Logo

Oct 10 2026 | २०८३, आश्विन २४गते

सुस्ताको तनाव साम्य, नेपाली–भारतीय पक्षबीच सोमबार वार्ता हुने

सुस्ताको तनाव साम्य, नेपाली–भारतीय पक्षबीच सोमबार वार्ता हुने

बुटवल : पश्चिम नवलपरासीको सुस्तामा आइतबार दिउँसो उत्पन्न तनाव अहिले साम्य भएको छ। विवाद समाधानका लागि नेपाली र भारतीय पक्षबिच सोमबार बिहान छलफल गर्ने सहमति भएको छ।भारतीय सशस्त्र सीमा बल (एसएसबी) नेपाली भूमिमा प्रवेश गरी निर्माणाधीन अस्थायी बाँध भत्काएको आरोप लागेपछि दिउँसो करिब ३ बजेतिर सुस्ता क्षेत्रमा तनाव उत्पन्न भएको थियो।

स्थानीयवासीले वर्षायाममा आउने पानीको भेल रोक्न शनिबार माटो राखेर अस्थायी बाँध निर्माण सुरु गरेका थिए। आइतबार भारतीय पक्ष आएर उक्त बाँध भत्काएपछि स्थानीयवासी र भारतीय सुरक्षाकर्मीबिच विवाद भएको स्थानीयको दाबी छ।

सुस्ता बचाउ अभियानका संयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँले अहिले स्थिति शान्त रहेको बताए। उनले आइतबार भएको विवादका विषयमा भोलि बिहान भारतीय सीमा सुरक्षा बल (एसएसबी०)सँग छलफल गर्ने सहमति भएको  रातोपाटीलाई जानकारी दिए।

“आज भएको घटनाका विषयमा भोलि बिहान भारतीय पक्षसँग छलफल गर्ने सहमति भएको छ,” खाँले भने। उनका अनुसार भारतीय पक्षले सुरुदेखि नै बाँध निर्माणको काम गर्न नदिएको १३२ मिटर क्षेत्रमा नेपाली पक्षले 

सहमतिअनुसार वर्षाको भेल रोक्न माटो राखेको थियो। तर, आइतबार भारतीय एसएसबीका सुरक्षाकर्मी सादा पोसाक र हतियारसहित नेपाली भूमिमा प्रवेश गरेपछि विवाद उत्पन्न भएको उनको भनाइ छ।स्थानीयवासीका अनुसार भारतीय सुरक्षाकर्मीले सुस्ता गाउँपालिका–५ स्थित थारु टोलमा निर्माण भइरहेको माटोको अस्थायी बाँध भत्काइदिएका थिए। नेपालतर्फ निर्माण भइरहेको बाँध भत्काइएपछि स्थानीयवासी प्रतिवादमा उत्रिएका थिए।

खाँले नेपालले आफ्नो दाबी गर्दै आएको क्षेत्र नजिक भारतीय पक्षले माटोको अस्थायी बाँध भत्काएको विषयमा छलफल हुने बताए। भारतीय पक्ष वार्ताका लागि सकारात्मक देखिएकाले भोलिको छलफलबाट समस्या समाधान हुने आशा व्यक्त गरे।

नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले वर्षाको भेल रोक्न राखिएको माटोको अस्थायी बाँधका विषयमा विवाद भएको बताए। यसअघि गत असारमा पनि भारतीय सुरक्षाकर्मी सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध निर्माणको काम रोक्न दबाब दिएपछि काम रोकिएको थियो।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij