काठमाडौँ : निरन्तरको वर्षाका कारण रोशी खोला र दाप्चाखोलाको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग बन्द गरिएको छ। रोशी खोलामा पानीको बहाव बढेसँगै राजमार्गको काभ्रे खण्डमा सवारी आगमन बन्द गरिएको हो।
शनिबार पानी परेर रोशी खोलाको पानीको सतह केही बढेको थियो। त्यसमाथि आइतबार अपराह्नदेखि ठूलो वर्षा भएपछि रोशी र दाप्चाखोलमा बाढीले डाइभर्सन बगाएको हो।
रोशी खोलामा आएको बाढीले सडक अवरुद्ध गरेका कारण सवारी आगमन बन्द गरेको काभ्रेका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनाकारी दिए।
‘डाइभर्सन बगाएपछि अहिले राजमार्गमा सवारी साधन तत्कालका लागि होल्ड भएका छन्। राति यसै पनि आवत–जावत बन्द हुन्छ। पानी रोकियो र सबै कुरा ठिकठाक भएमा भोलि बिहानदेखि सवारी साधन चल्नेछन्’, अधिकारीले भने।
काठमाडौंबाट पूर्वतर्फ गइरहेका सवारी साधन काभ्रेभञ्ज्याङ र पूर्वबाट आइरहेका सवारी साधनलाई मंगलटार तथा नेपालथोकमा होल्ड गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij