जानकी : बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण वन्यजन्तु संरक्षण र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सहयोग पुगेको छ। निकुञ्जले ३० वटा कृत्रिम पोखरी निर्माणले चुरे तथा भावर क्षेत्रमा वर्षौंदेखि रहँदै आएको पानी अभावको समस्या समाधान हुनाका साथै मानव–वन्यजन्तु द्वन्द्व घटेको जनाएको छ।
निकुञ्जभित्रै बाह्रै महिना पानी उपलब्ध हुन थालेपछि पानीको खोजीमा मानव बस्तीसम्म पुग्ने वन्यजन्तुको सङ्ख्या घटेको निकुञ्जको भनाइ छ। निकुञ्जभित्र बसोबास गर्ने वन्यजन्तुको अवस्थासमेत सुधारिएको निकुञ्जका प्रमुख एवं बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए।
बाघको बासस्थान विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्ज चुरे र भावर पारिस्थितिक प्रणालीको प्रतिनिधि क्षेत्र हो। यहाँको भौगोलिक बनावटका कारण सतहमा पानीको उपलब्धता न्यून रहने भएकाले सुक्खायाममा वन्यजन्तुले पानीको अभाव झेल्ने गरेका थिए।
निकुञ्चमा प्राकृतिक रूपमा पानीको मुहान चगाई नाला र मुगुवा खोला रहेका छन्। यसबाहेक वर्षभरि पानी रहने भरपर्दो प्राकृतिक स्रोत नहुँदा वन्यजन्तु पानीको खोजीमा निकुञ्ज बाहिर निस्कने अवस्था थियो।
यस समस्यालाई समाधान गर्न निकुञ्जले सौर्य ऊर्जामा आधारित डिप बोरिङ प्रणाली जडान गरी कृत्रिम पोखरीहरूमा पानी भर्ने व्यवस्था गरेको छ। यस प्रविधिमार्फत निकुञ्जको करिब ७२ किलोमिटर क्षेत्रमा पानीको उपलब्धता सुनिश्चित गरिएको छ।
पानीसँगै घाँसेमैदानको व्यवस्थापनमा सुधार भएपछि वन्यजन्तुका लागि आवश्यक आहारा र बासस्थान दुवैको अवस्था सुदृढ बनेको छ। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत कँडेलका अनुसार निकुञ्जभित्र पानी र आहाराको पर्याप्त व्यवस्था भएपछि बाघको मुख्य आहारा मानिने चितल, चौका, रतुवा, नीलगाई र जरायोलगायत वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ। आहारा प्रजातिको वृद्धि भएसँगै बाघ संरक्षणमा समेत सकारात्मक प्रभाव परेको उनले बताए।
विगतमा पानी र आहाराको अभावका कारण बाँके, दाङ र सल्ल्यानका मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा पुग्ने वन्यजन्तु अहिले निकुञ्जको कोर क्षेत्रमै केन्द्रित हुन थालेका छन्। यसले मानव–वन्यजन्तु द्वन्द्व घटाउनाका साथै स्थानीय बासिन्दामा सुरक्षा र विश्वासको भावना बढाएको उनले बताए।
“कृत्रिम पोखरी निर्माणको यो अभ्यासले वन्यजन्तु संरक्षण, पारिस्थितिक सन्तुलन र स्थानीय समुदायको सुरक्षालाई एकसाथ मजबुत बनाएको छ,” निकुञ्ज प्रमुख कँडेलले भने। उनका अनुसार निकुञ्जको यो प्रयासलाई चुरे तथा भावर क्षेत्रका अन्य संरक्षण कार्यक्रमका लागि उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij