग तत्काल आधिकारिक वक्तव्य र तलबमान जारी गर्न माग गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij