काठमाडौँ : देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू बाढी, पहिरो तथा सडक मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीको तथ्यांक अनुसार केही सडकमा एकतर्फी सवारी सञ्चालन भइरहेको र केही सडक पूर्ण रूपमा अवरुद्ध रहेको जनाएको छ।
कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्गमा बाढीका कारण सडक अवरुद्ध भएपछि हाल वैकल्पिक मार्गसहित एकतर्फी सवारी सञ्चालन गरिएको छ। यस्तै इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ।बागमती प्रदेशअन्तर्गत काभ्रेपलाञ्चोकको भिपी राजमार्ग ९खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्ड० मा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ स्थित फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडक खण्ड भने सडक मर्मतका कारण पूर्ण रूपमा बन्द रहेको छ। प्रहरीले यो सडक यस महिनाको २५ गतेसम्म बन्द रहने जनाएको छ।लुम्बिनी प्रदेशको पाल्पास्थित सिद्धार्थ राजमार्गको तानसेन नगरपालिका–८, डुम्रे क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
कर्णाली प्रदेशमा भने दुई राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिगीगार खोलामा अविरल वर्षाका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलाबाङ क्षेत्रमा पहिरो खसेपछि घोराही–रुकुम शहीद मार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले प्रभावित सडकमा यात्रा गर्नुअघि पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij